संसद् विघटन: राजनीनिक अस्थिरताको असर व्यवसायमा पर्ने व्यवसायीहरूको पीर

सडकमा सुरक्षा

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, सडक प्रदर्शन र जुलुस हुन थाले अर्थतन्त्र र व्यवसायमा असर पर्ने चिन्ता गरिएका छन्
Published

कोरोनाभाइरस महामारीका कारण लामो समयदेखि प्रभावित भएको उद्योग व्यवसाय क्षेत्र पछिल्लो राजनितिक घटनाक्रमले थप प्रभावित हुने चिन्ता व्यवसायीहरूले व्यक्त गरेका छन्।

प्रतिनिधि सभा विघटनपछि सुरु भएको आन्दोलन र विरोध प्रदर्शनका विभिन्न क्रियाकलापले उद्योग व्यवसाय देखि पर्यटन क्षेत्रमा झन नराम्रो असर पर्ने आशंका उनीहरूमा देखिन्छ।

राजनीतिक अस्थिरताले लगानीको वातावरण पनि बिग्रिने व्यवसायीहरू भन्छन्।

अस्थिरताले 'झस्कायो'

विस्तारै ती क्षेत्रमा सुधारको लक्षण देखिएका बेला प्रतिनिधि सभा विघटन र उक्त निर्णयको ‍विरोधमा सडकमा प्रदर्शनहरू सुरु भएका छन्।

यसले व्यवसायीहरूलाई फेरि झस्काएको छ।

विगतमा राजनीतिक अस्थिरता र विरोधका बेला सबैभन्दा बढी प्रभावित हुने गरेको अनुभव पर्यटन व्यवसायीहरूको छ।

विस्तारै अन्तर्राष्ट्रिय उडानहरू सुरु हुन थालेको र कोरोनाभाइरसको खोप समेत आउन लागेका बेला फेरि पछिल्लो गतिविधिले प्रभावित गर्ने चिन्ता उनीहरूको छ।

होटल एसोसिएसन अफ नेपालका उपाध्यक्ष विनायक शाह भन्छन्, "संसारभरि समाचार गइहाल्यो। कतै नाराबाजी कतै टायर बालेका दृश्य प्रसारित भएपछि अब आउन ठिक्क परेकाहरू पनि हतोत्साही हुने भए।"

सडकमा हुने प्रदर्शनले बन्द हडतालको रूप लिएमा त्यसले सबै क्षेत्र प्रभावित पार्ने चिन्ता व्यवसायीमा देखिन्छ।

स्थिर सरकार हुँदा बन्दै गएको लगानीको वातावरण बिग्रिने र रोजगारी लगायतका अवसर गुम्ने नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्मा बताउँछन्।

"यसले समग्र अर्थतन्त्रमा नराम्रो असर पारिहाल्छ। लगानीको वातावरण विथोलिन्छ," उनले भने।

यस्तो राजनीतिक अन्योलले छिट्टै निकास पाउने र कोरोनाभाइरसको खोपसँगै उद्योग व्यवसाय क्षेत्रले भोगेको पीडादायी समयको अन्त्य हुने आशा भने आफूहरूले नमारेको व्यवसायीहरूको भनाइ छ।