वीच्याट: चिनियाँ एप डाउनलोड प्रतिबन्ध गर्ने अमेरिकी प्रयास न्यायाधीशद्वारा रोक

तस्बिर स्रोत, Reuters
सन्देश आदानप्रदान तथा भुक्तानीका लागि प्रयोग गरिने चिनियाँ एप वीच्याटमाथि प्रतिबन्ध लगाउने अमेरिकी सरकारको प्रयासलाई एक न्यायाधीशले विफल पारिदिएकी छन्।
अमेरिकी म्याजिस्ट्रेट न्यायाधीश लरेल बीलरले उक्त प्रतिबन्धले वाक स्वतन्त्रताको प्रत्याभूति दिलाएको संविधानको पहिलो संशोधनसँग सम्बन्धित विषयहरूबारे गम्भीर प्रश्न उत्पन्न भएको बताएकी छन्।
अमेरिकाको वाणिज्य मन्त्रालयले आइतवाबाट त्यहाँको एप स्टोरमा वीच्याटमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।
ट्रम्प प्रशासनले उक्त एपले आफ्नो देशको राष्ट्रिय सुरक्षामा खतरा पारेको आरोप लगाएको छ। वीच्याटले प्रयोगकर्ताहरूको डेटा चिनियाँ सरकारलाई उपलब्ध गराउन उसको भनाइ छ।
तर चीन र वीच्याट दुवैले उक्त दाबीको खण्डन गरेका छन्। वीच्याट बनाउने कम्पनी टेन्सेन्टले यसअघि अमेरिकी प्रतिबन्धलाई "दुर्भाग्यपूर्ण" भनेको थियो।
प्रतिबन्ध गरिने सूचीमा रहेको अर्को चिनियाँ एप टिकटक र अमेरिकी कम्पनी ओरकल अनि वाल्मार्टसँग अमेरिकामा सञ्चालनका लागि सम्झौता भएको केही समयपछि अदालतको त्यस्तो फैसला आएको हो।
अमेरिका किन वीच्याटमाथि प्रतिबन्ध लगाउन चाहन्छ?

तस्बिर स्रोत, Reuters
अमेरिकी वाणिज्यमन्त्रीले एउटा विज्ञप्तिमा उक्त एपमाथि प्रतिबन्ध लगाउने निर्णय चीनद्वारा अमेरिकी नागरिकहरूको "व्यक्तिगत डेटा" सङ्कलनसँग जुझ्नका लागि गरिएको उल्लेख गरेका छन्।
मन्त्रालयका अनुसार वीच्याटले "नेटवर्क गतिविधि, स्थान र ब्राउजिङ तथा सर्च हिस्ट्रीजस्ता विभिन्न किसिमका डेटा" सङ्कलन गर्ने गरेको छ।
मन्त्रालयको शुक्रवारको विज्ञप्तिमा चीनको सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीले "राष्ट्रिय सुरक्षा, विदेशनीति र अमेरिकी अर्थतन्त्रमा खतरा पार्न यी एपहरूको प्रयोग गर्ने माध्यम र अभिप्राय प्रदर्शन गरेको" उल्लेख छ।
वीच्याटको सञ्चालक टेन्सेन्टले भने आफ्नो एपमा आदानप्रदान गरिने सन्देश गोप्य रहने बताएको छ।
वीच्याट के हो?
वीच्याटको स्थापना सन् २०११ मा भएको हो। यसलाई विभिन्न रूपमा प्रयोग गर्न सकिन्छ।
प्रयोगकर्ताहरूले एपबाट कुराकानी गर्नका साथै मोबाइलबाटै भुक्तानी दिन र अन्य स्थानीय सेवा प्रयोग गर्न सक्छन्।
चीनमा यसलाई "एप फर एभ्रीथिङ"का रूपमा व्याख्या गरिएको छ र यसका एक अर्बभन्दा बढी मासिक प्रयोगकर्ता छन्।
अन्य चिनियाँ सामाजिक सञ्जालजस्तै वीच्याटले पनि चीन सरकारले गैरकानुनी मान्ने सामग्रीलाई सेन्सर गर्नुपर्ने हुन्छ।
मार्च महिनामा प्रकाशित एउटा रिपोर्टमा वीच्याटले ज्यानुअरी १ तारिखबाटै कोरोनाभाइरस महामारीबारे 'कीवर्ड' हरू सेन्सर गरेको उल्लेख गरिएको छ।
तर वीच्याटले भने 'इ्नक्रिप्शन'को अर्थ अरूले कसैको सन्देश 'हेर्न नसक्ने'; शब्द, अडिओ र तस्बिरजस्ता सामग्री आफूहरूको सर्भरमा नबस्ने अनि एक पटक प्रापकले पढिसकेपछि ती सबै सामग्री मेटिने बताएको छ।




















