नेपाल-भारत सम्बन्ध: देउवा निकट नेताहरू भारत भ्रमणमा किन जाँदैछन्?

भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश मामिला प्रमुखले नेपाल भ्रमण गरेको डेढ महिनापछि उक्त दलको निमन्त्रणामा नेपालको सत्तारुढ दलका तीनजना नेताहरू भारत भ्रमणमा जान लागेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा निकट रहेका भनिएका सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा नेताहरू उदयशमशेर राणा र अजय चौरासिया बिहीवार दिल्ली जान लागेका हुन्।
दुवै देशको पार्टी-पार्टीबीचको सम्बन्ध बढाउँदा 'बुझाइको स्तर' बढ्ने भन्दै यो भ्रमणको उद्देश्य सम्बन्ध विकास रहेको टोली नेताले बताए।
सहमहामन्त्री महतले भने, "पार्टीको नेतृत्व तहमा एकअर्काका चासो र चिन्तालाई बुझ्न सजिलो हुन्छ, कतिपय विषयमा साझा दृष्टिकोण बनाउन सजिलो हुन्छ, अन्डर्स्ट्यान्डिङ लेभल बढ्छ। त्यही पार्टीको नेतृत्व सरकारमा हुँदा त्यहाँ पनि त्यसको रिफ्लेक्सन हुन्छ र सम्बन्धमा विश्वास बढ्छ भन्ने हो।"
उक्त भ्रमणका बेला भाजपाका र सरकारका उच्च नेताहरूसँग भेट हुने भनिए पनि को-कोसँग भन्नेबारे तय हुँदै गरेको उनले बताए।
'चिसिएको' सम्बन्ध सुधार्ने प्रयास हो?
नेपालमा नयाँ प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्रीले बधाई दिने विगतको अभ्यास देउवा प्रधानमन्त्री भएका बेला भारतीय पक्षबाट नदेखिँदा धेरैले भारतीय प्रधानमन्त्रीसँगको सम्बन्धमा केही दुरी आएको आकलन गरेका थिए।
डेढ महिनाअघि भाजपाका विदेश मामिला प्रमुख विजय चौथाइवाले नेपाल आएका बेला पनि देउवासँग भेट गरेका थिए।
उनले भेटपछि ट्वीट गर्दै पार्टीको स्तरमा संवाद सुदृढ बनाउने सहमति भएको बताएका थिए।
देउवा प्रधानमन्त्री भएपछि लामो समय परराष्ट्रमन्त्रालय रिक्त रहे पनि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने नै दिन उनी निकट भनिएका अर्का नेता नारायण खड्का नियुक्त भएका थिए।
महासभामा भाग लिन गएका नेपालका तर्फबाट खड्का र भारतका विदेशमन्त्री एस जयशङ्करबीच त्यही भेटघाट भएको थियो।
देउवा प्रधानमन्त्री भएपछि दुई देशका उच्चपदस्थबीचको पहिलो भेट नै त्यही थियो।
उक्त भेटघाटका क्रममा नेपाल-भारत सम्बन्धमा देखा परेका समस्याहरू समाधान गर्ने विषयमा छलफल भएको मन्त्री खड्काले बताएका थिए।
दुवै देशले दाबी गर्दै आएको विवादास्पद कालापनी, लिपुलेक र लिम्पियाधुरालाई नेपालले आफ्नो नक्सामा गत वर्ष समेटेएपछि नेपाल-भारत सम्बन्ध चिसिएको बताइन्छ।

तस्बिर स्रोत, Twitter/Vijay Chauthaiwale
सर्वोच्च अदालतको फैसलाबाट प्रधानमन्त्री हुनुअघि देउवासहित पाँच पूर्व प्रधानमन्त्रीहरूले पनि नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको चलखेल नहोस् भनेर विज्ञप्ति निकालेका थिए।
'नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नपाओस् भन्ने कुरामा सजगताका लागि सबैको ध्यान आकर्षित गर्न चाहन्छौं,' विवरणको विज्ञप्तिले पनि भारतसँगको सम्बन्धमा केही समस्या आएको भन्ने टिप्पणीहरू आएका थिए।
तर महामन्त्री महत भने सम्बन्धमा दुरी वा समस्या आएको भन्ने कतिपयको टिप्पणीलाई मनोगत ठान्छन्।
उनले भने, "सम्बन्ध हाम्रो राम्रो नै छ। आदानप्रदान भइसकेपछि हाम्रो दृष्टिकोण उनीहरूलाई बुझ्न मद्दत पुग्छ। उनीहरूको दृष्टिकोण हामीलाई बुझ्न मद्दत पुग्छ। त्यसले बुझाइको स्तर बढ्छ।"
"हामी आफ्ना कुरा राख्छौँ निर्धक्क र उहाँहरूका पनि कुनै चासो चिन्ता छ भने त्यसलाई हामीले बुझ्न सकेको छैन कि त्यसलाई पनि हामी बुझ्ने कोसिस गर्छौं र त्यसका आधार छन् भने सकारात्मक रूपमा लिन्छौँ।"
सर्वोच्च अदालतको फैसलापछि बनेको सरकारको तीन महिना पुग्न लाग्दा सम्म भारतले भ्रमणका लागि नबोलाउनुलाई पनि सम्बन्धमा आएको 'चिसोपना' भनेर कतिपयले बताउने गरेका छन्।
तर सहमहामन्त्री महत त्यसलाई त्यसरी बुझ्न नहुने र भ्रमणमा बोलाइ हाले पनि नेपालबाट प्रधानमन्त्री जान अनेकौँ समस्याहरू रहेको बताए।
आफूहरूको भेटघाटका बेला प्रधानमन्त्रीको भ्रमणबारे छलफल हुने विषय नरहे पनि पार्टीपार्टीबीचको आदानप्रदानले सरकारले बनाउने दृष्टिकोणमा मद्दा पुर्याउने उनले बताए।




















