कोभिड नेपालः थप २४ सय ८२ जनामा कोरोना भाइरस, ४४ सङ्क्रमितको मृत्यु,

Published

नेपालमा थप २,४८२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ४४ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बुधवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १५,२९० जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ५,५७९ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

मृतकको तथ्याङ्कमा विगत २४ घण्टा ज्यान जाने व्यक्तिको तथा नेपाली सेनाले केही दिनदेखि अन्तिम संस्कार गरिदिएका शवको सङ्ख्या समाविष्ट भएको जानकारी मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले दिएका छन्।

अहिले सङ्क्रमण पुष्टि हुने दर १९.२ प्रतिशत भएको देखिन्छ।

मन्त्रालयका अनुसार अहिले कर्णाली प्रदेशमा सङ्क्रमण पुष्टि हुने दर सबैभन्दा धेरै ४६ प्रतिशत रहेको छ।

नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख ३४ हजार नाघेको छ भने मृतकको सङ्ख्या १,०६१२ पुगेको छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,७८१ जना सङ्क्रमणमुक्त भएका छन्।

कहाँ र कति छन् सङ्क्रमित?

अहिले देशभरि ३८ हजार जनाभन्दा केही बढी मानिसमा सक्रिय सङ्क्रमण भएको मन्त्रालयको तथ्याङ्क छ।

तीमध्ये ३५,२५० जना घरमा र बाँकी संस्थागत आइसोलेशनमा छन्।

सङ्क्रमितमध्ये अहिले ६१० जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा छन्। तीमध्ये १६१ जना भेन्टिलेटरमा छन्।

अहिले २० वटा जिल्ला प्रत्येकमा ५०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित छन्।

सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै हुने क्रम अहिले पनि जारी छ।

बुधवार काठमाण्डूमा ५१५ जनासहित उपत्यकाका ७४५ जनामा कोभिड पुष्टि भयो।

उपत्यकाका तीन जिल्लामा झन्डै साढे १० हजार जना अर्थात् देशभरि भएका सक्रिय सङ्क्रमितको २७ प्रतिशतभन्दा बढी मानिस छन्।

कतिले लगाए खोप?

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको सङ्ख्या मङ्गलवार अपराह्णसम्म ३९ लाख नाघेको छ भने साढे ४९ लाखभन्दा केही बढीले पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म नेपालमा अक्सफर्ड-आस्ट्राजेनेका, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र प्रयोग भएको छ।

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने अक्सफर्ड-आस्ट्राजेनेका र भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।