तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अस्ट्रेलिया भूकम्पः देशको दक्षिणपूर्वी भागमा भूकम्प, मेल्बर्नका केही भवनमा क्षति
दक्षिणपूर्वी अस्ट्रेलियामा ५.८ म्याग्निट्यूडको एउटा भूकम्प मापन गरिएको छ। भूकम्पका कारण मेल्बर्न सहरमा भवनहरू भत्किएका छन्।
स्थानीय समयानुसार बुधवार बिहान ९:१५ बजे म्यान्सफील्डमा केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो। उक्त स्थान भिक्टोरिया राज्यको राजधानीनजिकै छ।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले कोही पनि गम्भीर घाइते भएको विवरण प्राप्त नहुनु सुखद समाचार भएको बताएका छन्।
भूकम्पको धक्का छिमेकी साउथ अस्ट्रेलिया र न्यू साउथ वेल्स राज्यमा पनि महसुस गरिएको थियो।
उक्त भूकम्पपछि दुइटा साना परकम्प पनि गएका छन्।
केही वर्षयता अस्ट्रेलियामा आएको यो सबैभन्दा ठूलोमध्येको भूकम्प हो। तर त्यसबाट खासै ठूलो क्षति भएको जस्तो देखिँदैन।
अमेरिकाबाट बोल्दै प्रधानमन्त्री मरिसनले अस्ट्रेलियाका लागि भूकम्प असामान्य भएकाले “निकै अशान्तिकारक घटना” हुनसक्ने बताएका छन्।
भिक्टोरिया राज्यको आपत्कालीन सेवाले सर्वसाधारण मानिसलाई सम्भावित परकम्पप्रति चनाखो रहन आग्रह गरेको छ।
“तपाईँ भिक्टोरियामा हुनुहुन्छ भने तपाईँ जोखिममा हुनुहुन्छ। परकम्पहरू जान सक्छन्, त्यसैले क्षतिग्रस्त भवन र अन्य खतराबाट परै बस्नुहोस्। अत्यावश्यक हुँदाबाहेक सवारी नचलाउनुहोस्,” उसले भनेको छ।
मुटुको शक्यक्रिया गर्दागर्दै भूकम्प
डा. समीर ठाकुरका अनुसार भूकम्प जाँदा उनी मेल्बर्ननजिकै एउटा अस्पतालमा बिरामीको मुटुको बाईपास शल्यक्रिया गर्दै थिए।
“हामी शल्यक्रियाको भाग कामतिर थियौँ अनि हामीले शल्यक्रिया गर्ने टेबल चलेको महसुस गर्यौँ,” उनले बीबीसी न्यूजडेसित भने।
“कक्षमा यताउता हेर्दै आईभी पोलहरू चलिरहेका थिए अनि हामीसँग भएका क्ल्याम्पहरू पनि हल्लिरहेका थिए।”
भाग्यवश कम्पन नरोकिँदासम्म शल्यक्रिया रोक्न सकिने चरणमा भएको र त्यसपछि शल्यक्रिया सम्पन्न गरिएको उनले बताए।
अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशनले आफ्ना टीभी कार्यक्रम प्रस्तोताहरूले भूकम्प जाँदा स्टूडिओमा देखाएको प्रतिक्रियाको दृश्य देखाएको छ।
“यो भूकम्प हो कि संरचनागत कुरो?” प्रस्तोता माइकल रोल्यान्डले भनिरहेको सुनिन्छ। “जाऔँ... त्यो ठूलो थियो।”
केही अग्ला भवन र एउटा अस्पतालमा पनि छोटो समयका लागि खाली गरिएको स्थानीयवासीहरूले जनाएका छन्।
भूकम्प किन असामान्य?
अस्ट्रेलियामा ठूला भूकम्पहरू असामान्य मानिन्छ। किनभने उक्त महादेश टेक्टोनिक प्लेटको बीचमा अवस्थित छ।
जीओसाइन्सेज अस्ट्रेलियाका अनुसार बुधवारको भूकम्प जमिनमुनि १० किलोमिटर तल गएको थियो।
पहिला ६ म्याग्निट्यूडको भूकम्प गएको भनिएको थियो। तर पछि संशोधन गरेर त्यसको मान ५.८ कायम गरिएको हो।
देशको भौगर्भिक निकायका अनुसार अस्ट्रेलियामा प्रत्येक १० वर्षमा विनाश गर्न सक्ने क्षमता भएका म्याग्निट्यूड ६.० भन्दा ठूला भूकम्पहरू आउन सक्ने सम्भावना हुन्छ।
मेल्बर्न देशको दोस्रो ठूलो सहर हो। त्यहाँ ५० लाख जनाजति मानिसको बसोबास छ।
अहिले त्यहाँ कोरोनाभाइरस नियन्त्रण गर्ने उद्देश्यले लकडाउन लगाइएको छ।
यो पनि हेर्नुहोस्