तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जर्मनी: १०० वर्षीय पूर्व नाजी गार्ड सुनुवाइका लागि अदालतमा
दोस्रो विश्व युद्धको अन्त्य भएको ७६ वर्षपछि बन्दी गृहका एक पूर्वगार्डमाथिको मुद्दा सुनुवाइ सुरु भएको छ। बर्लिननजिकै ज्याकसनहाउजनमा ३,५१८ बन्दीहरूको हत्यामा सघाएको आरोप उनीमाथि लगाइएको छ।
सोभियत कैदीहरूलाई गोली हान्नमा मिलेमतो गरेको आरोप जोसेफ एसमाथि छ।
सुनुवाइमा उपस्थित हुने उनी सबैभन्दा पाका प्रतिवादी हुन्।
तल्लो ओहोदाका नाजीहरूमाथिको सुनुवाइ हालैका वर्षमा मात्रै सुरु भएको हो।
१० वर्षअघि पूर्व एसएस गार्ड जोन डेम्यानुक दोषी ठहर भएको नजिरले अभियोजनकर्तालाई दोस्रो विश्वयुद्धमा भएका अपराधमा सहयोग गर्ने मानिसमाथि अभियोग लगाउन सजिलो भएको थियो। त्यतिबेलासम्म, हत्यामा प्रत्यक्ष सहभागिता भएको प्रमाणित हुनुपर्थ्यो।
जर्मनीको गोपनीयतासम्बन्धी कानुनका कारण जोसेफ एस भनेर चिनिने यी प्रतिवादीलाई कारागारस्थित विशेष तरिकाले बनाइएको स्पोर्ट हलमा लगिएको थियो जहाँ कडा सुरक्षामाझ सुनुवाइ सुरु भएको थियो।
उनी ह्वीलचेयरमा ब्रिफकेस बोकेर आएका थिए।
जोसेफ एस ब्रान्डनबर्ग क्षेत्रमा वर्षौंदेखि मिस्त्रीका रुपमा बस्दै आएका छन्। उनले सुनुवाइबारे सार्वजनिक रुपमा बोलेका छैनन्।
उनका वकिल स्टेफन वाटरक्याम्पले प्रतिवादीले सुनुवाइका बेला आफूविरुद्ध लागेका अभियोगबारे कुनै प्रतिक्रिया नजनाउने अदालतलाई बताएका छन्। तर सुनुवाइमा व्यक्तिगत परिस्थितिबारे भने जोसेफ एसले बोल्ने उनका वकिलले बताए।
सन् १९४२ मा ज्याकसनहाउजनमा पहिलोपटक गार्ड बन्दा जोसेफ एस २१ वर्षका थिए। अहिले करिब १०१ वर्ष हुन लागेका उनी अदालतमा दिनको साढे दुई घण्टा उपस्थित हुन सक्ने ठानिएको छ। ज्यानुअरीसम्म यो मुद्दाको सुनुवाइ जारी रहने छ।
सरकारी अभियोजनकर्ता सिरिल क्लेमेन्टले अदालतमा सन् १९४१ देखि १९४५ सम्म ज्याकसनहाउजनमा भएको हत्याबारे बताएका थिए।
उत्तरी बर्लिनस्थित ओरानियनबुर्ग शिविरमा दशौं हजार मानिसको ज्यान गएको थियो जसमा यहुदीहरू, राजनीतिक विपक्षीहरू, विद्रोहीहरू, समलिङ्गी र युद्धका कैदीहरू थिए।
सन् १९४३ मा ज्याकसनहाउजनमा ग्यास चेम्बर बनाएर ३,००० मानिसको शिविरमा हत्या गरिएको थियो। युद्ध अन्त्यको नजिक पुग्दा ती मानिसहरू "र्यालीका लागि अयोग्य" भएका कारण उनीहरूको त्यसरी नरसंहार गरिएको थियो।
बिहीवारको सुनुवाइ खासगरी १७ जना मुद्दाका पक्षका लागि महत्त्वपूर्ण थियो किनभने त्यहाँ ज्याकसनहाउजन घटनामा बाँच्न सफलहरू पनि उपस्थित भएका थिए।
१०० वर्षीय लियोँ स्वार्चबाम ज्याकसनहाउजनमा भएको घटनामा बाँच्च सफल भएका थिए। उनले यो सुनुवाइ हत्या भएका आफ्ना साथी, चिनेजानेका र प्रियजनका लागि अन्तिम हुने बताए।
धेरै नाजी शिविर गार्डहरूले भने मुद्दाको सामना गर्नुपर्दैन।
स्टुटहोफ बन्दी गृहमा मात्रै ३,००० गार्ड थिए र त्यसमध्ये जम्मा ५० जना मात्रै दोषी ठहर भए। गत वर्ष ब्रुनो डे आमहत्यामा मिलेमतो गरेको आरोपमा दोषी ठहर भएका थिए र उनलाई हाल कार्यान्वयन नहुने सजाय दिइएको थियो।