यूकेले ‘हतारमा खोप अनुमति’ दिएको टिप्पणीप्रति फाउचीले मागे माफी

तस्बिर स्रोत, Getty Images
यूकेले हतारोमा कोरोनाभाइरस खोपको प्रयोग अनुमति दिएको भन्ने आफ्नो अघिल्लो टिप्पणी सच्च्याउँदै अमेरिकाका वरिष्ठ सङ्क्रमण विज्ञले ब्रिटिश प्रक्रियाप्रति पूर्ण विश्वास प्रकट गरेका छन्।
अमेरिकी फाइजर तथा जर्मन बायोएनटेकले विकास गरेको कोरोनाभाइरसविरुद्धको खोपलाई आम प्रयोगको अनुमति दिने ब्रिटेन पहिलो देश बनेको थियो।
उसले निकै द्रुत प्रक्रिया अवलम्बन गरेर अनुमति दिएको थियो।
माफी
त्यसबारे प्रश्न उठाएको जस्तो लाग्ने टिप्पणी गरेका अमेरिकाका वरिष्ठ सङ्क्रमण रोग विशेषज्ञ एन्थोनी फाउचीले पछि त्यसप्रति माफी मागेका छन्।
उनले ब्रिटिश मेडकल नियामक निकायप्रति आफ्नो पूर्ण विश्वास रहेको बताउँदै भने, "मलाई यूकेले वैज्ञानिकरूपमा अनि नियामक प्रक्रियाको बारेमा अपनाउने कार्यप्रति ठूलो भरोसा छ।"
बीबीसीसँग कुरा गर्दै उनले आफूले केवल ब्रिटिश र अमेरिकी प्रणालीमा अनुमति प्रदानसम्बन्धी रहेका भिन्नता उजागर गर्न खोजेको बताए।

तस्बिर स्रोत, Getty Images
फरक प्रक्रिया
अमेरिकामा छिटो अनुमति दिइएको भए त्यसबारे शङ्का गरिनसक्ने सम्भावना धेरै रहेको उनले औँल्याए।
"हामीले अवलम्बन गरेको प्रक्रियाले यूकेमा भन्दा अलि धेरै समय लिन्छ। त्यो यथार्थ हो। त्यसो भन्दै यूकेको प्रक्रिया खराब भन्न मैले खोजेको होइन," उनले बीबीसीलाई बताए।
अमेरिकाको नियामक निकाय खाद्य तथा औषधि प्रशासन एफडिएमाथि छिटो खोप अनुमति दिन ह्वाइट हाउससहित थुप्रै क्षेत्रबाट चर्को दबाब परेको छ।
तर फाउचीले अमेरिकाको प्रक्रियाले केही थप समय लिने बताए।
त्यहाँ फाइजर खोपबारे स्वीकृतीको छलफल गर्न एफडिएले डिसेम्बर १० मा बैठक डाकेको छ।
त्यस्तै मोडेर्नाको खोप स्वीकृतीबारे छलफल गर्न डिसेम्बर १७ मा बैठक डाकिएको छ।
यसबीच आफ्नो अनुमति प्रक्रियाबारे चलेको चर्चाका माझ ब्रिटेनले आफ्नो प्रणालीको बचाउ गर्दै फाइजर खोप सुरक्षित र प्रभावकारी भएको पुन: बताएको छ।
यूकेको औषधि नियामक निकायकी प्रमुख डा जुन रेनले खोपलाई स्वीकृती दिँदा कुनै तलमाथि नगरिएको बताइन्।























