अमेरिका निर्वाचन नतिजा: ट्रम्पले पराजय स्वीकार नगर्दै बाइडनलाई बधाईको ओइरो, नेपालबाट पनि

Published
पढ्ने समय: २ मिनेट

आइतवार नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले ट्वीटरमार्फत् अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिइन्।

उनले भनिन्, "उहाँहरूको कार्यकालमा नेपाल-अमेरिका बीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास लिएको छु।"

त्यस्तै प्रधानमन्त्री केपी ओलीले पनि उसैगरी बाइडन र ह्यारिसलाई बधाई दिएका छन्।

प्रधानमन्त्री ओलीले "अमेरिकाको नयाँ नेतृत्वसँग दुई देशबीच रहेको मित्रतापूर्ण सम्बन्ध थप सुदृढ पार्न नजिक रहेर काम गर्न इच्छुक" रहेको उल्लेख गरेका छन्।

बाइडन र ह्यारिसलाई बधाई दिनेमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा पनि छन्।

बधाईको ओइरो

अमेरिकी निर्वाचनमा जितेको प्रक्षेपण गरिएलगत्तै बाइडनलाई संसारभरिबाट बधाईको ओइरो लागेको छ।

हालसम्म रुस र चीनबाट केही प्रतिक्रिया आएको छैन।

तर इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बाइडनलाई 'इजरेलको ठूलो मित्र' भनेर व्याख्या गरे।

प्यालेस्टlइनी राष्ट्रपति महमुद अब्बासले बाइडन प्रशासनसँग काम गर्न इच्छुक भएको बताएका छन्। ट्रम्प प्रशासनको मध्यपूर्व शान्ति योजनालाई प्यालेस्टाइनले अस्वीकार गरिदिएको थियो।

नेटोका महसचिव जेन्स स्टोल्टेनबर्गले बाइडन उक्त सङ्गठनको बलियो समर्थक रहेको बताएका छन्।

ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो तथा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बाइडनलाई बधाई दिएका छन्।

ट्रम्पले अझै हार स्वीकारेका छैनन्

हालसम्म राष्ट्रपति डोनल्ड ट्रम्पले निर्वाचनमा हार स्वीकार गरिसकेका छैनन्।

उनले सार्वजनिक सम्बोधन पनि गरेका छैनन्।

शनिवार उनले केही ट्वीट गर्दै कुनै प्रमाणविनै 'निर्वाचनमा धाँधली भएको' दाबी गरेका थिए।

उनको टोली तथा रिपब्लिकन वकिलहरूले केही निर्णायक राज्यहरूमा भएको मतपरिणामविरुद्ध कानुनी चुनौती दिने तयारी थालेका छन्।

ट्रम्पको कानुनी टोलीकी एक सदस्यले अहिले नै विजयको घोषणा वा पराजयको स्वीकार गर्ने बेला नभएको बताइन्।