कोभिड नेपाल: थप २,३२८ कोरोनाभाइरस सङ्क्रमित, उपत्यकामा निषेधाज्ञा खुकुलो भएपछि अवस्था के छ?

लमजुङमा कोभिड बिरामीसँग स्वास्थ्यकर्मीहरू

तस्बिर स्रोत, RSS

Published

नेपालमा गत २४ घण्टामा थप २,३२८ जना कोरोनाभाइरस सङ्क्रमित थपिएका छन्।

उक्त अवधिमा कोभिडका कारण ज्यान गुमाउनेको सङ्ख्या १९ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पीसीआर र एन्टिजन गरी कुल १०,१३३ जनाको परीक्षण गरिँदा २,३२८ जनामा सङ्क्रमण भेटिएको हो।

त्यसको अर्थ कुल परीक्षणको २३ प्रतिशतमा सङ्क्रमण देखिएको छ।

पछिल्ला दिनमा सङ्क्रमण दर २० प्रतिशतभन्दा माथि देखिएको छ।

मङ्गलवार सङ्क्रमण दर २२ प्रतिशत, बुधवार २५ प्रतिशत, बिहीवार २५.१२ प्रतिशत र शुक्रवार करिब २२ प्रतिशत रहेको थियो।

गएको २४ घण्टामा पीसीआर विधिबाट ५,८३७ र एन्टिजन विधिबाट ४,२९६ परिक्षण भएको थियो।

पीसीआरबाट १,५२७ जना र एन्टिजनबाट ८०१ जनामा सङ्क्रमण देखिएको हो।

कुल सङ्क्रमितको सङ्ख्या मङ्गलवार २,६३६, बुधवार २,८९२, बिहीवार २,७६० र शुक्रवार २,२९९ रहेको थियो।

उपत्यकामा सक्रिय सङ्क्रमित

कोरोनाभाइरस सङ्क्रमण कम हुँदै गएको भनी काठमाण्डू उपत्यकाभित्र लगाइएको निषेधाज्ञा निकै खुकुलो पारिएका बेला सक्रिय सङ्क्रमितको सङ्ख्यामा भने उल्लेख्य कमी आउन नसकेको सरकारी विवरणले देखाएको छ।

गत हप्तादेखि उपत्यकाको निषेधाज्ञालाई निकै खुकुलो पारिएको थियो।

गत मङ्गलवारदेखि त निषेधाज्ञा त्यसभन्दा पनि अझ खुकुलो भएको छ।

विगत १२ दिनमा उपत्यकामा सक्रिय सङ्क्रमित. .  .

तर उपत्यकाभित्र सङ्क्रिय सङ्क्रमितको सङख्यामा भने खासै धेरै कमी नआएको स्वास्थ्य तथा जनसङ्ख्याको विवरणमा देखिन्छ।

यद्यपि त्यो सङ्ख्या घट्दो क्रममा रहेको छ।

काठमाण्डू, ललितपुर र भक्तपुर तीन जिल्लामा गरी शनिवार कुल सक्रिय सङ्क्रमितको सङ्ख्या ७,९५५ रहेको छ।

विज्ञ के भन्छन्?

उपत्यकामा जोरबिजोर प्रणालीमा निजी सवारीसाधन चलाउन दिन सुरु गरिएको अघिल्लो दिन १० हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका थिए।

त्यसमा क्रमश: कमी आउँदै गएको सरकारी विवरण देखाएको छ।

कोभिड बिरामी

तस्बिर स्रोत, EPA

तर उपत्यकाभित्र अहिले चहलपहल धेरै हुन थालेको र स्वास्थ्य सावधानी अपनाउने क्रममा कमी देखिएकाले त्यसले पुन: सङ्क्रमण बढ्नसक्ने चिन्ता जनस्वास्थ्यविद्हरूको छ।

एकजना जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी भन्छन्, "काठमाण्डूमा सबैतिरका मानिसको ओहोरदोहोर भइरहेको छ। यहाँ पनि भिडभाड बढेकाले सङ्क्रमण भइ रहेको छ।"

उनी पछिल्ला दिनमा कन्ट्याक ट्रेसिङ पनि हुन छाडेकाले ८ हजारको हाराहारीमा सक्रिय सङ्क्रमित रहेको काठमाण्डू उपत्यकासहित देशैभरि विशेष सावधानी अपनाउनु आवश्यक रहेको बताउँछन्।

अन्य विवरण

नेपालमा हाल कुल सङ्क्रमितको सङ्ख्या ६ लाख ८१ हजारभन्दा बढी पुगेको छ। त्यसैगरी कुल मृत्यु हुने सङ्ख्या ९ हजार १ सय ९८ पुगिसकेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा निको हुने दर ९४ प्रतिशत छ भने मृत्युदर १.५ प्रतिशत रहेको छ।

त्यसैगरी सङ्क्रमितमध्ये करिब ४० प्रतिशत महिला छन् भने करिब ६० प्रतिशत पुरुष रहेका छन्।

र पछिल्लो समय सबभन्दा बढी सङ्क्रमित हुने उमेर समूह २० देखि ४० को रहेको छ।

गम्भीर बिरामी भएर सघन उपचार कक्षमा उपचार गराइरहेकाहरूको सङ्ख्या ६२७ रहेको छ भने भेन्टिलेटरमा १८१ जना रहेका छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।