वाली फन्क: अन्तरिक्षयात्राका लागि ६० वर्ष कुरेकी महिलाको सपना पूरा हुँदै

म्यारी वालेस फन्क

तस्बिर स्रोत, Reuters

Published

मङ्गलवार सबै कुरा योजनानुसार भयो भने म्यारी वालेस 'वाली' फन्क ८२ वर्षको उमेरमा विश्वको सबैभन्दा बढी उमेरकी अन्तरिक्षयात्री बन्नेछिन्।

उनी संसारकै सबैभन्दा धनी व्यक्ति जेफ बेजोस, उनका भाइ र १८ वर्षीय ओलिभर डामेनसँग अन्तरिक्षमा जान लागेकी छन्।

विमानचालिका फन्कका लागि ब्लू ओरिजिनको यो उडान उनको जीवनभरिको कामको उपलब्धि हुनेछ जसका लागि उनले छ दशक कुरिन्।

अग्रणी

"जब मैले उड्न सुरु गरेँ म माथि स्वर्गमा हुन चाहन्थेँ," उनले दुई वर्षअघि बीबीसीलाई भनेकी थिइन्।

उनी जहिले पनि केही नयाँ गर्न चाहन्थिन् र उनले धेरै पटक इतिहास बनाएकी छन्।

मर्करी १३ भनिने समूहमा १३ महिलाले कडा तालिम गरेका थिए

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मर्करी १३ भनिने समूहमा १३ महिलाले कडा तालिम गरेका थिए

अमेरिकामा फन्क न्याश्नल ट्रान्सपोर्ट सेफ्टी बोर्डकी प्रथम महिला वायु सुरक्षा अनुसन्धानकर्ता र फेडरल एभिएशन एड्मिनिस्ट्रेशनकी प्रथम महिला निरीक्षक हुन्।

उनले १९,६०० घण्टा विमान उडाएकी छन् र ३,००० जनालाई विमानचालकको तालिम दिएकी छन्।

उनको अर्को इतिहास राख्नुअघि दुईदिने प्रशिक्षण लिनुपर्नेछ। तर फन्कका लागि त्यो नौलो हुनेछैन।

सन् १९६० को दशकमा अन्तरिक्ष कार्यक्रम भर्खरै सुरु हुँदा २० वर्षीया फन्कले मर्करी १३ भनिने समूहमा १२ अन्य महिलासँग कडा तालिम गरेकी थिइन्।

उनीहरूले त्यस बेलाका पुरुष अन्तरिक्षयात्रीले जत्तिकै तालिम गरेका थिए।

म्यारी वालेस फन्क

तस्बिर स्रोत, Getty Images

"प्रत्येक परीक्षण गजबको थियो। मलाई मेचमा बाँध्थे र कानमा चिसो पानीको सुई हालिदिन्थे। त्यसो गर्दा तपाईँ पागलजस्तो हुनुहुन्छ - आफैँलाई नियन्त्रण गर्न सकिन्न। त्यसपछि उनीहरूले अर्को कोठामा एक घण्टा राख्थे र अर्को कानमा पनि त्यस्तै गर्थे," उनले बीबीसीलाई भनेकी थिइन्।

उनीहरूलाई विकिरणयुक्त पानी खान दिइन्थ्यो र कुनै पनि इन्द्रियले काम नगर्ने ट्याङ्कीमा राखिन्थ्यो।

"त्यहाँ १२५ जना पुरुष थिए र सात जना मात्रै उत्तीर्ण भए। २५ जना महिला थिए, १२ जना मात्रै उत्तीर्ण भयौँ," उनले भनिन्।

"मैले त्यो सबै दुःख भोगेँ किनभने त्यसले मलाई अन्तरिक्षमा पुर्‍याउने थियो। त्यहाँ म जान चाहन्थेँ।"

निराशा

तर फन्कको पहिलो महिला अन्तरिक्षयात्री बन्ने सपना त्यतिखेर चकनाचुर भयो जब नासाले इन्जिनियरिङ पढेर उच्च गतिका विमान चलाउनेलाई मात्रै अन्तरिक्षमा पठाउने निर्णय गर्‍यो।

त्यो बेला महिलाहरूलाई सैन्य विमान चलाउने अनुमति थिएन।

फन्क

तस्बिर स्रोत, Wally Funk via Blue Origin

तस्बिरको क्याप्शन, फन्क अमेरिकी सेनाको प्रथम महिला विमानचालक प्रशिक्षक हुन्

तर फन्कले हार मानिनन्।

उनले चार पटक नासामा निवेदन दिइन् र चारै पटक इन्जिनियरिङ पढेको हुनाले अस्वीकृत भइन्।

"सन् १९८३ मा स्याली राइड अन्तरिक्षमा जाने पहिलो अमेरिकी महिला हुँदा मलाई खुसी लाग्यो। उनले मलाई फोन गरेर मेरो परीक्षणका लागि धन्यवाद भनिन्। उनीहरूले त्यस्तो परीक्षण गर्नुपरेन।"

पुरस्कारमा दृष्टि

फन्क नासासँग जान नपाउँदा दुःखी भए पनि नमिठो नलागेको बताउँछिन्। उनले आफ्नो लक्ष्य त्यागिनन्।

सन् १९९० को दशकमा उनले अमेरिकामा पहिलो अन्तरिक्ष पर्यटक बन्ने इच्छा सार्वजनिक गरिन्। तर सन् २००५ मा उनले सोचेजस्तो अन्तरिक्षयात्रा गर्न पाइनन्।

सन् २०१० मा उनले रिचर्ड ब्रान्सनको भर्जिन गल्याक्टिक कार्यक्रमका लागि दुई लाख अमेरिकी डलरको टिकट किनिन्। भर्जिन गल्याक्टिकले यही महिना पहिलो उडान गर्‍यो।

फन्क

तस्बिर स्रोत, Getty Images

फन्क त्यो उडानमा थिइनन् तर अब बेजोसको कम्पनीमार्फत् सम्मानित पाहुनाका रूपमा अन्तरिक्षमा जानेछिन्।

भर्जिन गल्याकक्टिक जस्तै ब्लू ओरिजिन रकेटले पनि यात्रुलाई अन्तरिक्षको प्राम्भिक बिन्दुसम्म लग्नेछ र फिर्ता ल्याउनेछ। यसको अर्थ उनीहरूले अन्य अन्तरिक्षयात्रीसरह पृथ्वी घुम्ने मौका पाउनेछैनन्।

टेक्ससबाट उडान गर्ने न्यू शेफर्ड चार प्रतिघण्टा ३,००० किलोमिटरभन्दा बढीको गतिमा उड्नेछ र पृथ्वीबाट १०० किलोमिटरमाथि पुगेर चार मिनेटका लागि भारहीन महसुस गराउनेछ।

त्यसपछि त्यो विमान पृथ्वीमा फर्कनेछ। यो पूरै यात्रा लगभग १० मिनेटको हुनेछ।

धेरै पटक मौका गुमाएपछि फन्क अन्ततः अन्तरिक्षयात्री हुने देखिएको छ।

कसैले पनि यो भन्दा लामो कुरेको छैन, बेजोसले फन्कलाई भनेका छन्

तस्बिर स्रोत, Blue Origin

तस्बिरको क्याप्शन, 'कसैले पनि योभन्दा लामो कुरेको छैन,' बेजोसले फन्कलाई भनेका छन्

जेफ बेजोसले हालेको एउटा भिडिओमा उनले फन्कलाई यात्राको बारेमा बुझाइरहेको देखिन्छ।

भिडिओमा बेजोसले अवतरण गरेपछि फन्कले के भन्लिन् भनेर सोधेका छन्।

"म भन्नेछु 'प्रिय, यो मेरो जीवनमा भएको सबैभन्दा राम्रो कुरा हो," फन्कले भनेकी छिन्।

"मलाई कुर्न गाह्रो भइरहेको छ। तपाईँ को हुनुहुन्छ भन्ने कुराले महत्त्व राख्दैन। तपाईँ चाहनुहुन्छ भने गर्न सक्नुहुन्छ। मलाई पहिले कसैले नगरेका कुराहरू गर्न मन लाग्छ।"

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, यूएफओ: 'उडनतस्तरीको विज्ञान हामी बुझ्दैनौँ'