म्यान्मारमा फेला परेको नर-वानर लोप हुने खतरामा

पोपा लङ्गुर

तस्बिर स्रोत, Thaung Win

तस्बिरको क्याप्शन, पोपा लङ्गुर
    • Author, हेलन ब्रिग्स
    • Role, बीबीसी वातावरण संवाददाता
  • Published

विज्ञानका लागि नयाँ रहेको एक प्रकारको बाँदर म्यान्मारको विकट क्षेत्रमा रहेको वनमा फेला परेको छ।

म्यान्मारस्थित पोपा पर्वतमा फेला परेका कारण पोपा लङ्गुर नामाकरण गरिएको बाँदरको उक्त प्रजातिको सङ्ख्या २०० को हाराहारीमा छ।

लङ्गुर पात खाने बाँदर हो र यो दक्षिण-पूर्वी एशियामा पाइन्छ।

हालसालै मात्रै पत्ता लागेको यो नयाँ जनावरका आफ्नै विशेषता छन्। आँखा अनि आँखा बाहिरको भाग चस्मा जस्तै गोला आकारका छन् भने यसको रौँ खैरो रङ्गको छ।

यो जनावर आफू बसिरहेको आवास गुमाउने अनि शिकारको जोखिममा छ।

जङ्गली बाँदरको दिसाबाट निकालिएको डीएनए परीक्षणका आधारमा वैज्ञानिकहरूले म्यान्मारमा नयाँ प्रजाति फेला पर्नसक्ने अनुमान लामो समयदेखि गर्दै आएका थिए।

वैज्ञानिकहरू यो बाँदरको बारेमा निकै कम जानकारीका लिएर लन्डन, न्यूयोर्क अनि सिङ्गापुरस्थित प्राकृतिक इतिहास सङ्ग्रहालयहरूमा राखिएका नमुना अध्ययनमा लागे।

मान्मारमा त्यसअघि खोज गरेकाले बाँदरको नमुना सङ्कलन गरेका थिए जसको विस्तृत रूपमा परीक्षण भने गरिएको थिएन।

अनुसन्धानकर्ताहरूले डीएनए निकाले अनि पुच्छर र कानको लम्बाइ जस्ता शारीरिक अङ्गको लम्बाइ नापेर जङ्गली बाँदरहरूसँग तुलना गरे।

जसबाट म्यान्मारको मध्य भागमा रहेको वनको एउटा निश्चित भागमा मात्रै फेला पर्ने नयाँ प्रजाति पोपा लङ्गुर पत्ता लाग्यो।

पोपा पर्वत

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पोपा पर्वत

वैज्ञानिक रूपमा यो प्रजातिको वर्णन गरिनुले यसको संरक्षण गर्न सहयोग गर्ने एउटा संरक्षण समूह फाउना एन्ड फ्लोरा इन्टरन्याश्नलका फ्र्याङ्क मोम्बर्ग भन्छन्।

उनले बीबीसीलाई भने: "भर्खरै मात्रै पहिचान गरिएको पोपा लङ्गुर अहिले नै लोपोन्मुख छ।"

"यसकारण बाँकी रहेका जनावरहरूको संरक्षण गर्न आवश्यक छ र यसको भविष्य रक्षा गर्नका लागि स्थानीय समुदाय र निजी क्षेत्रका सरोकारवालाहरूसँग पनि जोडिन जरुरी छ।"

नयाँ प्रजातिका २०० देखि २५० जनावर मात्रै रहेको र ती पनि चारवटा छुट्टै झुन्डमा बस्ने बताइएको छ।

पोपा लङ्गुर

तस्बिर स्रोत, Thaung Win

तस्बिरको क्याप्शन, पोपा लङ्गुर

पछिल्लो दशकमा म्यान्मार वैज्ञानिकहरूसँग अन्तर्राष्ट्रिय सहकार्यका लागि खुला हुँदै गएको छ। यसले सरीसृप र उभयचरसहित विज्ञानका लागि समेत नयाँ प्रजाति पत्ता लागेका छन्।

तर यो नर-वानरको खोज भने निकै दुर्लभ मानिन्छ।

जर्मनीस्थित प्राइमेट जेनेटिक्स ल्याबरेटोरीका क्रिस्टीएन रुसले यी प्राणीहरूले आफ्नो वासस्थान गुमाउन सक्ने र शिकारको खतराको सामना गर्नु परेको बताएका छन्।

"शिकार ठूलो समस्या हो तर त्योभन्दा पनि ठूलो खतरा भनेको उनीहरूको वासस्थान लगभग हराइसकेको छ र मानव अतिक्रमणका कारण उनीहरू बस्ने स्थान घटेको, खण्डीकृत अनि अलग भएको छ," उनले भने।

अनुवंशसम्बन्धी वैज्ञानिक अध्ययनले पोपा लङ्गुर करिब १० लाख वर्षअघि अन्य ज्ञात प्रजातिबाट अलग भएको पत्ता लगाएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, विद्यार्थीको हराएको मोबाइलमा 'बाँदरका सेल्फी'