'डच राजगद्दीको उत्तराधिकारीले समलिङ्गी विवाह गर्न पाउने'

आफ्ना बुवा एवम् वर्तमान डच राजासँग युवराज्ञी अमालिआ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आफ्ना बुवा एवम् वर्तमान डच राजासँग युवराज्ञी अमालिआ
Published

द नेदरल्यान्ड्समा सन् २००१ देखि नै समलिङ्गी विवाह वैधानिक छ, तर राजगद्दीका उत्तराधिकारीमा त्यो लागु नहोला कि भन्ने अनुमान थियो।

अहिले आएर कामचलाउ प्रधानमन्त्री मार्क रुटले भावी राजा वा रानीले पनि समलिङ्गी बिहे गर्न सक्ने स्पष्ट पारेका छन्।

डच राजगद्दीकी वर्तमान उत्तराधिकारी युवराज्ञी अमालिआ डिसेम्बर महिनामा १८ वर्षकी हुनेछिन्।

संसद्‌मा आफ्नै दलबाट सोधिएको प्रश्नको लिखित जबाफ पठाउँदै उनले भनेका छन्, "उत्तराधिकारी अथवा राजाले समलिङ्गी बिहे गर्न चाहेमा राजगद्दी त्याग्नुपर्ने कारण मन्त्रिपरिषद्‌ले देख्दैन।"

डच संविधान के भन्छ?

युवराज्ञी अमालिआको भविष्यलाई लिएर अहिले निकै ध्यान दिने गरिएको पाइन्छ।

उनले समलिङ्गी बिहे गरेमा के हुन्छ भन्नेबारे एउटा किताबमा चर्चा गरिएको छ।

हुन त त्यो किताबमा उनको निजी जीवनबारे कुनै लख काटिएको छैन र कसैसँग उनको बिहे हुन लागेको छ भन्नेबारे कुनै सङ्केत गरिएको छैन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, जब डच प्रमले पोखिएको कफी आफैँ सफा गरे

आगामी वर्षदेखि अमालिआ विश्वविद्यालयमा भर्ना हुनेछिन् र विद्यार्थी भएसम्म उनलाई युवराज्ञीले पाउने रकम सुविधा दिन अस्वीकार गरिएको छ।

समलिङ्गी बिहे गरेका राजा वा रानीले धर्मपुत्रपुत्री पालेमा अथवा दाताबाट शुक्रकीट वा अण्डा लिएर बच्चा जन्माएको खण्डमा चाहिँ उत्तराधिकारीबारे के हुन्छ भन्नेबारे स्पष्ट छैन।

"त्यो विषय एकदमै जटिल छ,"रुटले भनेका छन्।

"वैध सन्तान" मात्रै राजा वा रानीको उत्तराधिकारी हुन पाउने डच संविधानमा उल्लेख छ।

कामचलाउ प्रधानमन्त्री रुटले वर्तमान अवस्थामा समलिङ्गी बिहेको विषय "पूर्णतः सैद्धान्तिक" भएको र शाही बिहे संसद्‌ले अनुमोदन गर्नुपर्ने विषय भएको बताएका छन्।