कोभिड भारत: एकै दिन मृत्यु हुनेको सङ्ख्या हालसम्मकै सर्वाधिक

भारत

तस्बिर स्रोत, Reuters

Published

भारतमा पछिल्लो २४ घण्टामा चार हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमितको मृत्यु भएको छ।

यो भारतमा एक दिनको अवधिमा मृत्यु भएको सर्वाधिक सङ्ख्या हो। योसँगै भारत एकै दिन चार हजारभन्दा बढीले ज्यान गुमाउने ब्रजिल र अमेरिकापछि तेस्रो मुलुक बनेको छ।

विज्ञहरूले दैनिक रूपमा ज्यान गुमाइरहेका मानिसहरूको सङ्ख्या थप बढ्नसक्ने बताएका छन्।

भारतमा २४ घण्टाको अवधिमा चार लाखभन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् र ४,१८७ जनाको मृत्यु भएको बीबीसी न्यूज हिन्दीले जनाएको छ।

भारतमा फेब्रुअरी १४ तारिखयता कोरोनाभाइरसका कारण ८२ हजारभन्दा बढीले ज्यान गुमाएका छन्।

सरकारी तथ्याङ्कका अनुसार भारतमा हालसम्म कुल २ करोड १८ लाख ९२ हजारभन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

त्यस्तै हालसम्म २३८,२७० जनाको कोभिडका कारण मृत्यु भएको छ।

भारतमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ लाख २३ हजारभन्दा केही बढी छ।

अमेरिकी उपराष्ट्रपतिको चिन्ता

कमला ह्यारिस

तस्बिर स्रोत, Reuters

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले भारतमा कोरोनाभाइरसको बढ्दो सङ्क्रमण र मृत्यु डरलाग्दो रहेको बताएकी छन्।

समाचार संस्था पीटीआईका अनुसार ह्यारिसले अमेरिकाका लागि भारत महत्त्वपूर्ण रहेको उल्लेख गरेकी छन्।

भारतीय मूलका मानिसहरूका लागि आयोजना गरिएको कोभिड-१९ सम्बन्धी एक कार्यक्रममा प्रसारण गरिएको एउटा भिडियो सन्देशमा उनले भनिन्, "तपाईँहरूमध्ये धेरैलाई थाहा छ कि मेरो परिवारको कैयौँ पिँढी भारतका हुन्।"

"मेरी आमाको जन्म र पालनपोषण भारतमै भयो। मेरो परिवारका कैयौँ सदस्य आज पनि भारतमा छन्।"

ह्यारिसले थपिन,''भारतमा स्थिति खराब हुन सुरु हुनासाथ अमेरिकी प्रशासनले कदम चाल्यो।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, के नयाँ भेरिअन्टका कारण भारतमा कोरोनाभाइरस सङ्क्रमण ह्वात्तै बढेको हो

तर भारतमा कोरोनाभाइरसको दोस्रो लहर आएपछि जो बाइडन नेतृत्वको प्रशासनको व्यवहारको कडा आलोचना भएको थियो।

अन्य देशहरू भारतको सहयोगार्थ अघि बढ्दा अमेरिका भने कैयौँ दिनसम्म चुप लागेर बसेको भन्दै अमेरिकाको आलोचना भएको थियो।

तर अमेरिकाले हालसम्म भारतलाई १० करोड अमेरिकी डलर सहयोग गरिसकेको छ।