कोभिड नेपाल: काठमाण्डू उपत्यकामा भदौ १६ गतेसम्म निषेधाज्ञा थप, साँझ ८ बजेपछि पनि सवारी चल्न पाउने

Published

काठमाण्डू उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले कोभिड-१९ रोकथामका लागि जारी गरिएको प्रतिबन्धात्मक व्यवस्था भदौ १६ गतेसम्म थप गर्ने निर्णय गरेका छन्।

मङ्गलवार बसेको बैठकले उपत्यकाका तीन जिल्लाको अवस्थाको मूल्याङ्कन गरेर निर्णय लिइएको काठमाण्डूका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

यसअघि राति ८ बजेपछि अत्यावश्यकबाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको थियो।

अहिलेको निर्णयबाट उक्त व्यवस्था हटेको छ।

"सोह्र गतेसम्म साबिक बमोजिमको मोडालिटिमा थप गर्ने निर्णय भएको छ," पराजुलीले भने, "आठ बजेसम्म पुगिसक्नुपर्ने भन्ने चाहिँ अहिले हटाइएको छ।"

स्वास्थ्य र शान्ति सुरक्षाको मापदण्डका आधारमा अरू नियम भने कायमै रहेको उनले जानकारी दिए।

रेस्टुराँहरूले 'टेक-अवे' साँझ ८ बजेसम्म मात्र दिन पाउने तर त्यसपछि पनि मानिसहरू हिँडडुल भने गर्न पाउने उनले बताए।

नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या केही घटेजस्तो देखिएका बेला पछिल्ला व्यवस्थाहरू केही खुकुलो पारिएको पराजुलीले जानकारी दिए।

अधिकारीहरूका अनुसार कोभिड सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले तयार पारेको 'स्मार्ट लकडाउन'को मापदण्डका आधारमा उपत्यकामा निषेधाज्ञाहरू लागु गरिएको हो।

सीसीएमसीले "पाँच निर्धारक" तय गरेर त्यसकै आधारमा बन्द र खुला रहने क्रियाकलापको सूची तयार गरेको छ।

के गर्न पाइँदैन?

पछिल्लो सरकारी निर्णयानुसार काठमाण्डू, भक्तपुर र ललितपुर जिल्लामा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्विमीङ पुल, मनोरञ्जनस्थल, सङ्ग्रहालय, रङ्गशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरूको भिड हुने अन्य कार्यक्रमहरू निषेध गरिएको छ।

पुजारीबाट हुने नित्य पूजाबाहेक अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिहरू पनि सञ्चालन गर्न नपाइने व्यवस्था छ।

शैक्षिक संस्थाहरूले पनि भौतिक उपस्थितिमा पठनपाठन गराउन नपाउने व्यवस्था कायमै छ।

के गर्न पाइन्छ?

जिल्ला प्रशासन कार्यालयहरूले घरबाट बाहिर निस्किँदा दुई व्यक्तिबिच कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गरेर, मास्क प्रयोग गर्ने सकिने व्यवस्था कायमै राखेका छन्।

काठमाण्डू उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधनले कुल स्वीकृत सीट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुहरूले अनिवार्य मास्क लगाउनुपर्ने, सवारीको ढोकामा स्यानिटाइजरको व्यवस्था गरिनुपर्ने जस्ता प्रावधान राखिएको छ।

त्यस्तै विभिन्न निकायहरूले सञ्चालन गरिरहेका सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षाहरू २५ जनाभन्दा बढी मानिसरू भेला नहुने गरी सञ्चालन गर्न पाइने पछिल्लो निर्णयमा उल्लेख छ।

मापदण्ड पालनाबारे चौतर्फी प्रश्न

सरकारले विभिन्न किसिमका प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरेको भए पनि काठमाण्डू उपत्यकामै त्यो पालना नभएको भन्ने आवाज उठ्ने गरेको छ।

पछिल्लो समय सामाजिक सञ्जालमा मास्कबिनै होटेलका हलहरूमा सरकारी मापदण्डभन्दा बढी सङ्ख्यामा मानिसहरू भेला भएको र कार्यक्रमहरूमा सहभागी भएको तस्बिर सार्वजनिक भएका थिए।

त्यसबारे पराजुली भन्छन्, ''हामीले सबैलाई अनुरोध गरिरहेका छौँ। तर अब सबैले पालना गर्नुपर्‍यो नि। सबैको दायित्व हुन्छ यसमा।"

आफूहरूले अनुगमन पनि गरिरहेको तर त्यो आफैँमा पर्याप्त भने नरहेको उनले बताए।

"यो शान्तिसुरक्षाको प्रश्नभन्दा पनि व्यक्ति नै सचेत हुनुपर्ने विषय हो। भनिरहिएको छ, जरिवाना पनि गरिरहिएको छ। मास्क पनि बाँडिरहेका छौँ तर अझै प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै पक्ष चाहिँ जिम्मेवार हुनुपर्ने अवस्था चाहिँ छ, '' उनले भने।

उपत्यकामा सङ्क्रमणको अवस्था

सङ्क्रमणको दोस्रो लहर सुरु भएसँगै वैशाख १६ बाट जारी निषेधाज्ञा असार महिनापछि खुकुलो बनाउँदै लगिएको छ।

काठमाण्डू उपत्यकामा अरू जिल्लामा भन्दा बढी सक्रिय सङ्क्रमित हुने क्रम अहिले पनि जारी छ।

अहिले काठमाण्डू उपत्यकामा झन्डै ११ हजार जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये काठमाण्डू जिल्लामा सात हजार जनाभन्दा बढी सक्रिय सङ्क्रमित भएको सरकारको तथ्याङ्कले देखाउँछ।