अमेरिकाले 'केही दिनभित्रै १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी' कोभिड खोप दिने

Published
पढ्ने समय: १ मिनेट

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभिड-१९ को खोप नि:शुल्क उपलब्ध गराउन लागेको बताएका छन्।

ट्विटमार्फत् राजदूत बेरीले नेपाल-अमेरिका साझेदारीको ७३ बर्ष लामो यात्रामा यो आफ्नो लागि अत्यन्तै खुशीको क्षण भएको पनि उल्लेख गरेका छन्।

केही समयदेखि अमेरिकाले एक मात्रा लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोप नेपाललाई दिन लागेको बताइएको थियो।

तर अमेरिकाले उपलब्ध गराउने खोपको परिमाण हालसम्म खुलाइएको थिएन।

दुई साताअघि सरकारले गठन गरेको विज्ञ समितिका संयोजकले नेपालले कम्तीमा ६ लाख जोनसन एन्ड जोनसनको खोप प्राप्त गर्न लागेको बीबीसीलाई बताएका थिए।

खोप आउने क्रम

नेपालले चीनबाट दुई हप्ताको अवधिमा "ठूलो परिमाणमा" खोप भित्र्याउने क्रममा शुक्रवार पहिलो खेप खोप ल्याएको छ।

चीनको सिनोफार्म कम्पनीसँग गरिएको खरिद सम्झौता अनुरूप ४० लाख मात्रा कोभिड खोपमध्ये आठ लाख मात्रा आज ल्याइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विवरण अनुसार अहिलेसम्म नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको सङ्ख्या शुक्रवारसम्म नौ लाख ६४ हजार ५०८ पुगेको छ।

नेपालमा कोभिशिल्ड र भेरोसेल खोप मात्र वितरणमा आएका छन्।

कोभिशिल्डको पहिलो मात्रा लगाएका झण्डै १३ लाख ६७ हजारले दोस्रो मात्रा लगाउन पाएका छैनन्।