कोरोना भाइरस: बाङ्ग्लादेशमा आगामी साता फेरि देशव्यापी लकडाउन

बाङ्ग्लादेश

तस्बिर स्रोत, EPA

Published

बाङ्ग्लादेशमा बढ्दो कोभिड सङ्क्रमण रोक्ने उद्देश्यका साथ आउँदो सोमवारदेखि एक साता लामो देशव्यापी लकडाउन गरिने त्यहाँको सरकारले बताएको छ।

त्यस अवधिमा सबै कार्यालय तथा अदालतहरू बन्द रहनेछन्।

तर प्रवासी मजदूरहरूको आफ्नो गाउँघरतर्फको आवतजावत रोक्न औद्योगिक गतिविधिहरू जारी राखिनेछन्।

गत वर्ष पनि कोभिडका कारण बाङ्ग्लादेशमा करिब तीन महिना लकडाउन गरिएको थियो।

शुक्रवार बाङ्ग्लादेशमा एकैदिन ६,८०० मानिसहरूमा कोभिड-१९ सङ्क्रमण भएको पाइएको छ।

सो सङ्ख्या महामारी सुरु भएयताकै सर्वाधिक दैनिक सङ्ख्या हो।

रेकर्ड सङ्क्रमण

यो वृद्धिले खासगरी राजधानी ढाकाका अस्पतालहरू चर्को दबाबमा परेका छन्।

बाङ्ग्लादेशमा कोभिडका कारण नौ हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको छ। छिमेकी भारतमा पनि लगातार तेज गतिमा कोभिड सङ्क्रमण फैलिरहेको छ।

सङ्क्रमण फेरि बढ्न थालेको केही साताभित्रै त्यहाँ एकैदिन झन्डै ९० हजार सङ्क्रमित भएका छन्।

हालसम्म भारतमा कोभिडका कारण एक करोड २३ लाख मानिस सङ्क्रमित भइसकेका छन् भने एक लाख ६४ हजारभन्दा धेरैको ज्यान गइसकेको छ।

त्यहाँ हाल सबभन्दा धेरै सङ्क्रमण महाराष्ट्र राज्यमा देखापरेको छ।

सो राज्यका मुख्यमन्त्रीले सङ्क्रमण नघटेमा लकडाउन लगाउने सम्भावन अस्वीकार गर्न नसकिने चेतावनी दिएका छन्।