तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस महामारी: शरणार्थी शिविरका व्यवसायी जसले जीवन रक्षामा योगदान गरिरहेका छन्
इनोसेन्ट हाभयारीमानाले सन् २०१५ को सुरुवाततिर केन्याको काकुमा शरणार्थी शिविरमा साबुन उत्पादन गर्ने व्यवसाय सुरु गर्दैगर्दा एक वर्षअघि आफूलाई बुरुन्डीबाट बाहिरिन प्रेरित गरेका दुःखद घटनाहरू बिर्सन चाहिरहेका थिए।
उनको त्यो सानो व्यवसाय झन्डै दुई लाख जनसङ्ख्या रहेको शिविरमा कोभिड-१९ महामारीविरुद्ध लड्ने विषयमा निकै सहयोगी सिद्ध हुनेछ भन्नेबारे इनोसेन्टलाई हेक्का थिएन।
कोरोनाभाइरस महामारीसँग जुझ्ने विषयमा साबुनको महत्त्वबारे थाहा पाउनासाथ इनोसेन्टले मूल्य घटाए। साबुन खपत गर्न सहज होस् भनेर उनले सानो सङ्ख्या र आकारमा समेत उत्पादन सुरु गरे।
"साबुन सबैलाई चाहिएको थियो तर किन्न सक्ने क्षमता सबैसँग थिएन। तसर्थ मैले साबुनको मूल्य घटाएँ, नाफा गर्नुभन्दा मानिसहरूलाई जोगाउनु महत्त्वपूर्ण थियो," ३५ वर्षका उनले बीबीसीलाई भने।
"महामारी सुरु भएसँगै बजार माग धान्न मैले ७५ प्रतिशतले उत्पादन बढाउनु पर्यो, त्यसकारण कोभिड-१९ मेरो व्यवसायका लागि राम्रै रह्यो।"
"तर मैले जोखिममा रहेका उमेर पुगेका अनि अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क साबुन उपलब्ध गराएको थिएँ।"
इनोसेन्टको कार्यलाई संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)ले सराहना गरेको छ।
"काकुमामा कोभिड-१९ महामारी फैलिन नदिन शरणार्थीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्," यूएनएचसीआरको केन्यास्थित कार्यालयका प्रवक्ता युजीन ब्युनले बीबीसीलाई भनिन्।
"उनीहरूले धेरै तरिकाबाट सहयोग गरिरहेका छन्। सूचना प्रवाह गर्नेदेखि मानिसहरूलाई आवश्यक पर्ने उपाय अवलम्बन गर्न धेरै तरिकाले सहयोग गरे।"
मूल्य कम गर्ने इनोसेन्टको निर्णयबाट आफू अचम्ममा परेको ब्युनले बताइन्।
रोजगारी सिर्जना
इनोसेन्टले आफ्नो कारखानामा ४२ जनालाई रोजगारी दिएका छन्। उनको कारखानाको नाम जीएलएपी अर्थात् गड लभ्स अल पीपल राखिएको छ।
अठारजना श्रमिक काकुमामा बस्ने केन्याका नागरिक हुन्।
"संस्थाहरूले साबुन खरिद गर्छन् अनि खरिद गर्न नसक्ने शरणार्थी तथा आफ्नै कर्मचारीहरूलाई बाँड्छन्," बुरुन्डीका उनले गर्वका साथ बताए।
इनोसेन्टबाहेक अन्यले साबुन उत्पादन गरिरहेको भए पनि उनलाई प्रतिस्पर्धाको डर छैन। सरसफाइका लागि आवश्यक सामग्री उत्पादन गर्ने उनले अरूलाई कक्षा नै लिएर सिकाउने गर्छन्।
"म महिला अनि युवाहरूलाई प्रशिक्षण दिन चाहन्छु ताकि उनीहरू आत्मनिर्भर बन्न सकून् र मैलै जस्तै आफ्नो जीवनको अवस्था सुधार्न सकून्," उनले भने।
"जुन कुनै रूपमा म आफ्नो समुदायको सहयोग गर्न चाहन्छु।"
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- नेपाल कति तयार?रोकथाममा चुनौतीका चाङ
- सङ्क्रमण हुँदा के हुन्छ? मानिसको शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
उनले गरे जस्तै कार्यका कारण काकुमामा कोभिड-१९ फैलन पाएको छैन।
बुरुन्डीबाट भाग्नुपर्ने कारण
यूएनएचसीआरका अनुसार पछिल्लो एक दशकमा राजनीतिक अस्थिरता र द्वन्द्वका कारण बुरुन्डीबाट ३००,००० भन्दा बढी सर्वसाधारणहरू भागेर छिमेकी अफ्रिकी राष्ट्रहरूमा पुग्न बाध्य छन्।
बुरुन्डी छाड्नुअघि इनोसेन्ट यूनिभर्सिटी अफ बुरुन्डीमा रसायनशास्त्र अध्ययन गर्दै थिए। इनोसेन्टका अनुसार मृत्यु भइसकेकी आफ्नी आमाका नातेदारहरूबाट उनलाई खतरा थियो। उनीहरूले आफ्नो घर कब्जामा लिएको उनको भनाइ छ।
काकुमामा पुगेपछि उनी सहायताको भर पर्नुभन्दा आफै आम्दानी गर्न चाहन्थे।
उक्त शिविर सहरभन्दा निकै टाढा अनि सुख्खा क्षेत्रमा अवस्थित छ जहाँ सामान्य सेवा उपलब्ध गराउन पनि सहायता गर्ने निकायहरूलाई चुनौती छ।
इनोसेन्टले यो क्षेत्रबारे जान्दै गएसँगै त्यहाँ साबुन कारखाना नभएको र सरसफाइका सामग्री बाहिरबाट ल्याउनुपर्ने अवस्थाबारे थाहा पाए।
"साबुन कसरी बन्छ भन्ने विषयमा मसँग कुनै ज्ञान थिएन। त्यसैले मैले इन्टरनेटबाट ज्ञान बटुल्न थालेँ," उनले भने।
पछि उनी एउटा गैरसरकारी संस्थाले सञ्चालन गरेको साबुन बनाउने तालिममा सहभागी भए र बुरुन्डीकै पूर्वसहपाठीसँग ऋण लिएर दुई सहयोगीका साथ साबुन उत्पादन गर्ने व्यवसाय सुरु गरे।
उनले यूएनएचसीआरसहित अन्य गैरसरकारी संस्थाहरूबाट अनुदान समेत प्राप्त गरे।