इन्डोनेशिया विमान दुर्घटना: समुद्रमा खसेको बोइङमा 'दयालु विमानचालक'देखि नवविवाहित दम्पतीसम्म

तस्बिर स्रोत, Getty Images
इन्डोनेशियामा समुद्रमा दुर्घटनाग्रस्त भएको विमानको भग्नावशेष खोजी कार्य जारी रहँदा यात्रुका परिवारहरू भने भावविह्वल र शोकाकुल छन्।
गत शनिवार उडेको केही समयमै दुर्घटनामा परेको श्रीविजया एअरको बोइङ ७३७ मा चालकदलका सदस्यसहित ६२ जना सवार थिए।
कोही पनि जीवितै भेटिने सम्भावना नदेखिएको बताइएको छ।
विमानमा भएकाहरूको आधिकारिक रूपमा पहिचान बाहिर नल्याइएको भए पनि त्यसबारे परिवारका सदस्य र उनीहरूका साथीभाइबाट विवरण सार्वजनिक हुन थालेको छ।
'दयालु अनि बुद्धिमान' चालक
"हामी शोकमा छौँ र अझै प्रार्थना गरिरहेका छौँ," फेर्जा माहारधिकाले भनिन्।
उनका काका श्रीविजया एअर एसजे १८२ विमानका चालक थिए।
घटना भएको दिन ५४ वर्षीय क्याप्टेन अफवान चाँडै घरबाट निस्किएका थिए। आफ्ना तीन छोराछोरीलाई छाडेर जानुपरेकामा उनले माफी पनि मागेका थिए।
पहिला वायुसेनामा काम गरेका उनले सन् १९८७ मा व्यावसायिक उडान सुरु गरेका हुन्।

तस्बिर स्रोत, Endah
परिवार र साथीभाइका अनुसार उनी इस्लाम धर्म मान्थे र मानिसहरूलाई सहयोग गर्न चाहन्थे।
"उनी असल मानिस थिए। उनले प्राय: राम्रो सल्लाह दिन्थे। छिमेकमा उनी गन्नेमान्ने मानिसमध्ये पर्थे र दयालु स्वभावका लागि परिचित थिए," फेर्जाले भने।
छुट्टीमा रहेकी १५ वर्षीया किशोरी
विमानमा छुट्टी मनाउन जकार्ता पुगेकी १५ वर्षीया किशोरी पनि थिइन्।
डीन्डा एमेलीआ आफ्नी आमालाई काम दिएको परिवार र उनीहरूका दुई बालबच्चाका साथ त्यहाँ पुगेकी थिइन्।
उनकी आमा लीनाका अनुसार उक्त परिवारसँग उनी लामो समयदेखि काम गर्दै आएकी थिइन् जसकारण छुट्टीमा जाने डिन्डाको अनुरोध उनले नकार्न सकिनन्।
डिसेम्बर २७ तारिखमा जकार्ता छाडेका उनीहरू फर्किएनन्।
"पन्ध्रौँ जन्मदिनकै दिन उनी गएकी थिइन्," उनकी आमाले बीबीसी इन्डोनेशियालाई भनिन्। "उनी निकै खुसी थिइन्।"
भर्खरै बनेका पिता
आफ्नो २९ वर्षका छोरा अङ्गा फेर्नान्डा अफ्रिओन अझै जीवितै हुन सक्ने आमा अफ्रिदाले आफ्नो विश्वास रहेको बीबीसी इन्डोनेशियालाई बताइन्।
अङ्गा एक हप्ताअघि मात्रै पिता बनेका थिए। छोराका लागि राम्रो प्रबन्ध गर्ने सोचले उनलाई थप काम गर्न ऊर्जा दिएको अफ्रिदा बताउँछिन्।
अङ्गा ठूलो मालवाहक समुद्री जहाजमा काम गर्थे।

तस्बिर स्रोत, BBC Indonesia
अफ्रिदाका अनुसार उनले शुक्रवार अबेर फोन गरेर आफू पोन्टिआनक जानुपर्ने भएको जानकारी गराएका थिए।
उनी कामको सिलसिलामा यात्रा गरिरहन्थे। तर विमानमा भन्दा समुद्रमै यात्रा गर्न रुचाउँथे।
आफ्ना छोरालाई "दृढ भावना भएका तर आज्ञाकारी"का रूपमा व्याख्या गर्ने अफ्रिदाले उनको "मृत्यु भएकै भए पनि अन्तिम संस्कार विधिवत् रूपमा गर्न चाहेको" बताएकी छन्।
नवविवाहित दम्पती
विमानमा नवविवाहित दम्पती इह्सान एडह्लान हकिम र पुत्री वाहयुनी पनि सवार थिए।
इह्सानका कान्छा भाइ अर्विन अम्रु हकिमले समाचार वेबसाइट कम्पासलाई बताएअनुसार उनका दाइले खराब मौसमका कारण उडानमा ढिलाइ भएको खबर गरेका थिए।
उक्त दम्पती एउटा विवाह भोजमा सहभागी हुनका लागि जाँदै थिए।
भर्खरकी सुत्केरी
छोरी, ज्वाइँ र केही समयअघि मात्रै जन्मेका उनीहरूका बच्चा सवार श्रीविजया एअरको विमान दुर्घटनाग्रस्त भएको खबर सुन्दा युस्रीलानीता बेहोस भइन्।
सुत्केरी हुन माइती पुगेकी इन्दाह हलीमा पुत्री पति मुहम्मद रिज्की वाह्युदीसँग घर फर्किँदै थिइन्।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार इन्दाहले विमानको तस्बिर ह्वाटसएपमार्फत् आफ्नो परिवारलाई पठाएकी थिइन र पानी परिरहेको भन्दै परिवारलाई प्रार्थना गर्न आग्रह गरेकी थिइन्।
छोरा भेट्न नपाएका व्यवसायी
तीस वर्षका योहानेस सुह्रेदी व्यावसायिक कामका लागि जकार्ता पुगेका थिए।
सीएनएनका अनुसार उनी आफ्नो घर जाने क्रममा थिए।
विमान उड्न भन्दा केहीअघि मात्रै योहानेससँग कुरा गरेकी उनकी श्रीमतीले आफ्ना श्रीमान् "असल अनि सामाजिक व्यक्ति" रहेको बताइन्।
"छोरालाई ज्वरो आएकाले चिकित्सककहाँ लान नबिर्सन उनले मलाई भनेका थिए," आफ्ना पाँचवर्षे छोराले बुवा कहिले घर आउने छन् भन्ने कुरा सोधिरहेको बताउँदै उनले भनिन्।




















