नेपाल कोभिड: निजी क्षेत्रलाई कोरोनाभाइरस विरूद्धको खोप भित्र्याउन कस्ता अप्ठेरा छन्

चिनियाँ खोप

तस्बिर स्रोत, Reuters

Published

औषधि व्यवस्था विभागका अनुसार हालसम्म भारतमा उत्पादन भइरहेका कोभ्याक्सिन र कोभिशील्ड खोप अनि रुसमा विकास गरिएको स्पुत्निक भी खोप आयातका लागि निजी क्षेत्रलाई सिफारिस पत्र प्रदान गरिएको छ।

गएको चैत १ गते सरकारले कोभिड-१९ खोपको उद्योगले निर्धारण गरेको मूल्य, ढुवानी, भण्डारण, कर र सेवा शुल्क समेत विश्लेषण गरी मुनाफा १० प्रतिशत कायम हुने गरी खोप आपूर्तिका लागि आवेदन दिन सूचना प्रकाशित गरेको थियो।

कुनै पनि कम्पनीबाट प्रक्रिया पुर्‍याएर निवेदन नपरेको भन्दै त्यसबेला आपूर्तिको सिफारिस प्राप्त गर्ने म्याद थपिएको थियो।

महामारी सुरु भए यता सरकार आफैले खोप किन्ने प्रयास अघि बढाइरहेको छ तर पछिल्ला दिनमा कतिपय स्थानीय सरकारहरूले केन्द्र सरकारलाई आफूलाई खोप खरिदको अनुमति दिन पत्राचार गरिरहेका छन्।

कानुनी बाधा छैन

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार तीनवटा कम्पनीसँग खोप ल्याउन पाउने आधिकारिक हैसियत देखिए पनि आयातमा खासै प्रगति भएको देखिँदैन।

खोपले अग्रपङ्तिमा खटिएकाहरूलाई निकै हदसम्म जोगाइरहेको ठानिएको छ

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, खोपले अग्रपङ्तिमा खटिएकाहरूलाई निकै हदसम्म जोगाइरहेको ठानिएको छ

उनले भने, "हामीले पहिले नै आधिकारिक आयातकर्ताहरूलाई अनुमति दिएको हो। उहाँहरूले लिएर आउने हो त्यसमा खासै प्रगति भएको जस्तो देखिँदैन।"

उनका अनुसार कोभिशील्ड खोपका लागि हुकुम डिस्ट्रिब्युटर एन्ड लजिस्टिक्सले अनुमति पाएको छ भने कोभ्याक्सिनको लागि इमराल्ड फर्माले अनुमति पाएको छ। रुसको स्पुत्निक भी खोपको आयातकर्ताको आधिकारिक हैसियत लोमस फर्मा डिस्ट्रिब्युटरले पाएको छ।

उनले निजी क्षेत्रलाई खोप पैठारी गर्न कानुनी बाधा नरहेको उल्लेख गर्दै आफूहरूले खोपको प्रभावकारिता, आपूर्तिकर्ताको आयात गरिने खोपको तापक्रम व्यवस्थापन सहितका विभिन्न सर्तहरू पूरा गर्ने सामर्थ्य सहितका आधारमा सिफारिस गरिएको बताए।

भारतले आफ्नो देशमा उत्पादन भएका खोपहरू अरू देशमा आपूर्ति गर्नबाट रोकिरहेका विवरण आएका छन्।

त्यसका कारण नेपाल सरकार स्वयं संलग्न भएर गरिएको १० लाख कोभिशील्ड खोपको आपूर्ति सम्बन्धी सम्झौताको कार्यान्वयन अवरुद्ध भएको छ।

व्यवसायी के भन्छन्?

अनुमतिप्राप्त गरेको मध्ये एउटा आयातकर्ता कम्पनीका प्रतिनिधिले आफूहरू उत्पादक देशको सरकारी निकायसँग निरन्तर सम्पर्कमा रहे पनि केही टुङ्गो नलागेको बताए।

उनी भन्छन्, "खोप खरिद गर्ने विषय संवेदनशील विषय हो र यसमा गम्भीर प्रयास चाहिन्छ। दुई पक्षीय सम्बन्ध र सरकार-सरकारको तहमा पनि कुराकानी गर्नुपर्ने हुन्छ। खोप जहाँबाट भित्र्याउने हो त्यहाँको सरकार पनि कुनै हिसाबले जोडिन्छ। सानो प्रयासले मात्रै पुग्दैन।"

नेपाल औषधि व्यवसायी सङ्घका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठ निजी क्षेत्रले तत्कालै खोप मुलुकमा भित्र्याउन सक्ने सम्भावना आफूले नदेखेको बताउँछन्।

भारतले नेपाललाई दिएको खोप

तस्बिर स्रोत, Reuters

उनले भने, "सरकारले अर्को देशको सरकारसँग खरिद गर्छु भन्दा त यहाँ ल्याउन सक्ने अवस्था छैन। औषधि व्यवस्था विभागबाट निजी क्षेत्रले सिफारिस पत्र लिइरहेका छौँ तर तुरुन्तै ल्याउन सकिने सम्भावना छैन।"

भारतले आपूर्ति बन्द गरेकाले त्यहाँको खोप भित्रिने सम्भावना नरहेको भन्दै उनले नेपाली निजी क्षेत्र रुसी र चिनियाँ खोप ल्याउन सकिन्छ कि भन्ने प्रयासमा रहेको बताए।

श्रेष्ठ थप्छन्, "त्यो पनि दुवै सरकारी कम्पनीहरू भएको हुनाले उहाँहरूले हामी सोध्छौँ र तपाईँहरूलाई जवाफ दिन्छौँ भनिरहनुभएको छ। तर जति प्रगति हुनुपर्ने हो त्यति भएको छैन।"

उनले निजी क्षेत्रलाई खोप आयातमा संलग्न गराउन दुवै पक्षका परराष्ट्र मन्त्रालयहरूको गम्भीर प्रयास चाहिने उल्लेख गर्दै त्यसले अहिलेका प्रयासहरूको सफलता निर्धारण गर्ने उल्लेख गरे।

नेपालले सञ्चालन गरिरहेको कोभिड १९ विरुद्धको खोप अभियान हालसम्म मूल रूपमा छिमेकी भारत र चीनले अनुदानमा उपलब्ध गराएका खोपका आधारमा सञ्चालन भइरहेको छ।

त्यसबाहेक भारतसँग खरिद गरिएको २० लाखमध्ये १० लाख खोप आपूर्ति हुन नसक्दा पहिलो मात्रा खोप लिइसकेका ज्येष्ठ नागरिक र दीर्घ रोगी दोस्रो खोपबाट वञ्चित भइरहेका छन्।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर