इन्डोनेशिया विमान दुर्घटना: श्रीविजया एअर बोइङ ७३७ का ब्ल्याक बक्स निकाल्ने प्रयास जारी

इन्डोनेशिया विमान दुर्घटना

तस्बिर स्रोत, EPA / BASARNAS

तस्बिरको क्याप्शन, खोजी तथा उद्धार टोलीहरूले समुद्रमा विमानका टुक्राटाक्री र मानव अवशेष फेला पारेका छन्
Published

इन्डोनेशियामा समुद्रमा दुर्घटनाग्रस्त भएको यात्रुवाहक विमानको ब्ल्याक बक्स खोजी गर्ने कार्य सोमवार फेरि हुन लागेको छ।

शनिवार उडेको केही बेरमै हराएको श्रीविजया एअरको बोइङ ७३७ मा चालकदलका सदस्यसहित कुल ६२ मानिस थिए। राजधानी जकार्ताबाट बोर्निओ द्वीपका लागि उडेको उक्त यात्रुवाहक विमान रेडार सम्पर्कबाट अकस्मात् हराएको थियो।

खोजी कार्यमा जुटेको टोलीले विमानका केही पाटपुर्जा तथा मानव अवशेष फेला पारिसकेका छन्।

अनुसन्धानका लागि महत्त्वपूर्ण डेटा उपलब्ध गराउन सक्ने ब्ल्याक बक्स रहेको स्थान पत्ता लागिसकेको छ।

इन्डोनेशियाको राष्ट्रिय यातायात सुरक्षा समितिका एक अनुसन्धानकर्ताले समाचारसंस्था रोएटर्सलाई आफूहरूले सोमवारसम्ममा ब्ल्याक बक्स फेला पार्ने आशा गरेको बताएका छन्।

अहिले अनुसन्धानकर्ताहरूले विमानको पाङ्ग्रा लगायतका अन्य केही भाग भन्ठानिएका सामग्रीको विश्लेषण गरिरहेका छन्। विमानको एउटा इन्जिनको टर्बाइन पनि फेला परेको बताइएको छ।

दुर्घटनामा परेका कोही पनि जीवित फेला पर्न सक्ने सम्भावना नभएको देखिएको छ।

शनिवार दिउँसो श्रीविजया एअरको विमान जकार्ताबाट स्थानीय समयानुसार १४:३६ मा उडेको थियो।

उडानहरूको विवरण राख्ने वेबसाइट Flightradar24.com का अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमान आकाशबाट ह्वात्तै ३,००० मिटरभन्दा तल ओर्लिएको थियो।

प्रत्यक्षदर्शीहरूले उनीहरूले कम्तीमा एउटा विस्फोटन सुनेको र देखेको बताएका छन्।

इन्डोनेशिया विमान दुर्घटना

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इन्डोनेशियाको जलसेनाले दुर्घटनाग्रस्त विमानको भन्ठानिएको भग्नावशेष फेला पारेको छ

विमानमा सात बालबालिका र तीन शिशुसहित ५० जना यात्रु र चालकदलका १२ सदस्य रहेको बताइएको छ।

विमानको क्षमता भने १३० यात्रुको थियो।

अधिकारीहरूका अनुसार विमानमा सवार सबै जना इन्डोनेशियाली नागरिक नै थिए।

इन्डोनेशियाको पोन्टिआनक विमानस्थलमा हराइरहेका यात्रुबारे जानकारी कुर्दै परिवारका सदस्यहरू

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, इन्डोनेशियाको पोन्टिआनक विमानस्थलमा हराइरहेका यात्रुबारे जानकारी कुर्दै परिवारका सदस्यहरू

विमानबारे हामीलाई के थाहा छ?

विवरणअनुसार उक्त बोइङ ७३७-५०० विमान २६ वर्षअघि बनेको हो।

श्रीविजया एअरका प्रमुख कार्यकारी जेफरसन इर्विन जाउवेनाले संवाददाताहरूलाई विमान राम्रो अवस्थामा रहेको बताएका छन्।

ठूलो वर्षाका कारण विमान उड्न ३० मिनेट ढिलो भएको उनले बताए।

सन् २००३ मा स्थापना भएको श्रीविजया एअर इन्डोनेशियाले दक्षिणपूर्व एशियाका गन्तव्यहरूमा उडान गर्छ।

श्रीविजया एअर

तस्बिर स्रोत, GM Fikri Izzudin Noor

तस्बिरको क्याप्शन, उडेको केही छिनमै उक्त विमानन रेडारको स्क्रीनबाट हराएको थियो

राजधानी जकार्ताबाट २० किलोमिटर उत्तरतिर उक्त विमान हराएको थियो।

त्यही ठाउँनजिकै सन् २०१८ को अक्टोबरमा पनि विमान दुर्घटनामा परेको थियो।

उडेको १२ मिनेटमा इन्डोनेशियाली लायन एअर समुद्रमा डुब्दा जम्मा १८९ जनाको ज्यान गएको थियो।