#BBC100Women: कोरोनाभाइरस सङ्क्रमणका बेला महिला चिकित्सकका भोगाइ

- Author, माधुरी महतो
- Role, वीरगञ्ज, बीबीसी न्यूज नेपाली
- Published
विश्वव्यापी रूपमा कोरोनाभाइरस महामारीले भयावह परिस्थिति सिर्जना गरेको हुँदा अस्पतालमा आएका कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको उपचारको अग्रमोर्चामा रहेका चिकित्सकहरूको मनमा शुरूमा डर थियो।
क्रमश: उनीहरूले सिक्दै गए, डर कम हुँदै गयो। शुरूवातका दिनहरू कस्ता रहे भनेर हामीले प्रदेश नं २ का केही महिला चिकित्सकसँग कुराकानी गरेका छौँ।
डा.मधु पटेल
नारायणी अस्पताल, वीरगञ्ज

शुरूमा अस्पतालमा केही पनि व्यवस्थित थिएन। जोखिम मोलेर काम गर्नुपर्ने अवस्था थियो। बिस्तारै वीरगञ्जमा कोरोनाभाइरसको सङ्क्रमणले तीव्र रूप लिँदा मनमा डर पनि लागेको थियो।
उपचार गर्न आएका बिरामीहरू भकाभक मर्न थालेका थिए। पछि अस्पतालकै नर्स, डाक्टर, कर्मचारी पनि सङ्क्रमित भए।
ठूलो सङ्कटको अवस्था थियो। २४ घण्टा काममा खट्नुपर्छ भन्ने आभास हुँदै गयो।
धर्म, कर्म र दायित्व नै यहीँ हो भन्ने लागेर काम गर्नबाट पछि हटिनँ।
घरपरिवारले त जागिर छोडिदेऊ, नजाऊ भन्नुहुन्थ्यो। तर म मेरो कामप्रति झन् दृढ थिएँ। घरमै दूरी बनाएर अलग्गै बस्थेँ।
बुवाले चाहिँ घरमै बस्दा खतरा हुन्छ। बाहिरका र वरिपरिका मानिसहरू के भन्छन् भन्नुहुन्थ्यो।
अस्पतालमा काम गरेर आएपछि आफ्नो घरमा डर त्रास हुन्थ्यो नै। छिमेकीहरू त बोल्नै छोडिदिए।
हामी आफैँ ज्यान बचाउने डाक्टर। तर मानिसहरू नबुझ्ने। आफ्नो ज्यानको ख्याल नगरी खटेको देख्दा त उनीहरूले गर्व महसुस गर्नुपर्ने तर उल्टै नराम्रो व्यवहार गर्थे।
क्रमश: परिवारको साथ बलियो बन्दै गयो। स्वास्थ्य सुरक्षा सामग्रीको अभाव थियो तर पनि काम गरिरह्यौँ।
महिनावारी भएको समयमा पीपीई सेटमा बस्नुपर्दा धेरै समस्या हुन्थ्यो।
अहिले पनि पीपीई सेटको अभाव छ, अस्पतालले पनि दिँदैन तर पनि काम गर्दै आएका छौँ।
पछि आफ्नै बुवा सङ्क्रमित हुनुभयो। उहाँकै उपचार गर्नुपर्ने अवस्था आयो।
कर्म गरे अनुसारको इज्जत, सुविधा र माया नपाउँदा कहिलेकाहीँ दु:ख लाग्ने गरेको उनको अनुभव छ।
कल्पना साह
गजेन्द्रनारायण सिंह अस्थायी अस्पताल, राजविराज

आफूले उपचार गरेकै बिरामीको पीसीआर जाँच्दा कतिपयको कोरोनाभाइरस पोजिटिभ आयो। अनि आफूलाई पनि लाग्यो कि भन्ने लाग्थ्यो। तर परीक्षण गर्दा नेगेटिभ आउँदा फेरि दृढ मनोबलका साथ उपचारमा संलग्न भएँ।
आइसोलेशनमा २१ दिनपछि मात्रै प्रत्यक्ष रूपमा कुरा गर्न, भेट्नलाई कुर्नुपर्ने अवस्था थियो। त्यो अवस्था एकदमै खल्लो लाग्थ्यो एउटी आमा, बुहारी र श्रीमतीको नाताले तर एउटा डाक्टरको नाताले गर्व लाथ्यो- आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेकी छु।
सतर्कता अपनाउँदै उपचारमा खटिँदा सङ्क्रमणबाट बच्न सकिने भएकोले आफूले सुरक्षा सतर्कता अपनाउन आवश्यक हुन्छ। पर्याप्त पीपीई थिएन। त्यही पीपीई सेट लामो समयसम्म लगाउनुपर्ने अवस्था पनि थियो।
महिनावारीको समय, गर्भवती भएको अवस्थामा चाहिँ महिला डाक्टरहरूलाई धेरै नै समस्या हुनेरहेछ।
आशा झा
भूमि हेल्थ रिसर्च सेन्टर, सर्लाही

जुन बिरामीको लक्षण देखिन्थ्यो हामीले अर्को अस्पतालमा पठाउने काम गर्थ्यौँ।
त्यो बेला कतिपय बिरामीको पछि गएर कोरोनाभाइरस पोजिटिभ आयो।
त्यतिखेर मनमा डर लाग्थ्यो। तर स्वाथ्य सुरक्षा अपनाएर काम गर्दै आएको कारण हालसम्म सङ्क्रमित हुन परेको छैन।
बिरामीलाई प्रत्यक्ष हेरिएको हुन्छ। फेरि श्रीमान् ,श्रीमती नै डाक्टर भएको कारण अलि बढी नै समस्या भयो।
बच्चाहरूसँग टाढा रहनुपर्ने। अढाई वर्षको र अर्को ५ वर्षको बच्चालाई एक्लै घरमा छोडेर अलग्गै बस्नुपर्दा निकै गाह्रो भयो।
श्रीमान्, श्रीमती दुवैजना छुट्टै बस्थ्यौँ। सानो बच्चालाई आमा चाहिने तर छुट्टै बस्नुपर्ने बाध्यता थियो।
एउटै घरभित्र बसेर पनि अलग्दै बसेको देख्दा उनीहरू नौलो मान्थे। मलाई खल्लो अनुभव हुन्थ्यो।




















