संसारभरि प्रत्येक तीन बालबालिकामध्ये एक जना ‘विषालु सिसाको जोखिममा’

तस्बिर स्रोत, Dr. Abbas Mahdi
- Author, नवीनसिंह खड्का
- Role, बीबीसी वातावरण संवाददाता
- Published
भारतको उत्तर प्रदेश राज्यका चार वर्षीय बालक सर्वजित सिंहले निरन्तर बान्ता गरेपछि उनका पिता मन्जित सिंहले चिकित्सककहाँ पुर्याए।
चिकित्सकले ती बालकमा अज्ञात कारणले रक्ताल्पता भएको बताए।
त्यसका केही महिनामा सर्वजित झन् बिरामी भए। बान्ता निरन्तर भइरहन्थ्यो। थप परीक्षणपश्चात् उनको रगतमा सुरक्षित स्तरभन्दा ४० गुना बढी लीड अर्थात् सिसा भेटियो।
सिसाको जोखिमबारे गरिएको एक अध्ययनमा संसारभरिका प्रत्येक तीन बालबालिकामध्ये एक जना प्रभावित भएको हुनसक्ने देखिएको छ।
युनिसेफ तथा प्योर अर्थ नामक संस्थाले गरेको अध्ययनमा खासगरक्ष न्यून तथा मध्यम आय भएका मुलुकहरूमा झन्डै ८० करोड बालबालिकामा यसको दीर्घकालीन प्रभाव परेको हुनसक्ने अनुमान गरिएको छ।
विश्वभरि परेको कुल प्रभावको आधाजति दक्षिण एशियाको भागमा परेको छ।

तस्बिर स्रोत, Pure Earth
जथाभावी पुनः प्रयोग गरिएका सिसाका ब्याट्री, मिल्काइएका इलेक्ट्रोनिक सामग्रीको फोहोर, खानीजन्य गतिविधि तथा असुरक्षित रङ्गरोगन नै विषालु सिसाको मुख्य कारक रहेको प्रतिवेदनमा उल्लेख छ।
गाडीका ब्याट्री मुख्य दोषी
प्रतिवेदनका लेखकहरूका अनुसार उनीहरूको निचोड मूलत: यूनिभर्सिटी अफ वाशिङ्टनको स्वास्थ्य मापदण्ड तथा समीक्षा संस्था (आइएचएमई) ले विश्वभरिका दशौँ हजार बालबालिकाको रगत परीक्षण गरेर निकालेको तथ्याङ्कमा आधारित छ।
"सन् २००० यता न्यून तथा मध्यम आय भएका मुलुकहरूमा गाडीको सङ्ख्या तेबर बढेको छ। यसले लीड-एसिड भनिने सिसायुक्त ब्याट्रीको पुनः प्रयोग बढेको छ, त्यो पनि असुरक्षित तवरले," प्रतिवेदनका एक लेखक डा. निकोलस रिजले बीबीसीलाई भने।
विश्वमा प्रयोग हुने कुल सिसामध्ये ८५ प्रतिशत यस्तै ब्याट्री बनाउन खपत हुन्छ। अधिकांश सिसा पुराना ब्याट्रीबाटै झिकिएको हुन्छ।
"फलस्वरूप प्रयोग भइसकेकामध्ये आधाजसो लीड-एसिड ब्याट्री अनौपचारिक अर्थतन्त्रमै फर्किन्छन्," प्रतिवेदनमा लेखिएको छ।

तस्बिर स्रोत, Pure Earth
"नियमन नगरिएका वा अवैध कारखानामा हुने पुनर्प्रयोग प्रशोधनमा यस्ता ब्याट्री खोलेर तेजाब फ्याँकिन्छ। सिसाको धूलो पनि भुइँमै पुग्छ। त्यसपछि खुला भट्टीमा सिसा पगालिन्छ र त्यसबाट निस्कने विषालु धूवाँ तथा धूलोले वरपरका छरछिमेक प्रदूषित हुन्छन्।"
बालबालिका किन जोखिममा?
शरीर र तौलको अनुपात तुलना गर्ने हो भने वयस्कहरूभन्दा बालबालिकाले पाँचगुना धेरै खाना, पानी तथा हावा प्रयोग गर्छन्।
"त्यो भनेको उनीहरूले माटोमा वा पानीमा वा हावामा फ्याँकिएका यस्ता न्यूरोटक्सिन (स्नायुप्रणालीलाई प्रभावित गर्ने विषालु पदार्थ) पनि वयस्कभन्दा धेरै शरीरभित्र लिन पुग्छन्," प्रतिवेदनमा उल्लेख छ।

तस्बिर स्रोत, Manjit Singh
साथै पाँच वर्षभन्दा कम उमेरका शिशु तथा बालबालिकालाई यसले धेरै प्रभाव पार्छ किनकि यसले उनीहरूको मस्तिष्क विकसित हुन नपाउँदै बिगारिदिन्छ। जसले गर्दा जीवनभरि स्नायुप्रणालीसम्बन्धी वा शारीरिक वा ज्ञानार्जनको क्षमतामा हानि पुग्छ।

तस्बिर स्रोत, Pure Earth
"सिसा एउटा खतरनाक स्नायुविष हो। यसको थोरैमात्रै परिमाणले पनि आइक्यू स्कोर (अथवा ज्ञान नाप्ने मापदण्ड)मा निकै ह्रास ल्याइदिन्छ। यसले ती बालबालिकामा भविष्यमा सम्भाव्य हिंसक - आपराधिक - व्यवहार उत्पन्न गराउन सक्छ।"
प्रतिवेदनका अनुसार रगत परीक्षण गर्दा सबैभन्दा धेरै परिमाणमा सिसा भारतका बालबालिकामा पाइयो।
त्यहाँका २७ करोड ५० लाखभन्दा धेरै बालबालिकामा प्रतिडेसिलिटर रगतमा पाँच माइक्रोग्रामभन्दा अधिक परिमाणमा सिसा रहेको प्रतिवेदनले जनाएको छ।
त्यो परिमाणमा सिसा भेटिएपछि त्यसविरुद्ध काम गरिहाल्नु पर्ने अमेरिकाको रोग नियन्त्रणसम्बन्धी निकाय सीडीसीले उल्लेख गरेको छ।

तस्बिर स्रोत, Pure Earth
भारतमा लीड-एसिड ब्याट्री प्रशोधन गरिने कारखानावरपर बस्ने बालबालिकामा त रगतमा सिसाको परिमाण प्रति डेसिलिटरमा १९० माइक्रोग्राम सम्म रहेको उत्तर प्रदेश राज्यस्थित किङ जोर्ज मेडिकल यूनिभर्सिटीका जीवरसायन विभाग प्रमुख डा. अब्बास माहदीले बताए।
"हाम्रा बालबालिकालाई सिसाको थप जोखिम अन्य मरमसाला तथा जडीबुटी औषधिबाट पनि छ जसलाई लामो समय नबिग्रियोस् भन्नका लागि तथा रङ्ग दिनका लागि सिसा प्रयोग गरिएको हुन्छ।"

यो पनि हेर्नुहोस् - दिल्लीको विषाक्त वायु प्रदूषणले 'हाम्रा बच्चा मारिरहेको छ'






















