टिकटकः डोनल्ड ट्रम्पले लगाएका प्रतिबन्धविरुद्ध अमेरिकामा यसै साता कानुनी उपचार सुरु गरिने

तस्बिर स्रोत, Getty Images
चिनियाँ भिडिओ शेयरिङ एप टिकटकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएको प्रतिबन्धलाई चुनौती दिन कानुनी उपचार खोज्न थालेको छ।
राष्ट्रपति ट्रम्पको एउटा कार्यकारी आदेशले मध्यसेप्टेम्बरदेखि टिकटकको स्वामित्व भएको कम्पनी बाईटडान्ससँग कारोबार गर्न निषेध गरेको छ।
अमेरिकी अधिकारीहरूले टिकटकले अमेरिकी प्रयोगकर्ताहरूको डेटा चिनियाँ सरकारलाई पठाउन सक्ने आशङ्का व्यक्त गरेका छन्। तर बाईटडान्सले त्यस्ता आशङ्का तथा आरोप निराधार रहेको बताउँदै आएको छ।
छोटा भिडिओहरू शेअर गर्न मिल्ने उक्त एपको अमेरिकामा आठ करोड सक्रिय प्रयोगकर्ता छन्।
कानुनी प्रक्रिया
टिकटकले करिब एक वर्षदेखि ट्रम्प प्रशासनसँग आफूले सम्बन्ध राख्न प्रयास गरेको तर त्यसका लागि उचित प्रक्रियाको कमी र "तथ्यप्रति ध्यान नदिने" प्रशासन भएकाले त्यसो गर्न सम्भव नभएको बताएको छ।
कम्पनीका प्रवक्ताले भनेका छन्, "कानुनी शासन रहेको छ र हाम्रो कम्पनी एवम् प्रयोगकर्ताहरूलाई निष्पक्ष रूपमा व्यवहार गरियोस् भन्ने सुनिश्चित गर्न हामीसँग कार्यकारी आदेशलाई न्यायिक प्रणालीमार्फत् चुनौती दिनुको विकल्प छैन।"
बीबीसीका एक व्यापार संवाददाताका अनुसारका टिकटकले यसै साता कानुनी प्रक्रिया सुरु हुने अपेक्षा गरेको छ।
गत शुक्रवार एउटा चिनियाँ-अमेरिकी कम्पनीले राष्ट्रपतिको प्रतिबन्धविरुद्ध त्यस्तै खालको अर्को एउटा मुद्दा दायर गरेको छ।

तस्बिर स्रोत, Getty Images
उक्त मुद्दा सामाजिक सञ्जाल एप वीच्याटलाई प्रतिबन्ध लगाइएको विषयमा दायर भएको हो।
वीच्याट चिनियाँ कम्पनी टेन्सेन्टको स्वामित्वमा छ।
टिकटकमा छोटा भिडियोहरू शेअर गर्न मिल्छ। पछिल्ला महिनाहरूमा किशोरकिशोरीमाझ यो अझै लोकप्रिय भएको देखिएको छ।
तर ट्रम्पले उक्त एपमार्फत् चीनले अमेरिकी कर्मचारीहरू कहाँ छन् भन्ने पत्ता लगाउन सक्ने दाबी गरेका छन्।
उनले धम्क्याउन र जासुसी गर्न कम्पनीहरूका सूचनाहरू पनि चीनलाई दिइन सक्ने आरोप पनि लगाएका छन्।
अमेरिकी दाबी
चिनियाँ कम्पनीहरूको विस्तारले अमेरिकाको राष्ट्रिय सुरक्षा, विदेशनीति र अर्थतन्त्रलाई खतरामा पार्ने ट्रम्पले बताएका छन्।
उनले कार्यकारी आदेशमा चिनियाँ कम्युनिस्ट पार्टीले एपले सङ्कलन गरेको डेटामा पहुँच पाउने दाबी गरेका छन्।
टिकटकले चाहिँ आफूले कहिल्यै पनि चिनियाँ अधिकारीहरूलाई डेटा नदिएको बताएको छ।
अमेरिकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै जाँदा ट्रम्पले चीनविरुद्ध चलाइरहेका अभियानमा टिकटक र वीच्याटविरुद्धको कारबाही पछिल्लो घटना हो।
उनी राष्ट्रपति भएदेखि नै चीनसँग व्यापार युद्ध चलिरहेको छ।
तर टिकटकलाई प्रतिबन्ध लगाउनेमा अमेरिका मात्र एक्लो देश होइन।
भारतले पनि उक्त एप बन्द गराएको छ भने अस्ट्रेलियाले पनि त्यस्तै कारबाही गर्न खोजेको छ।




















