तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपाल: नेपालमा थप १०१ जनाको मृत्यु, ६६ सय सङ्क्रमित
नेपालमा विगत २४ घण्टामा ६,६५३ जना कोभिड बिरामी थपिएका छन्।
त्यस्तै सो अवधिमा थप १०१ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार जनाएको छ।
कुल २०,८१३ नमुना परीक्षण गर्दा सो सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो। तीमध्ये ६,६३१ एन्टिजन परीक्षण हो जसबाट २,०२९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।
थप ८,६६३ जना भने सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
सो अवधिमा परीक्षण गरिएकामध्ये ३२ प्रतिशतमा सङ्क्रमण देखिएको छ।
नेपालमा कुल सङ्क्रमित सङ्ख्या पाँच लाख ८१ हजारभन्दा बढी पुगेको छ जसमध्ये अहिले ९७ हजार छ सय ९९ जनामा सक्रिय सङ्क्रमित छन्। कुल सङ्क्रमितमध्ये ३९ प्रतिशत महिला हुन्।
कुल सङ्क्रमितमध्ये ८२ प्रतिशत निको भएका छन् भने १.३३ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ। बाँकी सक्रिय सङ्क्रमित छन्।
अहिलेसम्म कुल ७,७३१ जनाको मृत्यु भइसकेको छ।
शुक्रवार सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै काठमाण्डू जिल्लाका छन्।
राजधानीका ८९७ जनासहित भक्तपुरका १८८ जना र ललितपुरका २९९ जना गरी काठमाण्डू उपत्यकामा थप १,३८४ जना सङ्क्रमित थपिएका छन्।
नेपालका ७७ मध्ये ४७ जिल्लामा अहिले ५०० भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् भने थप १३ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।
सक्रिय सङ्क्रमितमध्ये ६,८०७ जना संस्थागत आइसोलेशनमा छन्। तीमध्ये १,४२२ आईसीयूमा र ४०४ जना भेन्टिलेटरमा रहेका छन्।
बालबालिकालाई शय्या तयार राख्न निर्देशन
स्वास्थ्य मन्त्रालयले कोभिडको तेस्रो तथा चौथो लहर आउन सक्ने र त्यसले बालबालिकालाई बढी मात्रामा सङ्क्रमित पार्न सक्ने बताउँदै सबै अस्पताल र स्वास्थ्य संस्थाहरूलाई कम्तीमा २० प्रतिशत शय्या कोभिड सङ्क्रमित बालबालिकाका लागि तयार राख्न निर्देशन दिएको छ।
शुक्रवार जारी पत्रमा वैकल्पिक अक्सिजनको व्यवस्थापन गर्न समेत अनुरोध गरिएको छ।
मन्त्रालयले सबै सरकारी, निजी, सहकारी र सामुदायिक स्वास्थ्य संस्थाहरूलाई यस्तो अनुरोध गरेको हो।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर
के छ छिमेकी भारतको अवस्था?
शुक्रवार बिहान प्रकाशित विवरणअनुसार नेपालसँग सीमा जोडिएको देश भारतमा विगत २४ घण्टामा थप कुल १,३२,००० जनामा कोरोनाभाइरस सङ्क्रमण देखा परेको छ।
त्यस अवधिमा २,७१३ जनाको कोभिडका कारण निधन भएको बीबीसी हिन्दीले जनाएको छ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा २,०,७००० जना बिरामी निको भएका छन्।
चौबीस घण्टाको अवधिमा त्यहाँ कुल २०.७७ लाखभन्दा केही बढी नमुनाको परीक्षण गरिएको थियो।
शुक्रवार बिहानसम्म भारतमा २.८६ करोड भन्दा बढी मानिसलाई कोरोनाभाइरस सङ्क्रमण भइसकेको छ।
अहिले भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या झन्डै १६,३६,००० छ। भारतमा हालसम्म कोभिडका कारण ३,४०,७०२ जनाको निधन भइसकेको छ।
त्यहाँ २.६५ करोड जनाभन्दा बढी मानिस कोभिडमुक्त भएका छन्।
भारतमा हालसम्म झन्डै २.६६ करोड जनाले कोरोनाभाइरसको खोप लगाइसकेका छन्।
कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?
कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -
- ११३३
- ९८५१२५५८३९
- ९८५१२५५८३७
एम्बुलेन्स सेवाको लागि -
- १०२
यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।
यो पनि हेर्नुहोस्