आङरिता शेर्पा: कैयौँका लागि किंवदन्ती लाग्ने कीर्तिमान राखेका हिमाल आरोहीको निधन

तस्बिर स्रोत, Bikash Rauniar/Nepal picture library
आफ्नो समयका सर्वाधिक चर्चित सगरमाथा आरोही आङरिता शेर्पाको सोमवार काठमाण्डूमा निधन भएको छ।
उनले सर्वोच्च शिखर सगरमाथा बिना अक्सिजन दश पटक आरोहण गरेका थिए।
उनले बनाएका कीर्तिमानका कारण पर्वतारोहण जगतले हिउँ चितुवाको उपनाम दिएको थिए।
दुई दशक अघि कलेजो सम्बन्धी रोगबाट पीडित भएपछि पर्वतारोहण त्यागेका उनलाई साढे चारवर्ष अघि मस्तिष्क सम्बन्धी समस्या देखा परेको थियो।
आङरिताको निधनले नेपालले पर्वतारोहण क्षेत्रका एक जना चम्किला नक्षत्र गुमाएको उनलाई नजिकबाट चिन्ने पर्वतारोहण क्षेत्रका अग्रणी व्यक्तित्वहरूले बताएका छन्।
बिहानसम्म स्वास्थ्य अवस्था सामान्य नै रहेपनि एक्कासी टाउको दुखेको र त्यसपछि ७२ वर्षका शेर्पाको निधन भएको उनको परिवारलाई भेटेपछि नेपाल पर्वतारोहण सङ्घका पूर्व अध्यक्ष आङ्छिरिङ शेर्पाले बीबीसीलाई बताए।
उनीप्रति अन्तिम सम्मान व्यक्त गर्न आङरिताको शवलाई दुई दिन बौद्धस्थित टुसालमा रहेको शेर्पा सेवा केन्द्रको गुम्बामा राख्ने र त्यसपछि बुधवार दाहसंस्कार गरिने जानकारी दिए।
पर्यटन विभाग अन्तर्गत पर्वतारोहण हेर्ने महशाखाकी प्रमुख मिरा आचार्यले आङरिता शेर्पाको निधनपछि राज्यले कसरी र कस्तो किसिमको सम्मान गर्न मिल्छ भनेर आफूले अध्ययन गरिरहेको बताइन्।
उनी भन्छिन्, “कानूनले हामीलाई के गर्न दिन्छ र के गर्नु उपयुक्त हुन्छ भन्नेबारे छलफल गरिरहेका छौँ। अहिले नै निष्कर्षमा पुगिसकेको छैनौँ।”
अक्सिजन बिना सगरमाथा चढेर कीर्तिमान बनाउने हिउँ चितुवा
सन् १९८० र सन् १९९० को दशकमा पर्वतारोहण जगतमा उनले किंवदन्ती जस्ता सुनिने कीर्तिमान राखेका थिए।

तस्बिर स्रोत, Bikash Rauniar/Nepal picture library
सन् १९८३ मा आङरिताले सगरमाथा चढ्नु पाँच वर्ष अघि नै अष्ट्रियाका पिटर हेब्लर र इट्लीका राइनहोल्ड मेस्नरले अक्सिजनबिना सगरमाथा चढेका थिए।
१५ वर्षको उमेरमा भरियाका रूपमा पर्वतारोहण पेशा शुरू गरेका आङरिताले लगातार १० पटक अक्सिजनबिना बिश्वको चुचुरो पुगेर संसारलाई आश्चर्यचकित बनाइदिए।
पहिलो पटक जर्मन र अमेरिकी टोलीसँग दक्षिण पूर्वी मोहडाबाट सन् १९८३ मा सगरमाथाको आरोहण गरेका उनले सन् १९९६ सम्म आइपुग्दा १० पटक अक्सिजनबिना सगरमाथा आरोहण गरिसकेका थिए।
नेपाल पर्वतारोहण सङ्घका पूर्व अध्यक्ष तथा एशियाली पर्वतारोहण महासङ्घका निवर्तमान अध्यक्ष आङ्छिरिङ शेर्पा कीर्तिमान राख्ने सोच राखेर आङरिताले त्यस्तो नगरेको बताउँछन्।
उनले भने, “उहाँमा रेकर्ड राख्ने सोच पनि थिएन। उहाँले शुरू शुरूमा मलाई त्यति अक्सिजन लगाउन आवश्यकता छैन कुनैपनि समस्या पनि छैन भन्नुहुन्थ्यो। अक्सिजन भारी हुन्छ र मैले मेरो साथमा जाने अरू आरोहीलाई पनि सघाउनुपर्छ भन्ने गर्नुहुन्थ्यो। कतिचोटि बिना अक्सिजन चढिसकेपछि किन फेरी अक्सिजन लगाउने भन्ने सोच भएर पनि उहाँले पछिल्ला आरोहणहरूमा अक्सिजन नलगाउनुभएको हो।”
आङ्छिरिङ शेर्पाका अनुसार आफ्नो समयका पर्वतारोहीमध्ये आङरिता जति शक्तिशाली आरोही कोही पनि थिएनन्।
आङरिता शेर्पा आँफैले चाँहि अक्सिजन बिना सगरमाथाको सफलतापूर्वक आरोहण गर्न सक्दा आफ्नो आत्मविश्वास र पेशाप्रतिको प्रतिबद्धता बढेको उल्लेख गरेका छन्।
एभरेष्ट हिस्ट्री डटकममा छापिएको एउटा लेखका अनुसार हिमाल आरोहणका क्रममा हुने मानवीय क्षतीले आफूलाई एकदमै दुखी बनाउने भएपनि त्यसलाई आफूले पर्वतारोहीको जीवनको हिस्सा ठानेको शेर्पाले बताएका छन्।
आत्मविश्वास र साहसका पर्याय

तस्बिर स्रोत, AFP/Project Possible
उनले जोखिमपूर्ण अवस्थामा पनि आफू र आफ्नो आरोहण दलको सुरक्षामा आफूलाई अब्बल प्रमाणित गरेको पाइन्छ।
उनले सन् १९८५ को एप्रिलमा पहिलो नर्वेली आरोहण दलका टोली नेतालाई आँधी आइरहेको समयमा सगरमाथाको चुचुरोमा पुर्याएका थिए।
त्यस्तै सन् १९८७/८८ को हिउँद याममा हिउँद याममा गरेको आफ्नो एक मात्र सगरमाथा आरोहणका क्रममा उनले एउटा दक्षिण कोरियाली समूहलाई सघाएका थिए।
त्यसबेला खराब मौसमका कारण एक जना कोरियाली पर्वतारोहीसँगै आफू हराएको र दुवै जनाले शरिरलाई न्यानो बनाएर जिउँ जोगाइराख्न पुरै रातभरी एरोबिक व्यायाम गरेको आङरितालाई उदृत गर्दै जनाइएको छ।
उनले सन् १९९० मा नेपाली सेनाका सदस्य सम्मिलित टोलीलाई सगरमाथा आरोहण गर्न सघाएका थिए।
उक्त टोलीको नेतृत्व गरेका नेपाली सेनाका तत्कालीन प्रमुख सेनानी चित्रबहादुर गुरुङले अक्सिजन बिना पटक पटक आरोहण गरिसकेका शेर्पा सहभागी हुँदा टोलीका अरू सदस्यको मनोबल पनि उच्च बनेको सम्झन्छन्।
उनले भने, “उक्त आरोहण दल सगरमाथाको चुचुरोमा पुग्ने कुनै एउटा देशको सेनाको हालसम्मकै एउटा मात्रै स्वतन्त्र पर्वतारोहण दल हो। नेपाली सेना र शेर्पा सदस्यहरू रहेको टोलीले हाम्रो हिमालमा हाम्रो अपनत्व रहनुपर्छ भनेर उच्च मनोबलसाथ काम गरेको थियो।”
झण्डै ५० जना पूर्व तयारीमा सम्मिलित भएपनि उक्त आरोहणदलका एक सैनिक सहित चार जना चुचुरोमा पुगेका थिए।
नेपाली सेनाको रथीपदबाट अवकाशप्राप्त गुरुङ शेर्पालाई “एकदमै साधारण र इमान्दार” व्यक्तिका रूपमा सम्झन्छन्।
सन् १९९६ मा अन्तिम पटक सगरमाथाको आरोहण गरेका उनले त्यसपछि पनि विश्वको सर्वोच्च शिखरमा पुग्ने इच्छा पालेका थिए।
स्वास्थ्यले साथ दिए र राम्रो टोलीसँग जाने विशेष प्रस्ताव आए आरोहण गर्ने उनले बताए पनि गम्भिर प्रकृतिको कलेजोको रोग लागेकाले उनको त्यो इच्छा पूरा हुन पाएन।
बरू उनका दुई छोराहरू कर्साङ र छेवाङ शेर्पा आफ्नो बुवाको पदचाप पछ्याउँदै पर्वतारोहणमा लागे।
नौ पटक सगरमाथा आरोहण गरेका भनिएका कर्साङको सन् २०१२ मा निधन भएको थियो भने पाँच पटक आरोहण गरेका छेवाङ अमेरिकामा रहेको पर्वतारोहण सङ्घका पूर्व अध्यक्ष शेर्पा बताउँछन्।
आङरिताले आफ्ना छोराहरू हिमाल आरोहणमा लागेकोमा खुसी व्यक्त गर्ने गरेका थिए। उनको परिवारले आङरिता ट्रेक एण्ड एक्सपिडिशन नामक पर्वतारोहण गराउने कम्पनी पनि खोलेको थियो।
हाल उनी आफ्नी छोरीसँग राजधानीको जोरपाटीमा बस्दै आएका थिए।
गरिब शेर्पा परिवारमा सन् १९४८ मा जन्मिएका आङरिताले औपचारिक शिक्षा वा पर्वतारोहणको तालिम लिएका थिएनन्।
उनले एकपटक धौलागिरी आरोहणका लागि कम उचाइसम्मको भरियाका रूपमा भनेर काममा लगाइदाँ आफूले जुत्ता वा अरू हिमाल चढ्न आवश्यक सामान बिना तेश्रो शिविरसम्म पुग्नुपरेको उल्लेख गरेका थिए।
त्यसबेला आरोहणदलले आधारभूत सामग्री नदिएको भनेर सरदारसँग गुनासो गरेको र पछि आफूले शरीरसँग नमिल्ने नै भएपनि बुट र अन्य न्यानो कपडा पाएको बताएका थिए।
इमानदार र साधारण व्यक्तित्व
खुम्बु क्षेत्रको यीलाजुङ गाउँमा सन् १९४८ मा जन्मिएका उनको बाल्यकाल चौँरी चराएर र तिब्बतसम्म व्यापारका लागि समान बोकेर बित्ने गरेको थियो।
सन् १९९९ मा आफ्नो पर्वतारोहण करिअर अन्त्य गर्ने बेलासम्म पुग्दा उनले आठ हजार मिटर भन्दा अग्ला हिमालको आरोहण १८ पटक गरेको बताइन्छ। त्यसमा लगभग सबै अक्सिजन प्रयोग नगरी गरिएका थिए।
नेपाल पर्वतारोहण सङ्घले शेर्पाको निधनलाई नेपालको पर्वतारोहण क्षेत्रमा भएको ठूलो क्षति भनेकोछ।
सङ्घका अध्यक्ष सन्तवीर लामा भन्छन्, “हिउँ चितुवाका नामले चर्चित उहाँ हामी सबैको अभिभावक पनि रहँदै आउनुभएको थियो। आज हामीले नेपालको पर्वतारोहण क्षेत्रका मुख्य नेतालाई गुमाएका छौँ।”
विभिन्न समयमा सङ्घले आङरितालाई स्वास्थ्य उपचार र मासिक पारिश्रमिक उपलब्ध गराएको उल्लेख गर्दै लामाले थपे, “उहाँले मलाई यसो गरे हुन्थ्यो उसो गरे हुन्थ्यो कहिल्यै भन्नुभएन। कैयौँ शेर्पाहरूले हिमाल चढेपछि अमेरिका जापान पुगेका तर जति दु:ख पाएपनि आफूलाई नेपालमा नै बस्न मन रहेको उहाँले भन्नुहुन्थ्यो।”






















