काबुल आक्रमणः अफगानिस्तानमा विद्यालयनजिकै घातक विस्फोटन, कम्तीमा ३० जनाको मृत्यु

काबुल आक्रमणका घाइते

तस्बिर स्रोत, EPA

Published

अफगानिस्तानको राजधानी काबुलमा एउटा माध्यमिक विद्यालयनजिकै विस्फोटनहरू हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। उक्त घटनामा दर्जनौँ अरू घाइते भएका छन्।

विद्यालयबाट बालबालिकाहरू निस्किरहेको बेलामा शनिवार ती विस्फोटनहरू भएका थिए। सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा बाटोमा विद्यार्थीका झोलाहरू छरपस्ट देखिन्छन्।

हताहत हुनेमध्ये अधिकांश छात्रा भएको शिक्षा मन्त्रालयले जनाएको छ।

दश्त-ए-बर्चीमा भएको उक्त घटना आफूले गराएको दाबी कसैले पनि गरेको छैन। त्यो क्षेत्रमा प्रायः सुन्नी लडाकुहरूले आक्रमण गरिरहन्छन्।

तालिबानले आफ्नो संलग्नता अस्वीकार गरेको छ।

अफगान अधिकारीहरूका अनुसार विस्फोटनका लागि एउटा कार बम र मोर्टारहरू प्रयुक्त भएका थिए।

पश्चिमी काबुलको उक्त क्षेत्रमा अल्पसङ्ख्यक हजारा समुदायको बसोबास छ। हजाराहरू मङ्गोल र मध्यएशियाली मूलका हुन् र प्रायः शिया मुसलमान छन्।

काबुल आक्रमणका घाइते

तस्बिर स्रोत, EPA

गत वर्ष एउटा स्थानीय अस्पतालको प्रसूति विभागमा आक्रमण हुँदा बालबालिका, शिशु र महिलासहित कुल २४ जनाको मृत्यु भएको थियो।

शनिवारको घातक आक्रमण कसले कुन उद्देश्यले गराएको थियो भन्ने स्पष्ट छैन।

काबुलबाट प्राप्त विवरणका अनुसार ईद अल-फित्र पर्व आउन लगेकाले सहरमा किनमेल गर्नेहरूको भिड थियो।

विद्यार्थीहरू पनि विद्यालयबाट निस्किँदै थिए।

शिक्षा मन्त्रालयकी प्रवक्ता नजिबा आरियानले समाचारसंस्था रोएटर्सलाई सरकारद्वारा सञ्चालित उक्त विद्यालय केटा र केटी दुवैले पढ्न पाउँछन्।

उनले घाइतेमध्ये धेरै छात्रा भएको बताइन्।

घटनाका केही साक्षीहरूले तीनवटा विस्फोटन भएको बताएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, टीभीमा काम गर्ने भएकाले यी अफगान महिलाको हत्या

संयुक्त राज्य अमेरिकाले अफगानिस्तानबाट सेप्टेम्बर ११ भित्र आफ्नो सेना फिर्ता गर्न लागेको बेला यो घटना भएको हो।

अमेरिकी सरकारले उक्त आक्रमणलाई "बर्बर" सङ्ज्ञा दिँदै त्यसको निन्दा गरेको छ।

"हामी हिंसा तथा निर्दोष गैरसैनिक नागरिकलाई अर्थहीन रूपमा तारो बनाउने काम तत्काल रोक्न आह्वान गर्छौँ," अमेरिकाको विदेश मन्त्रायले एउटा विज्ञप्तिमा भनेको छ।

अफगानिस्तानका लागि ईयूको मिशनले ट्विटरमा भनेको छः छात्राहरू पढ्ने विद्यालयका विद्यार्थीहरूलाई निसाना बनाइएकाले यो अफगानिस्तानको भविष्यमाथिको आक्रमण हो।