कोरोना भाइरस महामारी: अफ्रिका महादेशमा कति चाँडो फैलिरहेको छ

    • Author, पिटर म्वाई तथा क्रिस्टोफल गाइल्स
    • Role, बीबीसी रीयालिटी चेक
  • Published

अफ्रिकामा कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिरहेको विश्व स्वास्थ्य सङ्गठनले बताएको छ।

हामीले यो महादेशभरिको स्थिति नियाल्यौँ र सबभन्दा चिन्ताजनक देखिएका देशहरूको समीक्षा गर्‍यौँ।

कति छिटो फैलिरहेको छ कोरोनाभाइरस?

समग्र सङ्ख्याको हिसाबमा अफ्रिकाले विश्वको कुल सङ्ख्याको अहिलेसम्म निकै थोरै मात्र सङ्क्रमण बेहोरेको छ। तर कतिपय देशमा भइरहेको सङ्क्रमण विस्तारको गति भने चिन्ताजनक छ।

पहिलो एक लाख सङ्क्रमितको सङ्ख्या पुग्न अफ्रिकालाई १०० दिन लागेको थियो।

त्यो दोबर हुन केवल १८ दिन लाग्यो। अर्को २० दिनमा त्यो फेरि दोबर भएर चार लाख पुग्यो।

यो तीव्र प्रसार कोरोनाभाइरसबाट प्रभावित विश्वका अन्य भागको जस्तै देखिन थालेको छ। डब्ल्यूएचओका अनुसार अधिकांश अफ्रिकी देशमा अब सामुदायिक स्तरमा सङ्क्रमण फैलिन थालेको छ।

यो भनेको बाहिरबाट आएका कसैसँग सम्पर्क नभएका वा देशभित्र पुष्टि भइसकेका कसैसँग सम्पर्क नभएका व्यक्तिहरूमा पनि सङ्क्रमण पाइनु हो।

अफ्रिकामा कहाँ छ धेरै सङ्क्रमण?

दक्षिण अफ्रिका र इजिप्टमा सबैभन्दा धेरै सङ्क्रमित पाइएका छन्। जुन महिनाको अन्तिमसम्म ती दुई देशमा समग्र महादेशको ६० प्रतिशत सङ्क्रमित थिए।

दक्षिण अफ्रिकामा सबभन्दा धेरै सङ्ख्यामा सङ्क्रमित अनि इजिप्टमा सबभन्दा धेरै सङ्ख्यामा मृत्यु भएको पाइएको छ।

दक्षिण अफ्रिकाले मार्चको अन्त्यतिर निकै कडा लकडाउन लगाएको थियो।

तर लकडाउन खुकुलो गरिएपछि मे को सुरुदेखि यहाँ सङ्क्रमणको मामिला लगातार बढिरहेको छ।

इजिप्टमा पनि मे महिनाको मध्यदेखि सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ। तर जुलाईको सुरुदेखि बिस्तारै यो सङ्ख्या घट्न थालेको देखिन्छ।

अनि नाइजेरियाको अवस्थाबारे पनि निकै चिन्ता पाइन्छ। डब्ल्यूएचओको जुलाई १ को प्रतिवेदनअनुसार त्यहाँ मृत्युदरमा दक्षिण अफ्रिकापछि धेरै वृद्धि देखिएको छ।

केही सातायता धेरै वृद्धि देखिएका देशमा मरिटेनिया पनि छ।

तर खासगरी पूर्वी अफ्रिकासहित महादेशका केही भूभागमा पने तुलनात्मक रूपमा थोरै सङ्ख्यामा सङ्क्रमण देखिएको छ।

वास्तवमा डब्ल्यूएचओको क्षेत्रीय प्रतिवेदनअनुसार जम्मा १० देशले महादेशको ८० प्रतिशत सङ्क्रमण बेहोरेका छन्।

कति मानिसको ज्यान गइरहेको छ?

कैयौँ देशमा रहेका कमजोर स्वास्थ्य पूर्वाधारका बाबजुद विश्वव्यापी औसतको तुलनामा अफ्रिकामा समग्र मृत्युदर कम देखिएको छ।

डब्ल्यूएचओ भन्छ - यसको आंशिक कारण अफ्रिकाको धेरै जनसङ्ख्या युवा उमेरको भएकोले हो।

साठी प्रतिशतभन्दा धेरै जनसङ्ख्या २५ वर्षभन्दा कम उमेरका छन्। वर्तमान विश्लेषणले युवा उमेरका मानिसमाझ मृत्युदर कम भएको देखिएको छ।

तर यी पाँच देशमा भने मृत्युदर विश्वव्यापी औसत ५ प्रतिशत (कुल सङ्क्रमित पुष्टि भएकामध्ये)को हाराहारी वा त्योभन्दा धेरै पाइएको छ:

  • चाड (८.५%)
  • अल्जेरिया (६.६%)
  • नाईजर (६.२%)
  • बुर्किना फासो (५.५%)
  • माली (५.३%)

अम्रेफ हेल्थ अफ्रिका नामक स्वास्थ्यसम्बन्धी गैरसरकारी संस्थाका प्रमुख गितिन्जी गिताहीका अनुसार यो धेरै मृत्युदरले अभिलेख गरिएकोभन्दा धेरै परिमाणमा सङ्क्रमण रहेको सङ्केत गर्छ वा न्यून परीक्षणका कारण पनि यसो भएको हुनसक्छ।

उनका अनुसार जति कम परीक्षण गरियो उति कम सङ्क्रमण फेला पर्छ र त्यसैले मृत्युदर धेरै देखापर्छ।

अफ्रिकामा कति परीक्षण गरिँदैछ?

कुल परीक्षणको ८० प्रतिशत भाग केवल १० देशमा परेको छ - दक्षिण अफ्रिका, मोरोक्को, घाना, इजिप्ट, इथियोपिया, युगान्डा, मरिशस, केन्या, नाइजेरिया र रुवान्डा।

परीक्षण दरमा पनि निकै फरक छ। दक्षिण अफ्रिकाले धेरै गरिरहेको छ भने नाइजेरियाले तुलनात्मक रूपमा कम परीक्षण गरिरहेको छ।

जुलाई ४ मा दक्षिण अफ्रिकाले प्रति १००० मानिसमा ३० भन्दा थोरै बढी परीक्षण गरिरहेको थियो - जबकि यो दर यूकेमा ७२ अनि अमेरिकामा १०५ थियो।

नाइजेरियाले प्रति १००० मानिसमा ०.७ अनि घानाले १० र केन्याले तीन जनाको परीक्षण गरिरहेका छन्।

कतिपय अफ्रिकी देशमा भने कमजोर सूचना प्रणालीका कारण तथ्याङ्क पाउन कठिन छ।