कोभिड बाङ्लादेश: कडा लकडाउन अगाडि ठूलो भिड राजधानी ढाकाबाट बाहिरिँदै

तस्बिर स्रोत, Getty Images
बाङ्लादेशमा राष्ट्रव्यापी कडा लकडाउन सुरु हुनै लागेका बेला राजधानी ढाकाबाट बाहिरिन विभिन्न टर्मिनलहरूमा मानिसहरूको ठूलो भिड जम्मा भएको छ।
सोमवारदेखि सात दिनसम्म बाङ्लादेशमा आपत् नपरेसम्म कसैलाई पनि घर छोड्ने अनुमति नदिइने बताइएको छ।
त्यसैकारण मानिसहरू व्यस्त ढाका शहर छोडेर विभिन्न अन्य शहर र गाउँमा रहेका आफ्ना घर जान हतार गरिरहेका छन्।
अहिले बाङ्लादेशमा कोभिड हुनेको सङ्ख्या बढेको छ र धेरै जनामा भारतमा पहिलोपटक देखा परेको डेल्टा भेरिअन्ट भएको बताइएको छ।
अवस्था
बाङ्लादेशमा पछिल्लो लहर करिब छ हप्ता अगाडि सुरु भएको हो।
१५ मे मा त्यहाँ २६१ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको थियो र २२ जनाको मृत्यु भएको थियो।
शुक्रवार त्यहाँ ५,८६९ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने १०८ जनाको मृत्यु भएको थियो।
शुक्रवारको तथ्याङ्क कोरोनाभाइरस महामारी सुरु भए यताकै बाङ्लादेशको दोस्रो उच्च मृत्यु सङ्ख्या हो।

तस्बिर स्रोत, Getty Images
धेरै अस्पतालमा बिरामीहरू भरिभराउ छन् र खासगरी भारतसँग सीमा जोडिएका अस्पतालहरूमा झन् बढी समस्या भएको छ।
के उपाय चालिएको छ?
सङ्क्रमण सङ्ख्या तीव्र रूपमा बढेपछि रेल र बस सेवाहरू यस अघि नै बन्द गरिएका छन्।
आपत्कालीन सेवा मात्र चालु छन्।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर

शहर छोड्ने आशामा रहेका मानिसहरू यातायात बन्द रहेका कारण या पैदल यात्रामा छन् वा निजी सवारी साधन भाडामा लिएका छन्।
बाङ्लादेशको प्रेस सूचना विभागले जारी गरेको विज्ञप्ति अनुसार सरकारी, अर्ध सरकारी र निजी कार्यालयहरू सबै बन्द गरिनेछन्।
प्रभाव
बीबीसीकी दक्षिण एशिया सम्पादक जील मक्गिभरिङका अनुसार कडा लकडाउनले न्यून आय भएका श्रमिक र दैनिक ज्यालादारी गर्ने श्रमिकहरू सबैभन्दा बढी प्रभावित हुनेछन्।
स्वास्थ्य विभाग प्रवक्ता रोबेड अमिनले एएफपी समाचार संस्थालाई बताए अनुसार मानिसहरूलाई घर छोड्नबाट रोक्न प्रहरी र सीमा सुरक्षाकर्मीहरू तैनाथ गरिनेछ।
उनले आवश्यक परे सेना पनि परिचालन गरिने बताए।
"असाध्यै खतरनाक र भयानक स्थिति पैदा भएको छ,"उनले भने।
"यदि अहिले नै यसलाई ठेगान लगाएनौँ भने हामीले भारतको जस्तै स्थिति भोग्नुपर्ने हुन्छ।"
कोभिड सङ्क्रमणको दोस्रो लहरले गत एप्रिल महिनामा भारतमा ठूलो सङ्कट उत्पन्न भएको थियो।
भारतमा अहिले क्रमशः साम्य हुँदै गएका र व्यवसाय क्रमशः खुल्न लागे पनि विज्ञहरूले तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन्।





















