तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकी निर्वाचन २०२०: आफ्नो कार्यकालको योजना बनाउँदै बाइडन, कोरोनाभाइरस महामारी प्रमुख प्राथमिकता
अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडनले कोरोनाभाइरस महामारीसँग जुझ्ने विषयलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने उनको टोलीले जनाएको छ।
उनी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति हुने भएका हुन।
उनको टोलीका अनुसार अमेरिकामा कोरोनाभाइरस परीक्षणको दायरा बढाइनेछ र सर्वसाधारणहरूलाई मास्क लगाउन भनिनेछ।
बाइडनले जातीय विभेद र जलवायु परिवर्तन जस्ता मुद्दाको सामना गर्दै अर्थतन्त्रमा ध्यान केन्द्रित गर्ने बताइएको छ।
तर ट्रम्पले हार स्वीकारेका छैनन्
राष्ट्रपति ट्रम्पले भने हालसम्म हार स्वीकार गरिसकेका छैनन् र बाइडनको जित प्रक्षेपणमै सीमित छ।
केही महत्त्वपूर्ण राज्यहरूमा मतगणना जारी छ।
तर अमेरिकाका मुख्य नेटवर्कहरूले निर्वाचनमा उनी विजयी भएको भनेसँगै डेमोक्र्याटिक दलका तर्फबाट निर्वाचनमा सहभागी उनी ज्यानुअरी महिनामा सत्ता सम्हाल्ने योजनासहित तयारीमा जुटेका छन्।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार बाइडनको नेतृत्वमा अमेरिकाले प्यारिस सम्झौता पुन: स्वीकार गर्नेछ।
त्यस्तै अमेरिका विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने निर्णय पनि बाइडनले बदर गर्ने बताइएको छ।
ट्रम्प प्रशासनले सात वटा मुलुकमा जारी गरेको यात्रा प्रतिबन्धको व्यवस्था पनि अन्त्य गरिने बताइएको छ।
ती सात मुलुकमा अधिकांश मुस्लिम राष्ट्र छन्।
"निको हुने समय"
राष्ट्रपति निर्वाचित भएपछिको पहिलो भाषणमा शनिवार उनले यो "निको हुने समय" भएको बताएका थिए।
डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका उनले देशलाई "विभाजित हैन एकताबद्ध पार्ने" प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
शनिवारको सम्बोधनका क्रममा उनले जनताले आफूलाई स्पष्ट रूपमा जिताएको भन्दै कृतज्ञता प्रकट गरेका थिए।
बाइडनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ७.४ करोडभन्दा बढी मत प्राप्त गरेको बताएका छन्।
"म तपाईँहरूले मप्रति देखाउनुभएको विश्वासबाट अनुगृहीत छु," उनले भने।
"म विभाजन गर्न खोज्ने हैन बरु एकताबद्ध गर्ने राष्ट्रपति बन्ने बाचा गर्छु जसले राता र नीला राज्य हैन, केवल संयुक्त राज्य (अमेरिका) देख्छ।"
अमेरिकामा डेमोक्र्याटिक पार्टीले नीलो रङ्ग र रिपब्लिकन पार्टीले रातो रङ्ग प्रयोग गर्छन्।
बाइडनले ती दुई दलले जितेका राज्यलाई ती भिन्न रङ्गबाट छुट्याइने कुराको सङ्केत गरेका हुन्।