सञ्जय दत्तः क्यान्सर भएको घोषणा गर्दै बलीवुड अभिनेताले भने, 'म यसलाई परास्त गर्छु'

तस्बिर स्रोत, AFP
भारतीय चलचित्र उद्योग बलीवुडका स्थापित अभिनेता सञ्जय दत्तले आफूलाई क्यान्सर भएको पुष्टि गरेका छन्। भारतीय सञ्जारमाध्यमले उनको स्वास्थ्यबारे केही सातादेखि विभिन्न अनुमान गर्दै आएका थिए।
सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा भिडिओ प्रेषित गर्दै ६१ वर्षीय दत्तले आफूले "चाँडै क्यान्सरलाई परास्त गर्ने" विश्वास व्यक्त गरेका छन्।
उनले आगामी नोभेम्बर महिनादेखि नयाँ चलचित्रको छायाङ्कन गर्ने सुरु गर्ने बताएका छन्।
अहिलेसम्म दत्तले १५० वटाभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्।
समस्या
गत अगस्ट महिनामा सास फेर्न गाह्रो भएपछि उनको कोभिड-१९ परीक्षण गरिएको थियो। तर उनलाई कोरोनाभाइरस सङ्क्रमण भएको देखिएन।
त्यसपछि मुम्बईस्थित लीलावती अस्पतालमा विभिन्न परीक्षण गरियो।
फोक्सोको क्यान्सर देखिएको अपुष्ट समाचारअनुसार आएकै बेला उनले "औषधोपचारका लागि कामबाट छोटो बिदा" लिने बताएका थिए।

तस्बिर स्रोत, AFP
सञ्जय दत्त र उनकी पत्नी मान्यताले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्नै प्रशंसकहरूलाई उनको अवस्थाबारे "चिन्ता वा अनावश्यक अनुमान नगर्न" आग्रह गरेका छन्।
आफ्ना केशविन्यासकार आलिम हकिमको सलोनमा खिचिएको भिडिओमा दत्तले देब्रे आँखीभौँदेखि टाउकोको छेउसम्म बनेको एउटा दाग देखाएका छन्।
"यो मेरो जीनवको आलो दाग हो। तर म यसलाई परास्त गर्छु। म क्यान्सरबाट चाँडै मुक्त हुन्छ।"
दत्तले नयाँ चलचित्रको छायाङ्कनमा जान पाउने भएकोमा प्रसन्नता व्यक्त गरेका छन्।

यो पनि हेर्नुहोस्

विगत
सन् २०१३ मा पाँच वर्ष जेल परेपछि उनको अभिनययात्रामा विश्राम लागेको थियो।
सन् १९९३ मा मुम्बईमा भएका विस्फोटन र बन्दुकसम्बन्धी मुद्दामा उनी दोषी ठहर भएका थिए। ती घटनामा २५७ मानिसको ज्यान गएको थियो भने ७१३ जना घाइते भएका थिए।
तर सन् २०१६ मा कारागरबाट छुटेपछि उनी फेरि चलचित्र उद्योगमा फर्किए।

तस्बिर स्रोत, Getty Images
उनले त्यसपछि अभिनय गरेका केही चलचित्रहरू धेरै सफल भए। रणवीर कपूरले अभिनय गरेको दत्तको जीवनकथामा आधारित चलचित्र धेरै चल्यो।
सञ्जय दत्तले आफू लागुपदार्थको दुर्व्यसन र मुम्बई घटनामा दोषी ठहर भएको विषयमा खुलेरै अन्तर्वार्ता दिएका छन्।
ती घटनाले आफूलाई बलियो बनाएको उनको भनाइ छ।
उनकी आमा नरगिसको सन् १९८१ मा र पहिली पत्ती ऋचा शर्माको १९९६ मा क्यान्सरकै कारण मृत्यु भएको थियो।
उनका बुवा सुनील दत्त र आमा नरगिस दुवै जना कलाकार थिए।
सुनीत दत्त पछि राजनीतिमा पनि लागे।

तस्बिर स्रोत, Getty Images






















