कोरोना भाइरस नेपालः कोभिड-१९ बाट थप १५ को मृत्यु, विज्ञ भन्छन्- दशैँपछि 'चुनौतीपूर्ण'

Published

नेपालमा गत २४ घण्टामा १,७४१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा कोभिड-१९ कारण १५ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

योसँगै नेपालमा कोभिड-१९ का कारण मृत्यु हुनेको कुल सङ्ख्या ८६२ पुगेको छ।

गत २४ घण्टामा पाँच हजार छ वटा पीसीआर परीक्षण गरिएको थियो।

स्थिति

गत २४ घण्टामा चार हजार पाँचजना निको भएसँगै नेपालमा हालसम्म एक लाख १५ हजार ६७५ जना कोरोनाभाइरस भएर निको भएका छन्। निको हुने प्रतिशत ७२ दशमलव ४ प्रतिशत छ।

नेपालमा सोमवारसम्म कुल एक लाख ५९ हजार ८३० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

गत भदौ २४ देखि प्रत्येक दिन एक हजारभन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।

कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित भएका थिए।

असोज २४ गते ५,००८ जना सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको थियो।

मन्त्रालयको पछिल्लो तथ्याङ्क हेर्दा पीसीआर परीक्षण बढी गरिएको दिन सङ्क्रमित पनि धेरै फेला पर्ने गरेका छन्।

के भन्छन् सङ्क्रामक रोग विशेषज्ञ?

सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी नेपालमा जाडोयामको आगमन र दशैँको अन्त्यसँगै स्थिति भयावह हुन सक्ने बताउँछन्।

उनी भन्छन्, "परीक्षण कम हुने गरेकोले अबका दुई-तीन दिन कम देखिन सक्छ। त्यसपछि दशैँ सकेर आवतजावत बढेसँगै ह्वात्तै बढ्न सक्ने देखिन्छ।"

"आउँदा केही दिनमा दैनिक आठ-दश हजारसम्म पनि सङ्क्रमित देखिन सक्छन्," उनले थपे।

नेपालमा पहिलो लहर नै नियन्त्रणमा आइनसकेको भन्दै उनी यही लहर नै घातक हुन सक्ने बताउँछन्।

आउँदा दिनमा राज्य र नागरिक दुवै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने डा. सुवेदीको सुझाव छ।

उनी भन्छन्, "आमनागरिकले सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने लगायत जनस्वास्थ्यका मापदण्डको पालना गर्नुपर्छ भने सरकारले परीक्षण र कन्ट्याक्ट ट्रेसिङ्ग बढाउनुपर्ने हुन्छ।"