कोरोना भाइरस: सङ्क्रमित महिलाले सँगैको शय्यामा आमाको मृत्यु देख्नुपर्यो

तस्बिर स्रोत, Anabel Sharma
कोभिड-१९ का कारण अस्पताल भर्ना भएका आमाछोरीमध्ये आमाले आँखा अगाडि प्राण त्यागेपछि छोरीले सावधानी अपनाउन अपिल गरेकी छन्।
लेस्टशरकी ७६ वर्षीया मारिया रिकोले आफ्ना दुईजना छोरीसँग अन्तिम पटक बोल्नका लागि आफ्नो अक्सिजन मास्क हटाएकी थिइन्।
उनलाई त्यसो गर्दा आफ्नो प्राण चाँडै जाँदै छ भन्ने थाहा थियो।
एनाबेल शर्माले उक्त क्षणलाई "हृदयविदारक" भनेकी छन्। तर उनी आफ्नी आमाले एक्लै मृत्युवरण गर्नु परेन भनेर प्रसन्नता व्यक्त गरिन्।
उनले भाइरसबारे जनचेतनाका लागि आमासँगको अन्तिम क्षणको तस्बिर सार्वजनिक गरेकी छन्।

तस्बिर स्रोत, Anabel Sharma
'आराम'
विटेककी शर्माले अक्सिजन मास्क हटाएको आधा घण्टापछि आफ्नी आमाको निधन भएको बताइन्।
उनले भनिन्, "मेरी आमाले उनीहरूलाई मास्क हटाउन भन्नुभयो। उनीहरूले एक पटक मास्क हटाएपछि तपाईँ लामो समयका लागि रहनुहुन्न भनेका थिए। अनि उहाँले मलाई त्यो थाहा छ मलाइ अब पुगिसक्यो भन्नुभयो।"
शर्मा चाहिँ ४९ वर्षकी हुन्।
उनी भन्छिन्, "हामीले उहाँसँग पाँच मिनेट जति मात्र कुरा गर्न पायौँ। त्यसपछि उहाँ बेहोस हुनुभयो।"

तस्बिर स्रोत, Anabel Sharma
"उहाँले हामीसँग आफू मर्नका लागि नडराएको बताउनु भयो। उहाँ त्यसका लागि तयार हुनुहुन्थ्यो। उहाँले मलाई दह्रो भएर लड्न भन्नुभयो किनकि मेरो घरमा बालबच्चा छन्।"
त्यस बेला शर्माकी बहिनी सुसनलाई पनि व्यक्तिगत सुरक्षा उपकरण लगाएर त्यहाँ उपस्थित हुन दिइएको थियो।
उनले भनिन्, "हामीले उहाँले अन्तिम सास लिँदासम्म उहाँको हात सुमसुम्यायौँ।"
"मलाई त्यसले आराम भएको जस्तो महसुस भयो किनकि हामीले अन्तिम क्षणमा पनि आमालाई आराम दिन सक्यौँ।"

तस्बिर स्रोत, Anabel Sharma
रिको शर्माकै घरमा बस्थिन्। शर्मा उनका पति र १०, १२ र २२ वर्षका तीन छोराहरूसँगै बस्छिन्।
उनी विद्यालयमा उनको एक जना छोरा कोरोनाभाइरस सङ्क्रमित भए र त्यसैबाट अन्य सदस्यमा सरेको ठान्छिन्।
उनी भन्छिन्, "म मानिसहरूलाई सबै खाले सुरक्षात्मक उपाय अपनाउन र अन्यका बारेमा पनि सोच्न आग्रह गर्छु।"
उनी र उनकी आमा अक्टोबरमा एकै दिन अस्पताल भर्ना भएका थिए र उनकी आमा नोभेम्बर १ मा बितिन्।
अझै अस्पतालमा रहेकी उनका लागि आमाको अन्तिम संस्कार भिडियोमार्फत देखाइएको थियो।




















