'जुम्ल्याहा सन्तान पाउन चाहन्छौँ': जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको बिहे

    • Author, माकुओची ओकाफोर
    • Role, लेगोस
  • Published
  • पढ्ने समय: ४ मिनेट

गत सप्ताहान्तमा दक्षिणपश्चिमी नाइजिरियाको इबादान सहरस्थित एउटा गिर्जाघरमा भेला भएका पाहुनाहरूलाई आफूहरू एउटा दुर्लभ दृश्यको साक्षी बनेको थाहा थियो।

जुम्ल्याहा दाजुभाइ ताइवो र केहिन्दे ओगुन्टोयले जुम्ल्याहा दिदीबहिनी ताइवो र केहिन्दे अदेदिरानसँग संयुक्त समारोहमा बिहे गरे।

दक्षिणपश्चिम नाइजिरियामा प्रमुख रूपमा बसोबास गर्ने योरुबा समुदायमा जुम्ल्याहा सन्तान जन्मिने दर असाधारण रूपमा उच्च छ। तर दुई जोडी जुम्ल्याहाले एकअर्कासँग विवाह गर्नु भने दिनहुँ हुने घटना चाहिँ होइन।

"हामी धेरै जुम्ल्याहालाई चिन्छौँ, तर यो बिहे ईश्वरले नै जुराइदिएको जस्तो लाग्छ। हामीले जुम्ल्याहा दिदीबहिनीसँगै बिहे गर्ने सपना देखेका थियौँ," ताइवो ओगुन्टोयले आफ्नो बिहेको दिन बीबीसी योरुबासँग भने।

"ईश्वरको कृपाले हामी हाम्रो पहिलो र दोस्रो सन्तान दुवै जुम्ल्याहा होऊन् भन्ने प्रार्थना गर्छौँ। यही हाम्रो कामना हो।"

पहिला दिदीबहिनीले अस्वीकार गरेका थिए प्रेमप्रस्ताव

योरुबा संस्कृतिमा जुम्ल्याहा सन्तानलाई वरदानका रूपमा हेरिन्छ र उनीहरूको नाम जन्मिनुअघि नै निर्धारित भइसकेको हुन्छ।

ठूलो बच्चाको नाम "ताइवो" राखिन्छ। त्यो नामको अर्थ "जसले संसारलाई जाँच्छ" हो। सानो बच्चाको नाम "केहिन्दे" राखिन्छ, जसको अर्थ "पछि आउने व्यक्ति" हो।

ओगुन्टोय-अदेदिरानको प्रेमकथा एक दशकअघि आरम्भ भएको थियो। त्यति बेला उनीहरू चारै जना इबादान विश्वविद्यालयमा अध्ययनरत थिए।

एक प्राध्यापकले ओगुन्टोय दाजुभाइलाई उनीहरूले भेट्नुपर्ने जुम्ल्याहा दिदीबहिनीको एक जोडीबारे बताएकी थिइन्। त्यो सुनेर उनीहरू जिज्ञासु बनेका थिए।

"हामीले यसअघि अन्य जुम्ल्याहा दिदीबहिनी नभेटेका होइनौँ। हामीमध्ये केहीले उनीहरूसँग प्रेमपूर्ण सम्बन्ध पनि राख्यौँ, तर कहिलेकाहीँ कुरा मिल्दैन," ताइवो ओगुन्टोयले भने।

पहिला अदेदिरान दिदीबहिनीले चिनजान गर्ने प्रस्ताव अस्वीकार गरेका थिए। उनीहरूले प्राध्यापकको फोन समेत उठाएनन्। तर अन्ततः उनीहरूको भेटघाटको चाँजोपाँजो मिल्यो।

अहिले ४० वर्ष टेकिसकेका ताइवो ओगुन्टोय सम्झन्छन्, "अन्ततः हामी उनीहरूलाई भेट्न गयौँ। हामीले कुराकानी गर्‍यौँ, तर त्यति बेला उनीहरू प्रेमसम्बन्धमा रुचि राख्दैनथे।"

यसपछि चारै जना असल साथी बने। तर समयसँगै उनीहरूको जीवन फरक दिशातर्फ अघि बढ्यो।

इबादानमा स्नातकोत्तर अध्ययन गरिरहेका दिदीबहिनी थप अध्ययनका लागि विदेश गए भने दाजुभाइले अमेरिका र दक्षिण अफ्रिकासहित विभिन्न देशमा यात्रा र काम गरे।

कसरी झाँगियो माया?

वर्षौँ बितेपछि दाजुभाइले उनीहरूलाई फेरि सम्पर्क गरे। सुरुमा केही शङ्का र उपशङ्का पनि उत्पन्न भए। तर उनीहरूबीचको सम्बन्ध गहिरिँदै गयो।

दुवै जोडीका परिवार यी सम्बन्धबाट निकै प्रसन्न भए। ताइवो ओगुन्टोयका अनुसार उनले आफ्ना ससुराली पक्षसँग तुरुन्तै आत्मीय सम्बन्ध स्थापित गरे।

"सबै जना हामीलाई देखेर यति खुसी थिए कि हामीले उनीहरूलाई निकै पहिलादेखि चिने जस्तै लाग्थ्यो," उनले भने। "हामीलाई आफ्नै बुवाको घरमा छोरालाई जस्तै व्यवहार गरियो।"

वैवाहिक समारोहमा आफन्तहरू आकर्षक पहिरनमा उपस्थित भए। दुवै जोडीले बेहुलाबेहुलाीको पोसाकमा थिए।

दुवै दुलाहा स्थानीय रूपमा 'जुम्ल्याहा संस्कृति'को प्रवर्धनका लागि परिचित भएकाले समारोहमा अरू जुम्ल्याहाहरू पनि उपस्थित थिए।

"ओगुन्टोय ट्विन्स" का नामले परिचित यी दाजुभाइ सांस्कृतिक तथा पर्यटनसम्बन्धी विभिन्न अभियानहरूमा सक्रिय छन्।

प्रेमकथाको नयाँ अध्याय

ओगुन्टोय दाजुभाइमा केही शारीरिक भिन्नताहरू छन्। तर उनीहरूका पत्नीहरू भने एकदमै उस्तै देखिने समान जुम्ल्याहा हुन्।

"हाम्रा श्रीमतीहरू यति धेरै उस्तै देखिन्छन् कि कहिलेकाहीँ उनीहरूका आफ्नै परिवारका सदस्यहरू पनि झुक्किन्छन्। तर हामी कहिल्यै झुक्किँदैनौँ, हामी आफ्ना श्रीमतीलाई राम्ररी चिन्छौँ," केहिन्दे ओगुन्टोयले भने।

दाजुभाइका अनुसार उनीहरूको स्वभाव आफ्ना पत्नीहरूसँग धेरै मिल्दोजुल्दो छ।

उनीहरूले आफूहरूलाई परिस्थितिअनुसार कहिले शान्त र अन्तर्मुखी त कहिले मिलनसार र बहिर्मुखी हुने व्यक्तिका रूपमा वर्णन गरेका छन्।

उनीहरू एकअर्कासँग धेरै नजिक भए पनि बिहेपछि दुवै जोडी अलगअलग बस्ने कुरा ताइवो ओगुन्टोयले बताए।

"यस विषयमा हाम्रो आफ्नै विशेष योजना छ। समयसँगै मानिसहरूले त्यसबारे थाहा पाउने छन्," उनले भने।

अहिलेलाई नवविवाहित जोडीहरू आफ्नो प्रेमकथाको नयाँ अध्यायको आनन्द लिइरहेका छन्।

उनीहरूको सम्बन्ध लगभग पूर्णजस्तो पहिलो भेटबाट आरम्भ भएको थियो, त्यसपछि वर्षौँसम्म रोकिए जस्तै भयो र अन्ततः फक्रिँदै गएर यस क्षेत्रमै सबैभन्दा धेरै चर्चा गरिएका दुई विवाह सम्बन्धमा परिणत भयो।

बीबीसी योरुबाका जोन अलाबीको अतिरिक्त रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।