कोभिड नेपाल: थप १,६०३ जना कोरोनाभाइरस सङ्क्रमित, कर्णालीमा सङ्क्रमण दर सबैभन्दा उच्च

तस्बिर स्रोत, EPA
नेपालमा गत २४ घण्टामा थप १ हजार ६ सय ३ जना कोरोनाभाइरस सङ्क्रमित थपिएका छन्।
उक्त अवधिमा कोभिडका कारण ज्यान गुमाउनेको सङ्ख्या २७ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
पीसीआर र एन्टिजन गरी कुल ८ हजार १ सय ३२ जनाको परीक्षण गरिँदा १ हजार ६ सय ३ जनामा सङ्क्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए।
गएको २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ८ सय ७६ र एन्टिजन विधिबाट ३ हजार २ सय ५६ परिक्षण भएको थियो।
पीसीआरबाट १ हजार ४२ जना र एन्टिजनबाट ५ सय ६१ जनामा सङ्क्रमण देखिएको हो।
पीसीआर परीक्षण गरिएकामध्ये देशभरि गरेर २१.४ प्रतिशतमा सङ्क्रमण देखिएको छ।
सङ्क्रमित धेरै रहेका जिल्ला
९ वटा जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी रहेको छ।
त्यसमा काठमाण्डू, कास्की, चितवन, रुपन्देही, झापा, मोरङ, सुनसरीलगायतका जिल्ला रहेका छन्।
अन्य कैयौँ जिल्लामा अहिले पनि २ सयभन्दा माथि सङ्क्रमित रहेका छन्।
सङ्क्रमित शून्य हुने जिल्ला एउटा पनि छैन।
पौडेलका अनुसार अहिले मृत्युदर प्रति १० लाख जनसङ्ख्यामा ३११.१ रहेको छ।
हाल कर्णाली प्रदेशमा सबैभन्दा बढी सङ्क्रमण देखिएको पौडेलले जानकारी दिए।
त्यहाँ पीसीआर परीक्षण गरिएकामध्ये ४० प्रतिशतमा सङ्क्रमण देखिएको छ।
यद्यपि त्यहाँ परीक्षण एकदमै न्यून रहेको पौडेलले जानकारी दिए।
उनले भने, "...कर्णाली प्रदेशमा उच्च छ। जम्मा २७ जनाको आरटी पीसीआर भएको रिपोर्ट प्राप्त छ, त्यसमध्ये ११ जना पोजेटिभ हुनुहुन्छ, ४०.७ प्रतिशत हुन्छ।"


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर


उपत्यकामा सङ्क्रमित
गएको २४ घण्टामा काठमाण्डू उपत्यकाभित्र ४ सय ६१ जना सङ्क्रमित पाइएका छन्।
त्यसमध्ये काठमाण्डू जिल्लामा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना नयाँ सङ्क्रमित भेटिएका हुन्।
उपत्यकामा अहिले ७ हजार ८ सय ८९ जना सङ्क्रिय सङ्क्रमित रहेका छन्।
कोरोनाभाइरस सङ्क्रमण कम हुँदै गएको भनी काठमाण्डू उपत्यकाभित्र लगाइएको निषेधाज्ञा निकै खुकुलो पारिएका बेला सक्रिय सङ्क्रमितको सङ्ख्यामा भने उल्लेख्य कमी आउन नसकेको सरकारी विवरणले देखाएको छ।
गत हप्तादेखि उपत्यकाको निषेधाज्ञालाई निकै खुकुलो पारिएको थियो।
तर उपत्यकाभित्र सक्रिय सङ्क्रमितको सङख्यामा भने खासै धेरै कमी नआएको स्वास्थ्य तथा जनसङ्ख्याको विवरणमा देखिन्छ।
यद्यपि त्यो सङ्ख्या घट्दो क्रममा रहेको छ।
सक्रिय सङ्क्रमित
हाल देशभरि गरेर कुल २६ हजार १ सय ८९ जना सक्रिय सङ्क्रमित रहेका छन्।
त्यसमध्ये २३ हजार २ सय २८ जना घरमै बसेर उपचाररत र २ हजार ९ सय ५१ जना संस्थागत स्वास्थ्य केन्द्रमा उपचाररत छन्।
सङ्क्रमितमध्ये करिब ४० प्रतिशत महिला छन् भने करिब ६० प्रतिशत पुरुष रहेका छन्।
र पछिल्लो समय सबभन्दा बढी सङ्क्रमित हुने उमेर समूह २० देखि ४० को रहेको छ।
गम्भीर बिरामी भएर सघन उपचार कक्षमा उपचार गराइरहेकाहरूको सङ्ख्या ६०८ रहेको छ भने भेन्टिलेटरमा १८१ जना रहेका छन्।

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?
कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -
- ११३३
- ९८५१२५५८३९
- ९८५१२५५८३७
एम्बुलेन्स सेवाको लागि -
- १०२
यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।




















