कोरोना भाइरस नेपालः प्रजिअहरू भन्छन्, काठमाण्डू उपत्यकामा निषेधाज्ञा यी कुरामा निर्भर गर्नेछ

Published

काठमाण्डू उपत्यकामा पछिल्लो समय कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहँदा फेरि निषेधाज्ञा जारी हुन्छ कि भनेर कतिपयले आशङ्का गर्न थालेका छन्।

पछिल्लो समय देशभरि फेला पर्ने कोरोनाभाइरस सङ्क्रमितमध्ये आधा जति काठमाण्डू उपत्यकाका तीन जिल्ला काठमाण्डू, ललितपुर र भक्तपुरका हुने गरेका छन्।

दशैँमा मानिसहरूको चहलपहल बढी हुने गरेकोले जनस्वास्थ्यसम्बन्धी मापदण्डलाई कडाइका साथ पालना नगरिए त्यो बेला सङ्क्रमण झन् बढ्न सक्ने भन्दै जनस्वास्थ्यविद्‌हरूले सचेत गराउँदै आएका छन्।

शुक्रवार काठमाण्डू, ललितपुर, भक्तपुर र काभ्रेको अन्तरजिल्ला समवन्य समितिको बैठकपछि ललितपुर र भक्तपुर जिल्लाले आइतवारदेखि अत्यावश्यक बाहेकका सेवा प्रवाह स्थगित गर्ने सूचना जारी गरेका छन्।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले सार्वजनिक सेवा प्रवाह हुने कार्यालयहरूमा भिडभाड भई कोरोनाभाइरस सङ्क्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा जारी सेवा स्थगित गर्ने निर्णय गरिएको बीबीसी न्यूज नेपालीलाई बताए।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पनि सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मका लागि कार्तिक २ गतेबाट अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द रहने बताइन्।

जिल्ला प्रशासन कार्यालयकै केही कर्मचारीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि आफूहरूले केही दिनअघि नै उक्त कार्यालयबाट प्रवाह गरिने सेवा बन्द गरिसकेको काठमाण्डूका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

निषेधाज्ञाको सम्भावना छ?

हुन त यसअघि नै सङ्घीय सरकारले सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयमाथि भए अवस्था हेरी निषेधाज्ञा जारी गर्ने अधिकारी जिल्ला प्रशासन कार्यालयहरूलाई दिइसकेको छ।

तर अधिकारीहरूका अनुसार सङ्घीय सरकार पनि प्रत्यक्ष रूपमा जोडिने भएकोले काठमाण्डू उपत्यकाको हकमा निषेधाज्ञाबारे उसको पनि सरोकार हुने गरेको छ।

काठमाण्डू र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू तथा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार हालका लागि निषेधाज्ञा जारी गर्ने विषयमा कुनै निर्णय लिइएको छैन।

यद्यपि फेरि पनि निषेधाज्ञा जारी हुने वा नहुने कुरा केही विषयमा निर्भर गर्ने उनीहरूको भनाइ छ।

"कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या बढ्दै गयो र त्यसले विकराल रूप लिन थाल्यो भने फेरि निषेधाज्ञा जारी गर्ने अवस्था हुन सक्छ," भक्तपुरकी प्रमुख जिल्ला अधिकारी पाण्डेले भनिन्।

यसअघि काठमाण्डू उपत्यकाका तीनवटै जिल्लाले एकसाथ समान समयावधिका लागि निषेधाज्ञा जारी गरेका थिए।

निषेधाज्ञाको हकमा सङ्घीय सरकारले कस्तो खालको निर्देशन दिन्छ भन्ने कुरामा पनि काठमाण्डू उपत्यकामा पुनः निषेधाज्ञा जारी गर्ने वा नगर्ने विषय निर्भर गर्ने ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए।

"सङ्घीय राजधानीसँग जोडिएको पनि कुरा हो। एउटा जिल्लाले गरेपछि बाँकी दुइटाले पनि गर्नुपर्ने हुनसक्छ। त्यसकारण नेपाल सरकारले हामीलाई कस्तो खालको निर्देशन दिन्छ त्यसमा पनि निषेधाज्ञा निर्भर गर्छ," उनले थपे।

उपत्यकामा सङ्क्रमणको अवस्था

केही समययता काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्क्रमित फेला गर्ने क्रम जारी छ।

शुक्रवारकै कुरा गर्नुपर्दा पुष्टि भएका कुल ४,३९२ सङ्क्रमितमध्ये २,४०२ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका थिए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उपत्यकामा सबैभन्दा बढी काठमाण्डूमा सक्रिय सङ्क्रमित देखिएका छन्।

असोज ३० गते अपराह्णसम्म काठमाण्डूमा १६,५०६ (देशभर कुल सक्रिय सङ्क्रमितको ४४%), ललितपुरमा २,६६१ (४.५%) र भक्तपुरमा १,५२२ (४%) सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

समग्रमा अहिले सक्रिय सङ्क्रमित रहेका ३७,३८२ जनामध्ये ५५ प्रतिशतभन्दा बढी उपत्यकामा तीन जिल्लाका रहेका छन्।