कोलोराडो आक्रमण: सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु

Published
पढ्ने समय: १ मिनेट

अमेरिकामा कोलोराडो राज्यको बोल्डर सहरमा भएको एउटा गोलीकाण्डमा एक प्रहरी अधिकारीसहित १० व्यक्तिले ज्यान गुमाएका छन्।

एक सशस्त्र आक्रमणकारीले स्थानीय सुपरमार्केटमा जथाभावी गोली प्रहार गरेका थिए।

गोली चल्न थालेपछि आफू जोगिन भागाभाग गर्नुपरेको मानिसहरूले बताएका छन्।

माथिबाट खिचिएको दृश्यमा खुट्टा रगतपच्छे भएका एक व्यक्तिलाई प्रहरीले हत्कडी लगाएर लगिरहेको देखिन्छ। पक्राउ पर्दा उनको शरीरको माथिल्लो भागमा कुनै वस्त्र थिएन।

प्रेस सम्मेलनमा बोल्दै बोल्डरका प्रहरी प्रमुख म्यारिस हेरोल्डले एक सन्दिग्ध व्यक्ति हिरासतमा लिइएको र उनको अस्पतालमा उपचार भइरहेको बताएका छन्।

उक्त घटना स्थानीय समयानुसार दिउँसो २:३० बजे बजेतिर भएको थियो।

ती सन्दिग्ध व्यक्तिले किङ सूपर्स भनिने किनमेल केन्द्रमा पसेर गोली चलाएका थिए।

सो घटनालाई प्रत्यक्षदर्शीहरूले सामाजिक सञ्जालमा प्रत्यक्ष लाइभ स्ट्रीमिङ गरेका थिए।

राष्ट्रपति जो बाइडनलाई घटनाबारे जानकारी दिइएको छ।

गत महिना बाइडनले हतियार खरिद गर्न चाहने मानिसको पृष्ठभूमिबारे कडाइपूर्वक जाँच गर्नेगरी कानुन ल्याउन सिफारिस गर्ने बताएका थिए।