हराएका मूर्ति स्वदेश फर्काइँदै, नेपाल ल्याएपछि कहाँ र कसरी राखिन्छन्?

नेपाली दूतावासमा मूर्ति हस्तान्तरण गर्दै डेनभर सङ्गहालयका अधिकारीहरू

तस्बिर स्रोत, अमेरिकास्थित नेपाली दूतावास

तस्बिरको क्याप्शन, नेपाली दूतावासमा मूर्ति हस्तान्तरण गर्दै डेनभर सङ्गहालयका अधिकारीहरू
Published

अमेरिकास्थित नेपाली दूतावासले सन् १९६० को दशकमा नेपालबाट हराएको एउटा पुरातात्त्विक महत्त्वको मूर्ति त्यहाँको एक सङ्ग्रहालयले आफूलाई हस्तान्तरण गरेको जनाएको छ।

ललितपुरको पाटनबाट हराएको उमा महेश्वरको मूर्ति सन् १९७५ ताकादेखि अमेरिकाको कोलोराडोस्थित डेनभर सङ्ग्रहालयमा प्रदर्शनीमा राखिएको पाइएको दूतावसको भनाइ छ।

उक्त सङ्ग्रहालयमा देखिएपछि त्यो मूर्तिबारे नेपालले चासो राखेको थियो।

मूर्ति नेपालबाट हराएको पुष्टि भएपछि विभिन्न प्रक्रिया पूरा गरेर सङ्ग्रहालयले दूतावासलाई बुझाएको हो।

त्यसलाई नेपालमा पठाइने र उपयुक्त स्थानमा राखिने दूतावासले वक्तव्यमार्फत जानकारी दिएको छ।

केही वर्षदेखि उक्त उमा महेश्वरको मूर्तिजस्तै चोरी भएर विदेश पुर्‍याइएका अन्य कतिपय मूर्तिलाई पनि नेपाल फर्काइसकिएको अधिकारीहरू बताउँछन्।

फर्काइएका मूर्तिको व्यवस्थापन

पहिले मन्दिरबाटै हराएका वा चोरिएका अनि विदेशमा फेला परेर फर्काइएका त्यस्ता मूर्तिहरू कहाँ र कसरी राखिन्छन् भन्ने कतिपयको जिज्ञासा हुने गरेको छ।

चोरिएका मूर्तिहरू नेपाल फर्किएपछि फेरि संरक्षित होलान् कि नहोलान् भनेर चिन्ता व्यक्त गर्नेहरू पनि छन्।

अधिकारीहरूले चाहिँ विदेश पुर्‍याइएका र फर्काइएका त्यस्ता मूर्तिको सुरक्षा र संरक्षणमा विशेष ध्यान दिइने बताएका छन्।

पुरातत्त्व विभागमा प्रवक्ता रामबहादुर कुँवर भन्छन्, "विदेशबाट फर्काइएका मूर्तिहरू कुनै स्थानबाट चोरिएको वा हराएको भन्ने प्रमाणित हुन्छ भने सुरक्षाको प्रत्याभूति भएमा स्थापनाका लागि दिने गरिन्छ। त्यस्तो नभएको अवस्थामा सङ्ग्रहालयमा राखिन्छ।"

उनले त्यस्ता मूर्तिको सुरक्षाको प्रत्याभूति नभइकन पुन: पहिलेकै स्थानमा राख्न नदिइने जानकारी दिए।

उनले विदेशबाट फर्काइएका मूर्ति पुन: स्थापना गर्न माग गर्ने प्रक्रियाबारे भने, "मन्दिर वा गुठियारले स्थानीय तहबाट सिफारिस गराएर जिल्ला प्रशासन कार्यालयमार्फत सिफारिस भएर आइसकेपछि विभागमा त्यो पुनर्स्थापना गर्नुपर्ने प्रमाण पुग्यो भने हामी पठाइदिन्छौँ।"

"हामीले केहीअघि डोल्पा र पाटनमा त्यस्ता मूर्तिहरू पठाएका थियौँ।"

नेपाल फिर्ता हुन लागेको उमामहेश्वरको मूर्ति

तस्बिर स्रोत, अमेरिकास्थित नेपाली दूतावास

तस्बिरको क्याप्शन, नेपाल फिर्ता हुन लागेको उमामहेश्वरको मूर्ति

तर सुरक्षाबारे विश्वस्त नभएमा विभागले नदिन पनि सक्ने उनले बताए।

त्यो निर्क्योल गर्नका लागि विभागका अधिकारीहरूले उक्त क्षेत्रको भ्रमण गरेर हेर्ने पनि गरिएको कुँवरको भनाइ छ।

त्यसरी पुनर्स्थापित गर्न नसकिने मूर्तिहरू चाहिँ छाउनीस्थित राष्ट्रिय सङ्गहालयमा पठाइने उनले बताए।

अहिलेसम्म कति मूर्ति फर्काइए?

विभागसँग नेपालबाट कति मूर्तिहरू हराएका वा चोरिएका छन् भन्ने यकिन विवरण नभएको अधिकारीहरू बताउँछन्।

तर विसं २०५० सालदेखिको नेपालमा हराएका वा चोरिएका मूर्तिहरू फर्काइन थालेको प्रवक्ता कुँवरले बताए।

उनका अनुसार हालसम्म ६३ वटा मूर्ति विभिन्न देशबाट नेपालमा फर्काइसकिएको छ।

अडिओ क्याप्शन सुरु हुँदैछ, जो कल्पना गरेर थरीथरीका मूर्ति बनाउँछन्

उनी भन्छन्, "विशेष गरी ६०, ७० र ८० को दशकमा घेरै घटना भएको देखिन्छ। त्यसबेला डकुमेन्टेशन पनि भएको थिएन। तर सन् २००० पछि त्यस्तो चोरी निकै कम भएको छ।"

विज्ञको भनाइ

पुरातात्त्विक वस्तु तथा क्युरियोसम्बन्धी एक जना जानकार श्यामसुन्दर राजवंशीका भनाइमा नेपालबाट विशेष गरी नेपालीलाई नै प्रयोग गरेर मूर्तिहरू चोरी भएको देखिएको छ।

"कम आय भएका मानिसहरूलाई त्यस्ता काममा सामेल भएका व्यक्तिहरूले मूर्ति चोर्न लगाउने र केही पैसा दिने अनि विदेशी ग्राहक खोजेर आफूले बेच्ने गरेको घटनाहरू पाइएका छन्," उनी भन्छन्।

कतिपयले नयाँ मूर्ति भनेर झुक्क्याएर पुरातत्त्व विभागबाटै स्वीकृति गराएर पनि पुराना मूर्ति विदेश पुर्‍याएको घटना उनी स्मरण गर्छन्।

पुरातत्त्व विभागमा लामो समय क्युरियो जाँचपास शाखामा प्रमुख पुरातत्त्व अधिकृतका रूपमा काम गरेर अवकाश पाएका उनी कैयौँ मन्दिरमा अहिले पनि मूर्तिको फोटो खिच्नु हुँदैन भन्ने मान्यता भएकाले मूर्तिको तस्बिर कसैसँग नभएको बताउँछन्।

उनले भने, "त्यसले गर्दा कुनै मूर्ति हराइहाल्दा पनि त्यो नेपालकै हो भन्ने प्रमाणित गर्न निकै गाह्रो पर्छ।"

कानुनी व्यवस्था

प्राचीन स्मारक संरक्षण ऐनले पुरातात्त्विक वस्तुको खरिदविक्री, निकासी वा सङ्ग्रहमा प्रतिबन्ध लगाएको छ।

एक सय वर्षभन्दा पुराना कुरालाई त्यस्तो प्रतिबन्ध लगाइएको हो।

कसैसँग सय वर्षभन्दा पुराना मूर्ति वा पुरातात्त्विक वस्तु भएमा त्यसलाई पनि सरकारले तोकेको कार्यालयमा दर्ता गराउनु पर्ने प्रावधान त्यसमा छ।

यद्यपि कुलदेवताका मूर्तिहरू त्यसरी दर्ता गराउनु पर्दैन।

त्यस्तै क्युरियो उत्पादन र विक्री गर्न चाहनेले पनि प्रत्येक क्युरियो विभागमा दर्ता गराउनुपर्ने व्यवस्था छ।

कानुनले तोकेका यस्ता कार्य विपरीत हुने गतिविधि गर्नेलाई २५ हजारसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने ऐनमा उल्लेख छ।