स्टेकेसन: कोरोनाभाइरस महामारीमा कतै घुमफिर नगरी रमाइलोसँग बिदा मनाउने उपाय

तस्बिर स्रोत, Getty Images
कोरोनाभाइरसको विश्वव्यापी महामारीले पर्यटन क्षेत्रलाई असर पार्नु अगाडि नै 'स्टेकेसन' भनिने अभ्यास चलनचल्तीमा आइसकेको थियो।
घर बसेरै बिदाको समय बिताउनुलाई 'स्टेकेसन' भनिन्छ।
र यो शब्द आजकाल अनलाइनमा निकै खोजी भएको शब्द बनेको छ।
यो वर्ष कोभिड-१९ ले स्वास्थ्य र सामाजिक दूरीसम्बन्धी नयाँ नियमका साथै बन्द सीमा र अर्थतन्त्रको अनिश्चितता देखिएको घरमै बिदा मनाउने चलन लोकप्रिय हुने देखिएको छ।
घरमै बसेर रमाइलो बिदा मनाउन केही उपायहरू यस्ता छन्:
गर्नुपर्ने काम बिर्सनुहोस्

तस्बिर स्रोत, Getty Images
बजार अध्ययन गर्ने कम्पनी फोकसराइटकी यात्राविश्लेषक तथा कामकाजी जीवन कसरी सन्तुलित राख्ने भन्ने विषयकी कार्यकारी प्रशिक्षक काउडिया उङ्गरले आरामका लागि दैनिक सोचिरहेका कुराबाट बिर्सनु आवश्यक रहेको बताइन्।
आफ्नो दैनिक समस्याबारे मात्रै सोच्न व्यस्त भएपछि जीवनमा जे महत्त्वपूर्ण छ त्योभन्दा अन्य कुरा प्राथमिकतामा पर्ने उनले बताइन्।
बिदा मनाउन घर छोडेर अन्त कतै गएका बेला घरका कामको चिन्ता नभएजस्तै स्टेकेसनका बेला पनि ती कुरा सम्झनु नहुने उनी बताउँछिन्।
गत वर्ष यूकेमा २५ देखि ३४ वर्ष उमेर समूहका मानिसमा गरिएको एउटा अध्ययनले १० मध्ये नौ जना मानिसहरू बिदाको समयमा "सबै कुराबाट टाढा रहन" चाहने र तीमध्ये ७० प्रतिशत मानिसहरूले मोबाइल र कम्प्युटरबाट टाढा रहन चाहेको बताएका थिए।
आफ्ना लागि समय छुट्याउनुहोस्

तस्बिर स्रोत, Getty Images
अमेरिकाको सान डियागोकी योग प्रशिक्षक तथा व्यक्तिगत विकासबारे लेख्ने लेखिका लेना स्मीट अरू बेला घरबाट बाहिर घुम्न जाँदा त्यसबारे आफ्ना साथीहरू र आफन्तलाई जानकारी गराएजस्तै गर्न सुझाउँछिन्।
फोन बन्द गर्नूस् वा बेलाबेला आइरहने सन्देश वा जानकारी आउने प्रक्रिया रोक्नूस्। कार्यालयका इमेलहरू आउने बितिक्कै बिदामा भएको सूचित गर्ने सन्देश पठाउने व्यवस्था गर्नूस् र आफूले निरन्तर इमेल हेर्न नसक्ने जानकारी गराउनूस्।
तर पनि यदि तपाईँलाई रमाइलो लाग्छ भने गीत सुनेर वा पडकास्ट सुनेर वा मनपर्ने कार्यक्रम हेरेर प्रविधिको मजा लिन सक्नुहुन्छ।
उङ्गर भन्छिन्: "अरूले तपाईँको समय माग्नु अगाडि नै आफ्नो आवश्यकता पूरा भएको वा आफ्ना लागि पर्याप्त समय रहेको सुनिश्चित गर्नुहोस्।"
पुरानो कुरालाई नयाँ आँखाले हेर्नुहोस्

तस्बिर स्रोत, Getty Images
मनोवैज्ञानिकहरू सामान्य काम गरेर आफ्नो बानीमा फेरबदल ल्याउनुको फाइदा रहेको बताउँछन्।
उदाहरणका लागि सधैँ जाने गरेको भोजनालयमा गएर फरक कुर्सीमा बस्ने अथवा उही ठाउँमा फरक समयमा जाने गर्न सकिन्छ।
"जुनसुकै पलमा जे गरिरहनुभएको छ, त्यसमै मग्न हुनुहोस्।"
आफ्नो ख्याल राख्नुहोस्

तस्बिर स्रोत, Getty Images
आफैँलाई प्रेम गर्ने विधि तनावबाट मुक्त हुने सबैभन्दा राम्रो तरिका हो।
"तनावको व्यवस्थापनका लागि उत्कृष्ट औषधि भनेको आफ्नो ख्याल आफैँले गर्नु हो," स्मीट भन्छिन्।
तर आफ्नो ख्याल आफैँ गर्ने तरिका सबैका लागि एउटै नहुन सक्छ त्यसैले आफू नजिकको प्रकृति नियाल्नु पनि निकै स्फूर्ति ल्याउने काम हुनसक्ने स्मीट बताउँछिन्।
स्टेकेसनका लागि बजेट

तस्बिर स्रोत, Getty Images
कतै यात्राका लागि खर्च गर्न नपरेपछि घरमै बिदा मनाइरहँदा त्यो पैसा आफ्ना लागि किन खर्च नगर्ने?
यदि खाना बनाउने काम सधैँ गर्नुपर्छ र मनपर्दैन भने त्यो नगर्नुहोस्।
तर यदि तपाईँलाई खाना बनाउने काम मनपर्छ भने कुनै आकर्षक सामाग्रीसहित नयाँ खानेकुरा बनाउन किन समय नबिताउने?
मनपर्ने काम गर्दा त्यो आरामदायी गतिविधि हुन्छ।
तपाईँलाई मनपर्छ भने घरै बस्दा पनि कतै नयाँ ठाउँमा जान लागेजस्तै नयाँ लुगा लगाउन सक्नुहुन्छ।

तस्बिर स्रोत, Getty Images
पैसा भए बिहान-बेलुका नजिकैको भोजनालयमा गएर खाना खान सक्नुहुन्छ।
र, यदि पैसा छैन भने दैनिकीमा थोरै परिवर्तन ल्याउन बच्चाहरूका लागि कोठाको संरचना परिवर्तन गरिदिन सक्नुहुन्छ।
वा ओढ्नेभित्र बसेर कतै क्याम्पमा गएको जस्तै गरी कथाहरू पढ्न सक्नुहुन्छ।
केही पनि नगर्नुहोस्

तस्बिर स्रोत, Getty Images
तर जे गरे पनि समय निकै मूल्यवान र अपर्याप्त छ भन्ने ख्याल गर्नुहोस्।
आफूलाई धेरै काममा व्यस्त नबनाउनुहोस्।
घरमा केही काम नगरी बस्नका लागि समय छुट्याउनुहोस्।
"तर के कुरा गर्दा रमाइलो हुन्छ गर्छ भन्ने पत्ता लगाउनु निकै महत्त्वपूर्ण छ," उङ्गर भन्छिन्।




















