बेइरुत विस्फोट: न्यायाधीश नेतृत्वको अनुसन्धानविरुद्धको प्रदर्शनका क्रममा हिंसा

बन्दुकधारी

तस्बिर स्रोत, AFP

Published

लेबननको राजधानी बेइरुतमा गोली हानाहानमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। हिंसा शिया मुस्लिम समूह हेजबोल्लाह र आमलले न्यायाधीशविरुद्ध गरेको प्रदर्शनका क्रममा भएको हो।

ती न्यायाधीशले गत वर्ष तटीय सहरमा भएको ठूलो विस्फोटनको घटनाको अनुसन्धान गरिरहेका छन्। उनीहरूले लेबनिज फोर्सेस (एलएफ) को खेमाका क्रिश्चियन बन्दुकधारीहरूले भिडमा गोली चलाएको आरोप लगाएका छन्।

लेबननलाई सङ्कटमा पार्न त्यसो गरिएको भनी हेजबोल्लाह र आमलले आफूमाथि लगाएको आरोप एलएफले अस्वीकार गरेको छ।

उक्त विस्फोटनमा कम्तीमा २१९ जनको ज्यान गएको थियो। हेजबोल्लाह र उसका समर्थकहरूले न्यायाधीश पूर्वाग्रही भएको दाबी गरेका छन्।

तर पीडित परिवारले उनको कामको समर्थन गरिरहेका छन्।

अदालतको मुख्य भवन प्यालेस अफ जस्टिस बाहिर सयौँ मानिसहरूले न्यायाधीशलाई हटाउन माग गर्दै प्रदर्शन सुरु गरेका थिए। उनीहरूले अनुसन्धानलाई राजनीतिकरण गरिएको तर्क गर्दै न्यायाधीश तारेक बितारलाई हटाउन माग गरेका छन्।

स्वचालित राइफल सहितका हतियारधारी मानिसहरूका कारण स्थानीय बासिन्दाहरू घरबाट भागेका थिए भने स्कूले विद्यार्थीहरू डेस्कको तल लुकेका थिए।

क्रिश्चियन मिलिसिया र शिया सदस्यहरूबीच सडकमा गोली हानाहान भएको विश्वास गरिएको छ।

सडकमा सेना

तस्बिर स्रोत, AFP

सहरमा भयानक क्षति पुर्‍याएको सन् २०२० को उक्त विपत्तिमा अहिलेसम्म कसैलाई पनि जबाफदेही बनाइएको छैन।

लेबननको खराब हिंसाहरू मध्येको बिहीवारको गोली प्रहारको घटनालाई लिएर लेबननका प्रधानमन्त्री नजिब मिकाटीले शुक्रवार शोकको घोषणा गरेका छन्।

उनले कारण जे सुकै भए पनि विद्रोही आचरण नदेखाउन र संयम रहन सबैलाई आग्रह गरेका छन्।

संयम कायम गर्न भन्दै सेनाले आफ्नो दस्ता परिचालन गरेको जनाएको छ र सडकमा बन्दुकधारी देखिए उनीहरूमाथि गोली चलाइने बताएको छ।

राष्ट्रपति मिशेल अनले भने, "हामीले कसैलाई पनि उनीहरूको स्वार्थको निम्ति देशलाई बन्धक बनाउन दिने छैनौँ।"

प्रदर्शनकारीहरूले हतियारधारीले घरको छतबाट आफूहरूलाई हमला गरेको बताएका छन्।

एकजना बीबीसी संवाददाता भन्छन्, - गत वर्ष भएको विस्फोटनको घटनासम्बन्धी अनुसन्धान अत्यन्तै विवादित बनेको छ।