अफगानिस्तान द्वन्द्वः काबुलबाट उद्धार गरिएका ११८ नेपाली र नौ भारतीय नागरिक काठमाण्डू आइपुगे

काबुल विमानस्थल

तस्बिर स्रोत, EPA

Published

अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी राजदूतावासमा सुरक्षा गार्डको रूपमा कार्यरतमध्ये ११८ नेपालीहरू उद्धारपछि मङ्गलवार बिहान काठमाण्डू आइपुगेको अधिकारीहरूले बताएका छन्।

उनीहरूलाई अहिले नेपाली सेनाले राजधानीको सामाखुसीस्थित एउटा आइसोलेशन केन्द्रमा लगिएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले बीबीसीलाई बताए।

अमेरिकी सेनाले उनीहरूलाई उद्धार गरेर काबुलबाट कुवेत पठाएको र त्यहाँबाट उनीहरू नेपाल आइपुगेको बताइन्छ।

परराष्ट्र मन्त्रालयले उनीहरू कुवेत हुँदै चार्टर्ड विमानबाट काठमाण्डू आइपुगेको जनाएको छ।

नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीको उद्धारलाई आफूले प्राथमिकतामा राखेको भन्दै त्यसका लागि परराष्ट्र मन्त्रालयको मध्यएशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा एउटा कार्यदल गठन गरिएको जनाएको थियो।

फर्किनेहरूको उद्धार कसले गर्‍यो?

नेपाली सेनाका प्रवक्ता पौडेलका अनुसार उद्धार गरिएका नेपालीहरू एक दिनअघि कुवेत पुगेका थिए। उनीहरू मङ्गलवार बिहान जजिरा एअरलाइन्सको विमानबाट स्वदेश फर्किएका हुन्।

काबुलबाट उद्धार गरिएका नेपालीलाई काठमाण्डूमा स्वागत गर्दै अमेरिकी अधिकारी

तस्बिर स्रोत, US Embassy Nepal

तस्बिरको क्याप्शन, काबुलबाट उद्धार गरिएका नेपालीलाई काठमाण्डूमा स्वागत गर्दै अमेरिकी अधिकारी

उनले भने, “उहाँहरू सवा १० देखि १० बजेको बीचमा नेपाल आइपुग्नुभएको हो। हामीले नेपाली सेनालाई दिइएको जिम्मेवारी अनुसार तेस्रो देशबाट फर्किएकाहरूलाई विमानस्थलबाट आइसोलेशन केन्द्रमा लिएर गएका छौँ।”

उनले अब ती व्यक्तिहरूको आवश्यक कागजपत्रको परीक्षण गरिने, कोरोनाभाइरसको एन्टिजन जाँच गरिने र प्रक्रिया पुर्‍याएर होम आइसोलेशनमा जाने मिल्नेगरी व्यवस्था गरिने उल्लेख गरे।

उनले भने, "अहिले हामी उहाँहरू कुन अवस्थामा आउनुभएको छ त्यो सबै बुझिरहेको छौँ। परिस्थितिको विश्लेषण पनि गर्नुपर्‍यो। घर फर्किनेसहित बाँकी चिज पछि हुन्छ।”

अमेरिकी अधिकारीहरू उनीहरूलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

"काबुलस्थित अमेरिकी मिशनमा कार्यरत हाम्रा साथीहरू तथा गठबन्धनका सहकर्मीहरूसँग काम गर्नुभएका नेपालीहरूमध्ये पहिलो उडानमार्फत् आउनुहुनेलाई सकुशल काठमाण्डूमा स्वागत गर्न पाउनु हाम्रो लागि सम्मानको विषय हो," काठमाण्डूस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमा लेखेको छ।

"हामी यहाँहरूको सुरक्षा लगायतको सेवाको लागि अत्यन्तै कृतज्ञ छौँ। धेरै धन्यवाद।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, अफगानिस्तान द्वन्द्व: काबुल विमानस्थलमा रहेका नेपालीको फर्कने आशा

परराष्ट्र मन्त्रालय के भन्छ?

परराष्ट्र मन्त्रालयले समाजिक सञ्जाल ट्विटरमार्फत् अफगानिस्तानबाट नेपाली नागरिक फर्कने क्रम सुरु भएको जनाएको छ।

उसले ११८ जना नेपालीहरू कुवेतबाट चार्टर्ड विमानमा फर्किएको उल्लेख गरेको छ।

उक्त विमानमा नौ भारतीय नागरिक पनि आएको जानकारी बीबीसीले प्राप्त गरेको छ।

उद्धार गरिएका १२७ जनामध्ये एकजना महिला भएको बुझिएको छ।

परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा झन्डै १,४०० नेपाली रहेको आफूसँग जानकारी रहे पनि स्पष्ट सङ्ख्या थाहा नभएको बताउँदै आएको छ।

परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा कार्यरत नेपालीहरूको विवरण सङ्कलनको काम अघि बढाएको जनाएको छ।

मन्त्रालयका अनुसार अफगानिस्तानमा रहेका नेपाली नागरिकहरूको विवरण सङ्कलन गर्न कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ मा व्यवस्था गरिएको छ।

मन्त्रालयले उद्धारसँग सम्बन्धित सम्पर्कको लागि भाइबर र ह्वाट्सएपबाट पनि सुविधा दिने बताएको छ।

त्यस्तो सेवा लिनका लागि कन्सुलर सेवा विभागको मोबाइल नम्बर +977-9749326458 र +977-9749326459 को व्यवस्था गरिएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, तालिबान फर्किएपछि अफगान दोभासेहरू चिन्तित
Presentational grey line

तालिबानको काबुल यात्राः यस्तो छ समयक्रम

  • एप्रिल: अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा। मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो
  • मे: तालिबानद्वारा दक्षिणी हेल्मन्द प्रान्तमा भीषण आक्रमण। अन्य प्रान्तमा पनि आक्रमणको थालनी
  • जुन: तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ। उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण
  • २१ जुलाई: एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा
  • ६ अगस्ट: लडाकु समूहद्वारा जारान्ज कब्जा, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी
  • १३ अगस्ट: दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा
  • १४ अगस्ट: उत्तरी सहर मजार-ए-शरिफमाथि तालिबानको कब्जा
  • १५ अगस्ट: युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा, राष्ट्रपति अशरफ गनी विदेश पलायन, काबुलस्थित राष्ट्रपति भवनमा तालिबान प्रवेश
अफगानिस्तान
Presentational grey line

के हो तालिबान?

अफगानिस्तानबाट सोभियत सेना फर्किएपछि सन् १९९० को दशकमा पूर्वार्धमा एउटा कट्टरपन्थी धार्मिक अभियान सुरु भयो।

अधिकांश पाश्तुन समुदायका व्यक्तिहरू संलग्न भएको तालिबान अभियानबारे सन् १९९४ मा धेरैले थाहा पाए।

साउदी अरबबाट आएको आर्थिक सहयोगमा सञ्चालित कट्टरपन्थी सुन्नी इस्लामबारे पढाइने विद्यालयहरूबाट सो अभियान सुरु भएको विश्वास धेरैको छ।

पाश्तुनहरूको बाहुल्य भएको पाकिस्तान र अफगानिस्तानका क्षेत्रहरूमा शान्ति र सुरक्षा स्थापित गर्ने वाचासहित आफ्नै इस्लामिक कानुन अर्थात् शरिया कार्यान्वयन गर्ने तालिबानको उद्देश्य थियो।

तालिबानले दुवै देशमा हत्यारा र व्यभिचारीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन थाल्यो। चोरी गरेको प्रमाणित भए अङ्गभङ्गको दण्ड दिइन्थ्यो।

तालिबानको प्रभाव भएको क्षेत्रमा पुरुषले दाह्री पाल्नै पर्ने र महिलाले पूरै शरीर छोपिनेगरी बुर्का लगाउनै पर्ने बनाइयो।

टीभी, चलचित्र र सङ्गीतमाथि प्रतिबन्ध लाग्यो। अनि १० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान दिइएन।

तालिबान

काबुलमा तालिबान शासन

दक्षिणपश्चिम अफगानिस्तानबाट सुरु भयो तालिबानले बिस्तारै आफ्नो प्रभाव विस्तार गर्‍यो।

सन् १९९५ को सेप्टेम्बर महिनामा तालिबानले इरानसँग सीमा जोडिएको हेरात प्रान्त आफ्नो नियन्त्रणमा लियो। त्यसको एक वर्षपछि देशको राजधानी काबुल तालिबानको नियन्त्रण पुग्यो।

राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर तालिबान देशको सत्तामा पुग्यो।

सन् १९९८ सम्ममा अफगानिस्तानको ९० प्रतिशत भूभागमा तालिबानको नियन्त्रणमा आइसकेको थियो।

सत्तामा पुगेको सो इस्लामिक कट्टरपन्थी समूहले सन् २००१ मा बामियानस्थित बुद्धका विशाल मूर्तिहरू भत्काइदिएको थियो।

तर न्यूयोर्कमा आक्रमण भएको एक महिनाभित्रै अक्टोबर ७, २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा सैन्य कारबाही सुरु भयो। डिसेम्बर महिनाको पहिलो हप्तामा तालिबान सत्ता धराशायी भयो।

तालिबान लडाकु

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, अफगानिस्तानमा तालिबान शक्तिमा फर्किएको छ

तालिबान अभियान सुरु गराएको आरोप पाकिस्तानलाई लाग्ने गरेको छ। तर इस्लामाबादले भने त्यसको खण्डन गर्दै आएको छ।

तालिबान सन् १९९० को दशकको मध्यदेखि सन् २००१ सम्म अफगानिस्तानको सत्तामा रह्यो।

त्यस बेला साउदी अरब, यूएई र पाकिस्तान गरेर तीन देशले मात्र उसलाई औपचारिक मान्यता दिएका थिए।

दुई देशले तालिबानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्दा पनि पाकिस्तानले भने पछिसम्म कायम राखेको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अफगानिस्तानमा चर्कंदो हिंसा