अफगानिस्तान: काबुल ड्रोन हमलाका पीडितलाई अमेरिकाको आर्थिक क्षतिपूर्ति प्रस्ताव

काबुलमा भएको आक्रमण लगत्तैको दृष्य
तस्बिरको क्याप्शन, काबुलमा भएको आक्रमण लगत्तैको दृष्य
Published

अमेरिकी सरकारले अफगानिस्तानको राजधानी काबुलमा अगस्ट महिनामा भएको ड्रोन हमलामा गल्तीले मारिएका १० जनाका आफन्तलाई आर्थिक क्षतिपूर्तिको प्रस्ताव गरेका छ।

एक जना सहायता एजेन्सी सम्बद्ध कर्मचारी र सात केटाकेटीसहित नौ जना उक्त हमलामा मारिएका थिए।

पेन्टागनले परिवारका बाँचेका सदस्यलाई अमेरिकामा पुनर्वास गराउनेबारे काम भइरहेको पनि जनाएको छ।

अमेरिकी फौज अफगानिस्तानबाट हट्नु केही दिन अघि आईएस-के (आईएसको अफगान इकाई) सम्बद्ध समूहले आक्रमण गरेपछि उक्त हमला भएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अफगान युद्धः २० वर्षमा कति धनजनको क्षति भयो?

गत महिना अमेरिकी सेन्ट्रल कमान्डका जनरल केनेथ मकेन्जीले अमेरिकी गुप्तचर निकायले ती सहायताकर्मीको कारलाई आईएस-के को भएको आशङ्कामा २९ अगस्टका दिन आठ घण्टासम्म पछ्याएको बताएका थिए।

शुरूको अनुसन्धानले उक्त कार आईएस के सम्बद्ध एउटा कम्पाउन्डमा देखिएको थियो। र उक्त कारको गतिविधि आतङ्कवादी समूहको काबुल विमानस्थलमा आक्रमण गर्ने योजनासँग मिल्दोजुल्दो थियो भनेको थियो।

गतिविधि पछ्याइरहेको एउटा ड्रोनले उक्त कारमा मानिसहरूले विस्फोटक पदार्थ लोड गरिरहेको जस्तो देखेको थियो तर पछि अनुसन्धानले त्यो पानीका जारहरू भएको देखायो।

जनरल मकेन्जीले उक्त आक्रमणलाई 'दुखान्तकारी गल्ती' भनेका थिए।

जमाइरी अहमदी नाम भएका ती सहायताकर्मी विमानस्थलबाट तीन किलोमिटरमा रहेको उनको घरतिर लागेका थिए।

आक्रमणका बेला दोस्रो विस्फोट भएको थियो। अमेरिकी अधिकारीहरूले शुरूमा दोस्रो विस्फोटका कारण त्यो कारले विस्फोटक पदार्थ बोकेको प्रमाणित भएको बताएका थिए।

तर अनुसन्धानबाट बाटोमा प्रोपेन ट्याङ्क विस्फोट भएको देखाएको थियो।

मारिएकामध्ये अहमद नसेर अमेरिकी सेनाका लागि अनुवादकर्ता थिए।

मारिएका अरू पनि अन्तर्राष्ट्रिय संस्थाका लागि काम गरेका र अमेरिका जान प्रवेशाज्ञा साथमा भएकाहरू थिए।

नीतिगत विषयका लागि अमेरिकी रक्षा राज्यमन्त्री कोलिन कहल र अफगानिस्तानमा सक्रिय रहेको सहायता संस्था न्युट्रिशन एन्ड एजुकेशनका अध्यक्ष स्टीभन क्वनबीच भएको छलफलका बेला क्षतिपूर्ति प्रस्ताव गरिएको पेन्टागनले एक विज्ञप्तिमा जनाएको छ।

कहलले अहमदी र मारिएका अरूहरू 'आईएसके सँग सम्बद्ध नरहेको र निर्दोष पीडित रहेको' नोट गरेको रक्षा मन्त्रालयले जनाएको छ।

दुई वर्षीय सुमाया पनि हमलाकी शिकार भइन्
तस्बिरको क्याप्शन, दुई वर्षीय सुमाया पनि हमलाकी शिकार भइन्

रक्षा मन्त्री लोयड अस्टिनले समवेदना रकम दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

अस्टिनले आक्रमणका लागि क्षमा मागेका छन्। तर अहमदीका २२ वर्षीय भतिजाले त्यतिले मात्र नपुग्ने उनीहरूकहाँ आएर आमने सामने माफी माग्नुपर्ने एएफपी समाचार एजेन्सीलाई बताएका छन्।

अमेरिकाले आफ्नो फौज स्वदेश फर्काउने प्रक्रिया थाल्ने बित्तिकै द्रुत गतिमा तालिवानहरू अगाडि बढेर दुई हप्ताभित्रै अफगानिस्तानमाथि नियन्त्रण जमाएका थिए।

त्यसका कारण ठूलो सङ्ख्यामा मानिसहरू अफगानिस्तानबाट बाहिरिएका थिए। तीमध्ये विदेशीहरू र विदेशीका लागि काम गरेका अफगान नागरिकहरू थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, धेरै अफगान 'आफ्नो भविष्यप्रति चिन्तित'

आईएस-केले काबुल विमानस्थलमा आक्रमण गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो।

आत्मघाती बम विस्फोटका कारण १७० जना सर्वसाधारण र १३ जना अमेरिकी सेनाका मानिसहरू २६ अगस्टका दिन मारिएका थिए।