तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपालः काठमाण्डू उपत्यकामा परिवर्तित निषेधाज्ञा लागु, सबै खुलेको रूपमा नलिन प्रशासनको चेतावनी
काठमाण्डू उपत्यकाका तीनवटै जिल्ला काठमाण्डू, ललितपुर र भक्तपुरमा शुक्रवार बिहानबाट परिवर्तित निषेधाज्ञा लागु भएको स्थानीय प्रशासनहरूले जनाएका छन्।
पछिल्लो पटक थपिएको निषेधाज्ञा जेठ ३१ गतेसम्म लागु रहने जिल्ला प्रशासन कार्यालयहरूद्वारा जारी सूचनामा उल्लेख छ।
बुधवार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले पहिलाभन्दा केही खुकुलो व्यवस्थासहित निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो।
कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै हाल देशका ७७ मध्ये ७५ जिल्लामा निषेधाज्ञा लागु गरिएको गृह मन्त्रालयले जनाएको छ।
किन खुकुलो पारियो?
ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार मुख्य गरी दुईवटा कारणले निषेधाज्ञा केही खुकुलो पारिएको हो।
"एक त पछिल्ला दिनमा सङ्क्रमण दर केही घटेको देखिएको छ भने सङ्क्रमितले अस्पतालमा शय्या पाउन तथा अक्सिजनको अभाव लगायतका समस्या हटेको छ," उनले भने।
बस्नेतका अनुसार विगतको तुलनामा पछिल्ला दिनहरूमा सङ्क्रमितहरूको व्यवस्थापन गर्न सकिने अवस्था सिर्जना भएको छ।
आमनागरिकको जीवनयापनमा पनि केही सहजता आओस् भनेर केही खुकुलो पारिएको उनले बताए।
"तर निषेधाज्ञा पूर्ण रूपमा हटेको र सबै कुरा खुलेको रूपमा मानिसहरूले लिनुभएन। निषेधित कामहरू गर्दा दण्ड-सजायको व्यवस्था छँदैछ," बस्नेतले सचेत गराए।
बिहीबारसम्म लागु निषेधाज्ञामा खाद्यान्न, किराना पसल तथा डिपार्टमेन्ट स्टोरहरूलाई समेत साताभरिका लागि बन्द गराइएको थियो।
गर्न पाइने कुराहरूः
- तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, किराना पसल र डिपार्टमेन्ट स्टोरहरू बिहान ९ बजेसम्म खोल्न। स्थानीय ढुवानीको हकमा राति ९ बजेदेखि बिहान ९ बजेसम्म गर्ने
- तरकारी, फलफूल, खाद्यान्न दूध तथा दूग्धजन्य पदार्थ र तिनका प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र पशुपंछीजन्य पदार्थ, खाना पकाउने ग्यास लगायतका ढुवानी तथा तिनका यातायात साधनलाई बिहान ९ बजेदेखि राति ९ बजेसम्म सञ्चालन
- एम्बुलेन्स, खानेपानी, फोहोरमैला व्यवस्थापन, इन्टरनेट, कुरियर र स्वास्थ्य सम्बद्ध सवारीसाधन सञ्चालन
- निर्माण सामग्री ढुवानीका सवारीसधान राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन
- मृत्यु संस्कारमा जिल्ला प्रशासनको अनुमतिमा आउजाउ
- आवश्यक कागजातसहित निवेदन पेस गरेर दुईजना बिरामी कुरुवा आउजाउ
- परिचयपत्र र पोशाक भएका सुरक्षा गार्डको आवतजावत
- सूचना विभागको पास भएका सञ्चारकर्मीको आउजाउ तथा नभएकाको हकमा जिल्ला प्रशासन कार्यालयको पास लिएका सञ्चारकर्मीको आवतजावत
- औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै समय निर्वाध रूपमा सञ्चालन
गर्न नपाइने कुराहरूः
- औषधि खाद्यवस्तु तथा अन्य उपभोग्य वस्तु वा सेवा खरिदको कामका साथै अत्यावश्यक सेवा लिनुपर्दा बाहेक घरबाहिर निस्कन
- सबै प्रकारका सभा, सम्मेलन, सेमिनार, मनोरञ्जन स्थल, खेलकुद लगायतका कार्यक्रम
- विवाह तथा व्रतबन्ध होटल र पार्टी प्यालेसमा गर्न
- नित्य पूजापाठबाहेक सबै धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन
- एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन
- अत्यवाश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बीमा लगायतका कार्यालय सञ्चालन
- फुटपाथ, खुला ठाउँ, ठेलागाडा वा साइकलमा हुने विभिन्न व्यापार व्यवसाय सञ्चालन एवम् कवाडी सङ्कलन गर्ने कार्य
स्थानीय प्रशासनले लागु गरेको आदेशको अवज्ञा गर्नेहरूलाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही गरिने चेतावनी दिइएको छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा
नयाँ अध्यादेशमा के छ व्यवस्था?
अध्यादेशबमोजिम कुनै काम गर्न बाधा अवरोध सिर्जना गर्न नहुने र गरेमा एक वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ।
मापदण्ड पालना नगरे छ महिनासम्म कैद वा तीन लाख रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुने अध्यादेशमा भनिएको छ।
अनुमतिविना चलाइएका सवारीसाधन सुरक्षाकर्मीले निश्चित समयका लागि नियन्त्रणमा पनि लिन सक्ने अध्यादेशमा उल्लेख छ।
जरिवानाबारे अध्यादेशमा यी व्यवस्था गरिएका छन्:
- मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रुपैयाँ,
- आवतजावतमा रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा उल्लङ्घन गर्नेलाई पटकैपिच्छे दुई सय रुपैयाँ,
- अनुमतिविना वा सुरक्षाकर्मीलाई सूचना नदिई अथवा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारीसाधन चलाएमा पटकैपिच्छे दुई पाङ्ग्रे सवारी भए दुई हजार र अन्य सवारी भए पाँच हजार रुपैयाँ।
त्यसैगरी अध्यादेशविपरीत काम गर्ने संस्था वा व्यवसायलाई प्रमुख जिल्ला अधिकारीले छ महिनासम्मका लागि बन्द गर्न आदेश दिन सक्नेछन्।