घरमै नजरबन्दमा राखिएका जोर्डनका राजकुमारले बीबीसीलाई पठाएको भिडिओमा यसो भने

Former Crown Prince Hamza bin Hussein
Published

जोर्डनका पूर्वयुवराजले आलोचकहरूलाई कारबाही गर्ने सिलसिलाको एउटा पाटोको रूपमा आफूलाई घरमै नजरबन्दमा राखिएको बताएका छन्।

उनका वकिलले बीबीसीलाई उपलब्ध गराएको एउटा भिडिओमा राजा अब्दुल्लाहका सौतेनी भाइ राजकुमार हम्जाह बिन हुसेनले देशका नेताहरूलाई भ्रष्ट्राचार, अक्षमता र दुर्व्यवहारको आरोप लगाएका छन्।

उनको उक्त भनाइ एउटा सत्ता पलटको आरोप लगाइएको योजनासँग जोडिएका कैयौँ उच्च तहका गिरफ्तारीपछि आएको हो।

नजरबन्दबारे के भनिएको छ?

यसअघि त्यहाँको सेनाले राजकुमार हम्जाह नजरबन्दमा रहेको विषयलाई अस्वीकार गरेको थियो।

तर उसले राजकुमारलाई देशको 'सुरक्षा र स्थिरता'लाई असर पार्ने गरी लक्षित हुनसक्ने कदमहरू रोक्न आदेश दिइएको जनाएको छ।

पछिल्ला घटनाक्रमअघि राजकुमार हम्जाहले आदिवासी समूहहरूका नेताहरूलाई भेटेका थिए जहाँ उनले केही सहयोग सुनिश्चित गरेको बताइएको छ।

राजा अब्दुल्लाहले सन् २००४ मा उनको युवराजको पदवी छिने

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, राजा अब्दुल्लाहले सन् २००४ मा उनको युवराजको पदवी छिनेका थिए

तर उनले कुनै गलत काम नगरेको र उनी कुनै षड्यन्त्रको पाटो नरहेको बताएका छन्।

यसैबीच इजिप्ट र साउदी अरब सहितका क्षेत्रीय शक्तिहरूले राजा अब्दुल्लाहको समर्थनमा बोलेका छन्।

अमेरिकाले इस्लामिक स्टेट समूह आइएससँगको लडाइमा गठबन्धन गरेको जोर्डनको राजसंस्थालाई आफ्नो एउटा मुख्य साझेदारका रूपमा व्याख्या गरेको छ।

पूर्वयुवराज को हुन् र उनले भिडिओमा के भने?

पूर्वराजा हुसेन र उनकी प्रिय रानी नूरका जेठा छोरा राजकुमार हम्जाहले यूकेको ह्यारो स्कुल र रोयल मिलिटेरी एकेडेमीबाट अध्ययन गरेका हुन्। उनले अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा पढेका थिए र जोर्डनको सेनामा समेत काम गरेका थिए।

सन् १९९९ मा उनलाई जोर्डनको युवराज घोषणा गरिएको थियो। राजा हुसेनले उनलाई बेलाबखत सार्वजनिक रूपमा 'मेरो आँखाको खुसी' भनेर व्याख्या गर्ने गर्थे।

तर राजा हुसेनको मृत्यु हुँदा उनको उत्तराधिकारी हुनका लागि हम्जाह निकै कम उमेरको र अनुभव नभएको रूपमा देखिए।

राजा अब्दुल्लाह र उनकी श्रीमती रानी रैना (दायाँतर्फ) राजकुमार हम्जाह र राजकुमारी नूरको विवाहमा सहभागी हुँदाको तस्बिर। जसमा बिचमा हम्जाहकी आमा रानी नूर छिन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, राजा अब्दुल्लाह र उनकी श्रीमती रानी रैना (दायाँतर्फ) राजकुमार हम्जाह र राजकुमारी नूरको विवाहमा सहभागी हुँदाको तस्बिर। जसमा बीचमा हम्जाहकी आमा रानी नूर छिन्

बरु त्यसबेला राजगद्दी सम्हालेका राजा अब्दुल्लाहले सन् २००४ मा उनको युवराजको पदवी छिने।

शनिवार खिचिएको उक्त भिडिओमा राजकुमार हम्जाह बिन हुसेनले भनेका छन्-

"आज बिहान मलाई जोर्डनी आर्म फोर्सेसका प्रमुखले भेटेर मलाई बाहिर जान नपाइने, मानिसहरूसँग संवाद र भेटघाट गर्न नपाइने बताउँदै म उपस्थित हुने बैठकहरू वा सामाजिक सञ्जालमा मेरा भ्रमणका खबरले सरकार वा राजाको आलोचना भएको बताए। सरकारलाई अवरोध पुर्‍याउने, भ्रष्टाचार र हाम्रो राज्य प्रणालीमा पछिल्ला १५ देखि २० वर्षमा देखिएको गहिरो अक्षमताका लागि जिम्मेवार व्यक्ति म होइन। र मानिसहरूको राज्य संस्थाप्रति आस्थामा रहेको कमीका लागि म जिम्मेवार छैन। अहिले त्यस्तो अवस्था आइपुगेको छ जहाँ कोही पनि त्रसित, गिरफ्तार र जोखिम नमोलीकन कुनै पनि विषयमा बोल्न वा विचार व्यक्त गर्न सक्षम छैनन्।"

अर्थ

मध्यपूर्वमा अमेरिकाको एउटा मुख्य साझेदार देश जोर्डनमा उच्च तहका राजनीतिक गिरफ्तारीलाई दुर्लभ मानिन्छ।

उक्त देशको गुप्तचर निकाय निकै शक्तिशाली छ जसलाई कोरोनाभाइरस महामारीपछि दिइएका थप शक्तिलाई अधिकारवादी समूहहरूले आलोचना गरिरहेका छन्।

बीबीसीका सुरक्षा संवाददाता फ्र्याङ्क गार्डनर भन्छन्- यो शाही सङ्कट नियन्त्रणबाहिर गए जसरी घुमेको छ। विश्वभरका शाही परिवारमा यो कुनै नौलो विषय नभए पनि जोर्डनका केही मौलिक समस्या छन्।

कोभिड महामारी अगाडि देखिनै खराब अवस्थामा रहेको त्यहाँको अर्थतन्त्रले मानिसहरूमा निराशा बढाएको छ।

जोर्डनले सिरिया सङ्कटका माझ त्यहाँबाट आएका कैयौँ शरणार्थी समेत सामना गरिरहेको छ।