तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
राष्ट्रपतीय बहस: ट्रम्पले भर्चुअल बहसमा सहभागी नहुने भनि 'खोचे थापेपछि' अब हे होला
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भर्चुअल बहसमा सहभागी नहुने बताएपछि आउँदो साता र त्यसपछि हुने तेस्रो राष्ट्रपतीय बहस समेत अन्योलमा परेको देखिएको छ।
उनी र उनका डेमोक्र्याट प्रतिस्पर्धी जो बाइडनबीचको निर्धारित बहस इन्टरनेटको माध्यमबाट गरिने बताइएपछि ट्रम्पले आफूलाई त्यो मान्य नहुने जनाएका छन्।
आयोजकहरूले अक्टोबर १५ तारिखमा हुने बहसमा संलग्न सबैको 'स्वास्थ्य र सुरक्षाको निम्ति' दुवै प्रतिस्पर्धीलाई फरक-फरक स्थानबाट सहभागी गराइने बताएका छन्।
त्यसबाट आक्रोशित राष्ट्रपति ट्रम्पले फक्स बिजनेश च्यानललाई दिएको फोन अन्तर्वार्तामा समय खेर फाल्न आफू त्यसमा सहभागी नहुने बताए।
'घरिघरि मन फेर्ने राष्ट्रपति'
उनले भने, "कम्प्युटरको पछाडि बसेर गरिने भर्चुअल बहस हास्यास्पद हो।"
जो बाइडनले राष्ट्रपतिमाथि हरेक सेकेन्ड धारणा फेर्ने गरेको आरोप लगाएका छन्। "तपाईँलाई थाहै हुँदैन कि राष्ट्रपतिको मुखबाट कतिबेला के निस्किन्छ भनेर," बाइडनको टिप्पणी छ।
उनको चुनावी अभियान समूहले ट्रम्पमाथि मतदाताको प्रश्नको सामना गर्न नचाहेको आरोप लगाएको छ।
जवाफमा ट्रम्पका अभियानकर्ताहरूले आयोजकको निर्णयलाई 'बाइडनको प्रतिरक्षा गर्ने हतारो' भनि टिप्पणी गरेका छन्।
बरू त्यसको साटो ट्रम्पले चुनावी र्याली आयोजना गर्ने उनीहरूको भनाइ छ।
उनका चिकित्सकले शनिवार अर्थात् कोभिड १९ बाट सक्रमित पुष्टि भएको १० औँ दिनदेखि उनी काममा फर्किन योग्य रहेको बताइसकेका छन्।
होला त बहस?
तेस्रो बहस अक्टोबर २२ तारिखमा हुने भनिएको थियो। अमेरिकामा नोभेम्बर ३ तारिखमा राष्ट्रपतिको चुनाव हुँदैछ।
ट्रम्पको समूहले त्यसको पाँच दिनअघि तेस्रो आमने सामने बहस हुनुपर्ने बताएको छ। तर बाइडनको समूहले त्यो हुन नसक्ने प्रतिक्रिया दिएको छ।
संवाददाताहरू भन्छन्, "ट्रम्पले प्रत्यक्ष रूपमा नगरिने बहसमा भाग लिएर समय खेर नफाल्ने टिप्पणी गरेपछि यो बहस अब नहुने जस्तो देखियो।"
सोमवार अस्पतालबाट ह्वाइटहाउस फर्किए यता राष्ट्रपति डोनल्ड ट्रम्प सार्वजनिक रूपमा देखा परेका छैनन्।
सेप्टेम्बर २९ मा जो बाइडनसँग भएको पहिलो प्रत्यक्ष बहसपश्चात् उनी कोरोनाभाइरस सङ्क्रमित भएको पुष्टि भएको थियो। उक्त बहसको चर्को आलोचना भएको थियो।