अमेरिकी पूर्वराष्ट्रपति क्लिन्टन अस्पताल भर्ना

बिल क्लिन्टन

तस्बिर स्रोत, Getty Images

Published

अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनले कोभिडसँग सम्बन्धित नभएको एउटा सङ्क्रमण देखिएपछि अस्पतालमा उपचार गराइरहेका छन्।

उनका प्रवक्ताले ७५ वर्षीय क्लिन्टनको 'अवस्थामा सुधार भइरहेको' र उनी 'राम्रो स्थितिमा रहेको' बताएका छन्।

उनलाई यूसी अर्भिन मेडिकल सेन्टरमा मङ्गलवार भर्ना गरिएको हो।

चिकित्सकहरूले जारी गरेको विज्ञप्तिमा क्लिन्टनलाई एन्टिबायोटिक र झोल पदार्थ दिइएको जनाएका छन्।

असर

नियमित निगरानीका लागि उनलाई अस्पतालमा नै राखिएको चिकित्सकहरूको भनाइ छ।

"दुई दिनको उपचारपछि उनको ह्वाइट ब्लड सेलको गणना घटिरहेको छ र उनमा एन्टिबायोटिकहरूले राम्रो असर देखाइरहेको छ।"

यूसी अर्भिनका चिकित्सकहरू न्यूयोर्कमा रहेका क्लिन्टनका स्वास्थ्यकर्मी र उनका मुटु रोग विशेषज्ञहरूसँग पनि सम्पर्कमा रहेका छन्।

उनीहरूले क्लिन्टनलाई चाँडै घर पठाइने जनाएका छन्। क्लिन्टन सन् १९९३ देखि २००१ सम्म अमेरिकाका राष्ट्रपति थिए।

सन् १९९८ मा ह्वाइट हाउसकी एकजना इन्टर्न मोनिका लोवेन्स्कीसँगको आफ्नो सम्बन्धबारे अनुसन्धानकर्ताहरूलाई ढाँटेकोमा उनीविरुद्ध महाभियोग लगाइएको थियो।

तर सिनेटमा भएको सुनुवाइबाट उनले उन्मुक्ति पाएका थिए।

सन् २००४ मा क्लिन्टनको बाइपास सर्जरी गरिएको थियो र त्यसको १० वर्षपछि छाती दुखेको बताएपछि उनको मुटुको धमनी सफा गरिएको थियो।

चिल्लो खाना रुचाउने यी पूर्वराष्ट्रपति दोस्रो सर्जरी लगत्तै शाकाहारी बनेका थिए।