तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपाल: थप १,८३१ जनामा कोरोना भाइरस सङ्क्रमण, 'जोखिम कायमै'
नेपालमा थप १,८३१ जनामा कोरोनाभाइरस सङ्क्रमण र २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जनाएको छ।
पछिल्लो २४ घण्टामा ९,२१८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।
तीमध्ये ३,६८३ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।
कुल परीक्षणको झण्डै १९.८६ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रालयको विवरण छ।
सो अवधिमा १,५३३ जना सङ्क्रमणमुक्त भएपछि निको भएका छन्।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै छ लाख ९९ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,३८२ पुगेको छ।
अहिलेसम्म भएका मृत्युमा सबैभन्दा धेरै ६० वर्ष माथिका ५,०३२ जना र सबैभन्दा कम ९ वर्षमुनिका ४१ जना छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेल भन्छन्, "अझै पाँच जनाको परीक्षण हुँदा १ जनामा सङ्क्रमण देखिएको छ...जोखिम कायमै छ।"
अहिले कुल २६,१७३ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २,७०२ जना संस्थागत आइसोलेशनमा रहेका छन्।
अहिले देशभरिका नौ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने २५ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।
आइतवार पुष्टि भएका कुल सङ्क्रमितमध्ये ३९१ जना काठमाण्डू उपत्यकामा रहेका छन्।
सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।
मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ५९३ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १७५ जना भेन्टिलेटरमा छन्।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर
कतिले लगाए खोप?
स्वास्थ्य मन्त्रालयको विवरण अनुसार नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको सङ्ख्या आइतवारसम्म १० लाख १७ हजार ५९६ पुगेको छ।
अहिलेसम्म नेपालमा कोभिशील्ड र भेरोसेल खोप मात्र वितरणमा आएका छन्।
कोभिशिल्डको पहिलो मात्रा लगाएका झण्डै १३ लाख ६७ हजारले दोस्रो मात्रा लगाउन पाएका छैनन्।
स्वास्थ्य प्रवक्ता डा पौडेल थप्छन्, "थप खोप आइरहंदा सुरुमा ६० देखि ६५ वर्षबिचका सबैलाई खोप दिएपछि ५५ वर्ष माथिकालाई दिइनेछ।"
त्यसपछि क्रमश: अन्य उमेर समूह र जोखिम समूहमा खोप वितरण गरिने उनले बताए।
शुक्रवार नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले 'आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी' कोभिड-१९ को खोप नि:शुल्क उपलब्ध गराउन लागेको बताएका थिए।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारले जोनसन एन्ड जोनसन कम्पनीको उक्त खोप सोमवार नेपाल आइपुग्ने आफ्नो फेसबुकमार्फत् जानकारी दिएका छन्।
केही समयदेखि अमेरिकाले एक मात्रा लगाए पुग्ने जोनसन एन्ड जोनसन खोप नेपाललाई दिन लागेको बताइएको थियो।
चीनको सिनोफार्म कम्पनीसँग गरिएको खरिद सम्झौता अनुरूप ४० लाख मात्रा कोभिड खोपमध्ये आठ लाख मात्रा शुक्रवार नेपाल ल्याइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
भारतको अवस्था के छ?
भारतमा विगत चौबिस घण्टामा ४१ हजार ५०६ नयाँ सङ्क्रमित थपिएका छन् भने ८९५ जनाले कोभिड जोडिएका घटनामा ज्यान गुमाएका छन्।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै त्यहाँ अहिलेसम्म ३ करोड ८ लाखभन्दा धेरै सङ्क्रमित पुष्टि भएका छन्।
अहिलेसम्म ४ लाख ८ हजारभन्दा धेरैले कोभिडका कारण ज्यान गुमाएका छन्।
यतिखेर भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या झण्डै ४ लाख ५४ हजार छ।
भारतमा हालसम्म ३७ करोड ६० लाखभन्दा धेरैले कोभिड खोप लगाएका छन्।
पछिल्लो चौबिस घण्टामा मात्र त्यहाँ ३७ लाखभन्दा धेरैले कोभिड खोप लगाएका थिए।
कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?
कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -
- ११३३
- ९८५१२५५८३९
- ९८५१२५५८३७
एम्बुलेन्स सेवाको लागि -
- १०२
यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।