कोभिड नेपालः थप ३,२१८ जना सङ्क्रमित, थप १९ जनाको मृत्यु

तस्बिर स्रोत, Reuters
नेपालमा थप ३,२१८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र १९ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ८० हजार नाघेको छ भने मृतकको सङ्ख्या १० हजार ३८ पुगेको छ।
शनिवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १३,५७३ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
तीमध्ये ४,७०७ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।
अहिले कुल परीक्षणको २३.७ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।
मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,७२२ जना सङ्क्रमणमुक्त भएका छन्।
नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।
सङ्क्रमितमध्ये ३२,०२७ जना घरमा तथा ३,४०५ जना संस्थागत आइसोलेशनमा छन्।
अहिले ९४६ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १६९ जना भेन्टिलेटरमा छन्।
काठमाण्डूमा ५९३ जना, ललितपुरमा १८९ जना र भक्तपुरमा १२८ जना नयाँ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ।
हाल काठमाण्डू उपत्यकामा १० हजार २२६ सक्रिय सङ्क्रमित छन्।
मन्त्रालयका अनुसार देशभरिका १६ वटा जिल्लमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।
कतिले लगाए खोप?
अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको सङ्ख्या २३ लाख ६० हजारनजिक पुगेको मन्त्रालयले जनाएको छ।
नेपालमा कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र नेपाल आएका छन्।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने कोभिशील्डको र भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।
कोभिशील्डको पहिलो मात्रा लगाएका झन्डै १३,६७,००० जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन्।
मास्क अभियान शुरू
सरकारले शनिवारबाट साताव्यापी मास्क अभियान शुरू गरेको छ।
जनस्वास्थ्यका मापदण्ड पालना गर्ने विषयलाई बृहत्तर बनाउन उक्त अभियान थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पनि मास्क लगाउन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका छन्।
नेपालमा केही दिनयता सङ्क्रमितको सङ्ख्या फेरि बढ्न थालेको छ।

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?
कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -
- ११३३
- ९८५१२५५८३९
- ९८५१२५५८३७
एम्बुलेन्स सेवाको लागि -
- १०२
यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।





















