कोभिड नेपालः थप ३,१२५ जनामा सङ्क्रमण, २३ जनाको मृत्यु

Published

नेपालमा थप ३,१२५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २३ जनाको कोभिड-१९ का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सोमवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १३,८११ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ३,१९८ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

मृतकको तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका शवको सङ्ख्या समाविष्ट भएको मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ६२ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,८९८ पुगेको छ।

अहिले कुल परीक्षणको झन्डै २२.६२ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,९२५ जना सङ्क्रमणमुक्त भएका छन्।

नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले ३१,६२९ जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ।

तीमध्ये २८,४०५ जना घरमा तथा ३,२२४ जना संस्थागत आइसोलेशनमा छन्।

सङ्क्रमितमध्ये अहिले ६९० जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १७५ जना भेन्टिलेटरमा छन्।

काठमाण्डू उपत्यकाका तीन जिल्लामा पुष्टि भएका सङ्क्रमितको सङ्ख्या क्रमशः बढेर अहिले झन्डै नौ हजारको हाराहारीमा पुगेको छ।

पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा मोरङ, झापा, सुनसरी, काठमाण्डू, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नवलपरासी पूर्व, कास्की, बाग्लुङ, रूपन्देही र सुर्खेत छन्।

दुई सयभन्दा बढी सक्रिय सङ्क्रिय रहेका जिल्लामा धनकुटा, धनुषा, बारा, सप्तरी, सिरहा, नुवाकोट, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, गोरखा, स्याङ्जा, तनहुँ, पर्वत, बर्दिया, दाङ, पाल्पा, जुम्ला, कैलाली र कञ्चनपुर छन्।

अहिलेसम्म नेपालमा कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र नेपाल आएका छन्।

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने कोभिशील्डको र भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।

कोभिशील्डको पहिलो मात्रा लगाएका झन्डै १३,६७,००० जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन्।

भारतको अवस्था के छ?

भारतमा २४ घण्टाको अवधिमा ४०,१३४ नयाँ सङ्क्रमित थपिएका छन् सोमवार बिहान प्रकाशित तथ्याङ्कमा उल्लेख छ।

गत २४ घण्टामा ३६,९४६ जना निको भएको सरकारी तथ्याङ्क छ।

अहिलेसम्म चार लाख २४ हजारभन्दा धेरैले कोभिडका कारण ज्यान गुमाएका छन्।

अहिले भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४ लाख १३ हजारभन्दा केही बढी छ।

गत २४ घण्टामा १७,०६,५९८ जनाले खोप लगाएका छन्।

भारतमा हालसम्म ४७ करोड २२ लाखभन्दा धेरैले कोभिड खोप लगाएका छन्।

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।