कोरोना भाइरस अपडेट: गत २४ घण्टामा ब्रजिलमा सङ्क्रमितको सङ्ख्या करिब ३५ हजारले वृद्धि

ब्रजिल

तस्बिर स्रोत, Getty Images

Published

ल्याटिन अमेरिकी मुलुक ब्रजिलमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्यामा करिब ३५ हजारले वृद्धि भएको छ।

सङ्क्रमितहरूको सङ्ख्याका हिसाबले ब्रजिल अमेरिका पछि दोस्रो स्थानमा छ।

यो हप्ताको अन्तसम्म त्यहाँ कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १० लाख पुग्न सक्ने अनुमान गरिएको छ।

कोभिड-१९ बाट ब्रजिलमा हालसम्म ४५ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाइसकेका छन्।

परीक्षण

परीक्षणको दर कम भएकाले सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या निकै बढी हुन सक्ने संवाददाताहरूले बताएका छन्।

मृत्यु हुने र सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्यामा तीव्र वृद्धि भइरहँदा पनि राष्ट्रपति जाइर बोल्सोनारुको दबावका कारण ठूला सहरहरू फेरि खुला गर्न थालिएका छन्।

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि लागु गरिएका प्रतिबन्धात्मक नियमहरूका कारण अर्थतन्त्र ध्वस्त भएको राष्ट्रपति बोल्सोनारोको दाबी रहिआएको छ।

सुरुमा कोरोनाभाइरसलाई कम आँक्दै टेलिभिजनमार्फत् उनले यो सामान्य भाइरस भएको र सञ्चारमाध्यमहरूले मानिसहरूलाई तर्साएको आरोप लगाएका थिए।

ब्राजिल

तस्बिर स्रोत, Getty Images

उनका अधिकारीहरूले देशमा कोरोनाभाइरस सङ्कट नियन्त्रणमा रहेको बताउने गरेका छन्।

तर विश्व स्वास्थ्य सङ्गठनले ब्रजिलमा कोरोनाभाइरस सङ्क्रमण फैलिने क्रम नरोकिएको जनाएको छ।

ल्याटिन अमेरिकाकै पहिलो सङ्क्रमण ब्राजिलमा फेब्रुअरी २६ तारिखमा पाइएको थियो।

तर केही अध्ययनहरूले त्यहाँ ज्यानुअरी महिनातिरै सङ्क्रमण फैलिएको सङ्केत गरेको बताएका छन्।

त्यसयता कोरोनाभाइरस दक्षिण अमेरिकाको त्यस क्षेत्रका सबै देशमा फैलिसकेको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर