कोभिड नेपालः अन्तर्राष्ट्रिय विमानस्थल र मुख्य नाका भएर प्रवेश गर्ने क-कसले खोप पाउनेछन्

खोप
Published

नेपालमा जारी कोभिड खोप अभियानबीच अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग जोडिएका केही नाका भएर आउने नागरिकहरूलाई सम्भव भएसम्म खोप लगाइने अधिकारीहरूले बताएका छन्।

पछिल्ला दिनमा नाकामा बढ्दो भिड र सम्बन्धित स्थानीय तहमा दोस्रो मात्रा पाउने कुराको सुनिश्चितता नहुने जस्ता कारण भने चुनौतीका रूपमा देखिएको छ।

जिल्ला स्वास्थ्य कार्यालयहरूले सीमानाका भएर आउने नागरिकका लागि खोपको मात्रा छुट्ट्याइएको र लगाउनका लागि दिन पनि तोकिएको बताएका छन्।

देशव्यापी कोभिड खोप अभियान चलिरहँदा विदेशमा रहेका नेपालीहरू घर फर्किने क्रम बढेको छ।

के छ तयारी?

अधिकारीहरूका अनुसार दशैँ, तिहार र छठजस्ता पर्वका बेला आउने नेपालीमध्ये कतिपयले खोप लगाइसकेको पाइएको छ भने कतिपयले खोप नलगाएको पाइएको छ।

हाल ४४ लाख खोपको मात्रा ल्याएर लगाउने काम भइरहेको र थप ३२ लाख खोप छिट्टै आउने अधिकारीहरूले बताएका छन्।

खोपको अभाव नरहेकाले नेपाल प्रवेश गर्ने नागरिकलाई खोप दिएर घर पठाउने सरकारी योजना छ।

सो अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र केही मुख्य नाकामा खोप लगाउने काम शुरू गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।

वीरगन्ज-रक्सौल नाका
तस्बिरको क्याप्शन, वीरगन्ज-रक्सौल नाका (फाइल तस्वीर)

"विशेषतः अन्तर्राष्ट्रिय हवाई प्रवेश बिन्दु र केही स्थलगत नाकामा कोभिड खोप उपलब्ध भएसम्म पठाइयो र उहाँहरूले दोस्रो मात्रा आफ्नो स्थानीय तहमा लगाउने कुराको सुनिश्चितता हुने गरी पठाउन सकियो भने सहज हुन्छ भन्ने हिसाबले सहजीकरण गरिएको छ," उनले भने।

"अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने भनेर शुरू गरिएको छ। कतिपय नाकामा केही समयअगाडि शुरू गरिएको र केहीमा व्यावहारिक नभएपछि अहिलेका लागि पुनर्विचार गरिएको तथा केहीमा अहिले पनि जारी रहेको अवस्था छ।"

सबै नाकामा चाहिँ त्यस्तो व्यवस्था गर्न कठिन रहेको अधिकारीहरू बताउँछन्। ।

जिल्लामा पठाइएको खोपको केही मात्रा सीमानाकाबाट आउने नेपालीका लागि छुट्ट्याइएको र निश्चित दिनसम्म मात्र दिन सक्ने अवस्था रहेको जिल्ला स्वास्थ्य कार्यालयहरूले बताएका छन्।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ्ग शाहले भने, "सरकारको नीतिअनुसार सीमामै हेल्थ डेस्क खडा गरिएको छ। स्थानीय स्वास्थ्यकर्मीद्वारा आउँदो २२, २३ र २४ गते खोप लगाउने कार्यक्रम पनि हुँदैछ, १८ वर्षमाथि उमेर भएका सबैका लागि सीमामै दिनका लागि खोपको मात्रा छुट्ट्याइएको छ।"

भारत तथा तेस्रो देशबाट आउने कतिपय नागरिकका सम्बन्धित स्थानीय तहमा पूर्ण मात्रा खोप लगाइसकेको अवस्था रहेको र कतिपयले आफ्नो गाउँ पुगेर दोस्रो मात्रा लगाउन समस्या हुन सक्ने अवस्था रहेमा उनीहरूलाई खोप नदिइने अधिकारीहरूले बताएका छन्।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

स्वास्थ्य मन्त्रालयले शहरी क्षेत्रमा हाल खोपको अभाव नरहेकाले गाउँ जाने मानिसहरूलाई खोप लगाएर मात्र जान आग्रह गरेको छ।

विदेशबाट आएका र शहरबाट गाउँ जानेहरूले खोप लगाएर गएमा ग्रामीण क्षेत्रमा कोरोनाभाइरस सङ्क्रमण फैलिने जोखिम कम हुने अधिकारीहरूको विश्वास छ।

तर खोप लगाएको भएर पनि जनस्वास्थ्यका मापदण्डको पालनामा हेलचेक्रयाइँ नगर्न स्वास्थ्य अधिकारीहरूले आग्रह गर्दै आएका छन्।

विज्ञ के भन्छन्?

हवाई प्रवेश बिन्दु र स्थल सीमानाकामै आफ्ना नागरिकलाई खोप लगाउने अभियान सकारात्मक भए पनि त्यसलाई व्यवस्थित र सबैले पाउने सुनिश्चित गर्नुपर्ने विज्ञहरू औँल्याउँछन्।

"सीमानाकामा भिडलाई राम्ररी व्यवस्थापन गर्नुपर्छ। साथै आउनेहरूको एन्टिजन परीक्षण र खोप लगाउने कामलाई एकसाथ अगाडि बढाउनुपर्ने हुन्छ," स्वास्थ्य विभागका पूर्वप्रमुख डा. सेनेन्द्रराज उप्रेतीले भने।

"यदि परीक्षणबाट पोजिटिभ देखियो भने सोही अनुसार क्वारन्टिन लगायतको व्यवस्था गर्नुपर्छ भने नेगेटिभ भएकालाई खोप लगाएर दोस्रो मात्रा कहाँ र कहिले दिइनेछ भन्ने कुरा भनिदिनुपर्छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, किन कोभिड खोपबीच तुलना गर्न मिल्दैन?

पहिले मात्रा दिइएका मानिसहरूले दोस्रो मात्रा लिए वा लिएनन् भन्ने कुराका लागि ट्रेसिङ्ग गर्नुपर्ने खाँचो उनले औँल्याए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार बिहीवारसम्म नेपालमा ६४ लाख तीस हजारभन्दा बढीले पूर्ण मात्रा खोप लगाइसकेका छन्।

त्यसैगरी ८० लाख ८८ हजारभन्दा बढीले पहिलो मात्रा खोप लगाएको मन्त्रालयको तथ्याङ्क छ।